रोम्बस सेकेन्डरी स्कुलमा बुधबार छुट्टी थियो। स्कुलका केही विद्यार्थी कमलपोखरीनजिकै खेलिरहेका थिए।
‘के खेलिरहेको?’ पिङमा झैं मच्चिरहेकी सञ्जिता तामाङलाई सोधेँ।
‘कहाँ खेल्नु?’ उनले भनिन्, ‘देख्नुभएन, खुट्टाको व्यायाम गरेको नि।’
यतिबेला भक्तपुर डुल्दै हुनुहुन्छ भने तपाईं रोम्बस स्कुलका विद्यार्थीझैं ठाउँ-ठाउँमा व्यायाम गर्नु सक्नुहुन्छ। बिहान वा बेलुकी हिँड्दा हातखुट्टा तन्काउन सक्नुहुन्छ। ढाड-घुँडा सोझ्याउन, कम्मर-पेटमा लागेको बोसो घटाउन सक्नुहुन्छ। जिमखाना वा योगमा झैं यहाँ पैसा तिर्नुपर्दैन।
कुनै भर्याङजस्ता, कुनै पिङ त कुनै गाडीका स्टेयरिङजस्ता आधुनिक व्यायामका उपकरण भक्तपुरका ठाउँ–ठाउँमा राखिएका छन्। साना केटाकेटीलाई त झन् व्यायाम पनि, खेल पनि।
कमलपोखरीको व्यायाम त्यसैमध्ये एक हो।
हामी पुग्दा ६४ वर्षीय रामसुन्दर शिल्पकार आफ्नी नातिनीसँग व्यायाम गर्ने अर्को उपकरणमा बसिरहेका थिए। नजिकै घर भएका उनी नातिनीलाई खेलाउँदै र आफू सँगसँगै व्यायाम गर्दै थिए।
‘विशेषगरी यो हामीजस्ता बुढापाका र नसा रोग भएकालाई हो। साना केटाकेटीलाई खेल्ने ठाउँ पनि भयो,’ उनले भने, ‘जे भए पनि मोबाइलमा झुन्डेर बस्नुभन्दा त यही राम्रो। व्यायाम पनि हुने भो।’
शिल्पकारका अनुसार भक्तपुरका प्रत्येक वडामा नगरपालिकाले व्यायाम गर्ने उपकरण जोड्ने योजना राखेको छ।
यही पुष्टि गर्न हामी नगरपालिका पुग्यौं। मेयर सुनिल प्रजापतिका अनुसार भक्तपुरका १० वटा वडामा शारीरिक व्यायाम गर्ने ठाउँ निर्माण हुँदैछन्। कमलपोखरी (वडा नम्बर १०), महाकालीस्थान (६), माहेश्वरी (८), दूधपाटी (भाजुपोखरी नजिकै) र च्यामसिंह (९) मा निर्माण सकिएको छ।
त्यस्तै, वडा नम्बर २, ३, ४, ५ र ८ मा बनाउने तयारी हुँदैछ। ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजमा पनि राख्न लागेको उनले जानकारी दिए।
‘हामीले त विद्यार्थी कालमा यस्ता उपकरणमा खेलेर व्यायाम गर्न पाएनौं। हामीले नपाएको सुविधा नयाँ पुस्तालाई किन नदिने?’ प्रजापतिले भने, ‘यो उपकरणमा शरीरका सबै भागको व्यायाम गर्न सकिन्छ। एकैपटकमा १७ जनासम्मले उपयोग गर्न सक्छन्।’
हाल व्यायाम सेट जडान गरिएका ठाउँमा ‘रनिङ मेसिन’ छैन। बाँकी ठाउँमा त्यो पनि राख्ने योजना छ। करिब दुई महिनामा सबै क्षेत्रमा शारीरिक व्यायामका उपकरण जडान हुने उनी बताउँछन्।
मेयर प्रजापतिका अनुसार यो उपकरण जोड्नुअघि कतिपय स्थानीय ‘जनस्वास्थ सेवा केन्द्र’ मा फिजियोथेरापी गर्न पुग्थे। त्यो सबैको पहुँचमा थिएन। केही समयअघि अमेरिका पुग्दा उनले विभिन्न ठाउँमा शारिरीक व्यायामका उपकरण राखिएका देखेका रहेछन्। त्यस्तै आधुनिक उपकरण आफ्नो ठाउँमा पनि राख्न उनलाई मन लागेछ।
फर्केर आएपछि उनले नगरपालिकाका ठाउँ–ठाउँमा शारीरिक व्यायामको व्यवस्था गर्ने सोच बनाए। सस्तो, सलभ र भरपर्दो सामग्री कहाँ पाइन्छ? कसैलाई थाहा थिएन।
करिब ६ महिनाअघि चिनजानका खेलाडीले कटुन्जेमा एक व्यक्तिसँग त्यस्तै उपकरण भएको जानकारी दिए।
‘हामी ढिलो नगरी त्यो ठाउँ पुग्यौं। राम्रो काममा किन बेर लाउनु,’ प्रजापतिले भने, ‘त्यो मान्छेसँग व्यायाम गर्ने उपकरणको सेट नै रहेछ। हामीले त्यसलाई हेर्यो। आफूले पहिले खेल्यौं।’
मेयर प्रजापतिसँगै गएका सबैले ती उपकरण मन पराए। त्यहाँबाट फर्किनुअघि उनले ती व्यक्तिलाई सोधेछन्, ‘हामीलाई यस्तै सेट ल्याइदिन सक्नुहुन्छ?’
चिनियाँ सामान व्यापार गर्ने उनले ४५ दिनमै ल्याइदिन सक्ने बताएछन्।
‘४५ दिन भनेको तीसै दिनमा हामीले उपकरण पायौं,’ उनले भने, ‘त्यसपछि सुरुमा वडा नम्बर १ मा राख्यौं। अनि अन्य ठाउँमा।’
सुरुआतमा नगरपालिकाले पाँचवटा मात्रै व्यायाम सेट मगाएको रहेछ। त्योबेला त्यसलाई १ लाख ८४ हजारका दरले किनिएको थियो। हाल मूल्य बढेर २ लाखभन्दा बढी पुगेको प्रजापति बताउँछन्।
उनका अनुसार सबै ठाउँमा यस्ता उपकरण जडान गर्न सार्वजनिक ठाउँको अभाव छ। भएसम्मका ठाउँ खोजेर जडान गर्ने योजना रहेको प्रजापति बताउँछन्। बिहान डुल्दै माहेश्वरी मन्दिर परिसर पुग्नुभयो भने त मेयर प्रजापति नै देखिनुहोला।
‘मेरो घर नै माहेश्वरीमा हो। म बिहान सपरिवार व्यायामका लागि जान्छु,’ उनले भने, ‘आफूले पनि व्यायाम गर्नुपर्यो नि। नयाँ उपकरण छ, चलाउन सिक्नुपर्यो। अरूलाई कस्तो लाग्यो भन्ने कुरा पहिले आफैं खेलेरै धेरै थाहा हुन्छ।’
बिहीबार बिहान हामी त्यहाँ पुग्दा भने उनी भेटिएनन्। बरू कमलविनायकमा केही साना केटाकेटी, धेरै युवा र बूढापाका यो उपकरण सदुपयोग गर्दै थिए।
७३ वर्षीय सीतालक्ष्मी प्रजापति तिनैमध्ये थिइन्। उनी साना केटाकेटी खेलिरहेको ठाउँमा आइन्। त्यही पिङजस्तो उपकरणमा खेल्न थालिन्। खुट्टा दुख्ने समस्याका कारण व्यायाम गर्न थालेको उनले बताइन्।
‘बिहान मन्दिर पुग्छु। व्यायाम गरेर घर फर्किन्छु,’ उनले भनिन्, ‘शरीरलाई राम्रो हुन्छ भनेर आउन थालेको हुँ।’
४३ वर्षीय महेन्द्र थकाली भने पहिले ‘मर्निङ वाक’ का लागि कमलपोखरी आउँदा रहेछन्। ‘स्किपिङ’ खेल्दा रहेछन्। अहिले नगरपालिकाको आधुनिक उपकरणमा व्यायाम पनि गर्न थालेको उनले बताए।
त्यसैगरी, ५२ वर्षीय हरिकृष्ण तुल्सीवाक्यको भने पहिले नसा च्यापिएको रहेछ। त्यसपछि उनले उपचार गरे, योग गरे। अस्पताल धाए। औषधि खाए। तै राम्ररी निको भएन।
‘घरनजिकै व्यायाम गर्ने ठाउँ बनेपछि अिहले यतै आउँछु,’ उनले भने, ‘दैनिक गर्न पायो भने व्यायामले राम्रो गर्छ। तर व्यायाम गर्दा एउटा मात्रै गरेर नहुने रहेछ। सबै उपकरणमा थोरै भए पनि समय दिनुपर्छ।’
समय मिल्यो भने उनलाई अब त्यसको पनि चिन्ता छैन। भक्तपुर नगरपालिकाले सबै किसिमका उपकरण जो व्यवस्था गरिदिएको छ।
सबै तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी