तस्करीको ३३ किलो सुन प्रकरणमा सञ्चालक मुछिएपछि दुई महिनाभन्दा बढी बन्द भएर खुलेको बाजेको सेकुवा बिस्तारै तंग्रिन थालेको छ।
खुलेको केही समयसम्म ग्राहकहरूले रेष्टुरेन्टमा आउन अप्ठेरो माने पनि अहिले व्यापार उकालो लागेको अनामनगर शाखाका इन्चार्ज सन्तोष तिमल्सिनाले सेतोपाटीलाई बताए।
‘अहिले बिस्तारै व्यापार बढ्दैछ,’ उनले भने ‘तंग्रिने क्रममा छौं।’
बन्द हुनुपहिला दैनिक करिब दुई लाख रहेको कारोबार भने अहिले सवा लाख जतिमा झरेको उनले बताए।
अनामनगर शाखामा १७ जना कर्मचारी छन्। तिमल्सिनाका अनुसार सबै शाखाहरूमा दुई सय कर्मचारी छन्। शाखाहरूमा ताला लागेपछि एक दर्जन कर्मचारीले जागिर छोडेका थिए।
‘कहिले खुल्ने भन्ने टुंगो थिएन, अन्योल भएपछि कतिपयले जागिर छोडे,’ तिमल्सिना भन्छन्, ‘हामी सबै बेरोजगार भयौं, दैनिक जीवनयापन गर्न निकै मुस्किल भयो। कर्मचारीहरूले दुई महिना अन्यत्रै होटलमा काम गरे। शाखा खुलेपछि काममा फर्किएका छन्।’
अनामनगर, बत्तीसपुतली, गैरीधारा, सोह्रखुट्टे, सामाखुसी, सुकेधारा, कमलपोखरी, सीनामंगल, पोखरा, भरतपुर र बुटवलमा बाजेको सेकुवका शाखा छन्।
अदालतको आदेशपछि अनुसन्धान समितिको निर्देशनमा बाजेको सेकुवाका शाखा खोल्न प्रहरी आफैं पुगेको थियो। भदौ १४ गते नै शाखाहरू खोलिए पनि १९ गतेबाटमात्र कारोबार सुरू भएको थियो।
तिमल्सिनाका अनुसार अढाई महिना बढी शाखाहरू बन्द भए। यो अवधिमा कारोबार सुरू हुँदा झन्डै दुई करोड क्षति भयो।
स्रोतका अनुसार शाखा बन्द भएको बेलाको तलब कर्मचारीले पाएका छैनन्। कहिले पाउने हो त्यो पनि टुंगो छैन।
गत जेठ २९ गते बाजेको सेकुवाका ५ वटा शाखामा प्रहरीले छापा मारेर शिलबन्दी गरेको थियो।
सञ्चालक चेतन भण्डारी तस्करीको ३३ किलो सुन प्रकरणमा तानिएपछि गृह मन्त्रालयले बाजेको सेकुवाका शाखाहरू बन्द गराएको थियो।
गृहको यो कदमविरूद्ध भण्डारीकी पत्नी नीतिमा सर्वोच्च अदालत गइन्।
नीतिमाको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको इजलासले भदौ १३ गते बाजेको सेकुवा खोल्न आदेश दियो। सञ्चालक विवादमा तानिए पनि कम्पनी र शाखाहरू नै बन्द गराउनु कानुनसम्मत नरहेको भनी सर्वोच्च ठहर छ। कानुनका नजरमा संचालक भन्दा फरक कम्पनीको छुट्टै कानुनी हैसियत हुन्छ।
राजधानीमा बाजेको सेकुवा तीन दशक अघिबाट सुरू भएको थियो। खोटाङबाट झापा हुँदै काठमाडौं आएर दीनानाथ भण्डारीले एयरपोर्टको गेटमा सेकुवा बेच्न सुरु गरे।
तगारीमा कोइला सल्काएर दैनिक सेकुवा बेच्न थालेका भण्डारीको परिकार लोकप्रिय बन्दै गयो। दौरा सुरूवाल र टोपी लगाएर सेकुवा बेच्ने भण्डारीलाई ग्राहकले ‘बाजे’ भनेर बोलाउन थाले। त्यही नाम लोकप्रिय भएपछि उनले सुरूमा सीनामंगलमा ‘बाजेको सेकुवा कर्नर’ खोले। व्यापार बढ्दै गयो। अहिले एक दर्जन ठाउँ शाखा विस्तार भइसकेका छन्, करोडौंको कारोबार छ।
मुख्य कार्यालय कमलपोखरीमा छ। यहाँ बिहे, ब्रतबन्ध, सांस्कृतिक कार्यक्रमलगायत हुन्छ।
बाजेको सेकुवा नेपालमा मात्र नभएर विदेशमा विस्तार भएको छ। अमेरिकाको टेक्सासमा बाजेको सेकुवाको शाखा छ।
बाजेको सेकुवाले आफूलाई चाहिने मासु आफै उत्पादन गर्छ। कमलपोखरी मुख्य कार्यालयमा खसि काटिन्छ र सबै शाखामा पुर्याइन्छ। काठमाडौं बाहिरका शाखामा प्लेनबाट मासु पठाइन्छ।
बाजेको सेकुवा मुख्य कार्यालयका प्रमुख सञ्जीवकुमार तिमिल्सेनाले भने, ‘बाहिरबाट ल्याइने मासुमा विश्वास हुँदैन, त्यसकारण आफैं खसी काट्छौं।’
बाजेको सेकुवा तंग्रिदै गए पनि यसका संचालक चेतन भण्डारी भने अझै फरार छन्।
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले सुन तस्करीमा संलग्न भएको आशंकामा बाजेको सेकुवा ब्रान्डको स्वामित्व भएका चेतनलाई मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ।
अदालतले भण्डारीलाई फरार सूचीमा राखेलगत्तै अनुसन्धान टोलीले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवाका पाँच वटा शाखामा सिलबन्दी गरेको थियो।
भण्डारी नेपालमा नरहेको भन्दै आफन्तको नाममा सञ्चालित रहेका शाखा सिलबन्दी गरिएको अनुसन्धान टोलीले जनाएको थियो।
समितिका अनुसार सुन तस्करीमा भण्डारीको संलग्नता देखिएपछि मोरङ जिल्ला अदालतकै आदेश लिएर बाजेको सेकुवाका शाखा बन्द गराइएको थियो। भण्डारीले सुन तस्करीको रकम बाजेको सेकुवामा मिसाएर कारोबार विस्तार गरेको समितिको ठहर छ।
संगठित अपराध ऐन २०७० अनुसार त्यसरी आर्जित सम्पत्ति छुट्याएर रोक्का राख्न सकिने भएकाले सोहीअनुसार बाजेको सेकुवा बन्द गराइएको समिति संयोजक ईश्वरराज पौडेल बताउँछन्।
‘बाजेको सेकुवामा विस्तार भएको जुन लगानी छ, त्यो शंकास्पद थियो। संगठित अपराध ऐनअनुसार नै हामीले आदेश लिएर बन्द गराएका थियौं,’ उनले भने, ‘पछि अदालतले त्यो आदेश बदर गरिदियो।’
चेतन भण्डारी नेपालमा नरहेको प्रहरीले जनाएको छ। ‘उनी अमेरीकामा छन् भन्ने छ। तर, यकिन छैन,’ प्रहरीले भन्यो। नेपाल प्रहरीले उनीविरूद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।
अनुसन्धानका क्रममा रहेका व्यक्ति फरार भए भने उनको खोजीका लागि प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गर्ने गर्छ।