भारतबाट नेपाल आयातमा पूर्ण रोक लगाइएको पंक्षी तथा पंक्षीजन्य वस्तुको अबैध कारोबार फस्टाएको भन्दै झापाका कुखुरा व्यवसायी आन्दोलित भएका छन्।
व्यवसायीले शनिबार बन्ध निषेधित झापाको सुरुङ्गा बजार परिक्रमा गर्दै नाराबाजीसहित जुलुस निकालेर तस्करविरुद्ध खुलेर सडकमा प्रदर्शन गरे।
व्यवसायीयले भने, ‘यो हाम्रो शान्तिपूर्ण र जानकारीमुलक पहिलो आन्दोलन हो, भारतबाट अब प्रतिबन्धित पक्षी र पंक्षीजन्य वस्तुको अबैध आयात भए व्यवसायी चुप लागेर बस्न सक्दैनौं।’
बाहुनडाँगी, तिरिङ धिमालचोक, नकलबन्दा, काँकडभिट्टा, सतिघट्टा, घोडामारा, केचनाकवल, झापा बजार, गौरीगञ्ज, कुन्जीबारी, पन्थापाडा, खयरबारी लगायतका नाकाबाट अबैध रुपमा पंक्षीको आयात हुने गरको व्यसायीले बताएका छन्। यी नाकाबाट अवैध रुपमा प्रहरीकै मिलेमतोमा पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात हुने गरेको व्यवसायीको आरोप छ।
भारतबाट अवैध रुपमा आयात गरिएका पंक्षी पोखरा, काठमाडौंलगायतका सहरमा लैजाने गरिएको छ। नेपालमा ०६४ सालदेखि भारतलगायत तेस्रो मुलुकबाट पंक्षीको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ। तर, प्रहरीसँग मिलेर नेपालका ठूला सहरहरुमा भारतीय कुखुरा लगिने गरिएको जिल्ला कुखुरा व्यवसायी संघ झापाका सचिव बोधराज निरौलाले बताए। उनले भने, ‘प्रहरीका कैयौं ईकाई कार्यालय र पशु क्वारेन्टाइन कार्यालय समेतलाई प्रभावमा पारेर भारतबाट अबैध रुपमा पंक्षीजन्य वस्तुको आयात हुने गरेको छ।’
ढुवानी व्यवसायीले पनि पंक्षी तथा पंक्षीजन्य वस्तुको ढुवानी मापदण्ड २०६४ विपरीत वस्तुको ढुवानी गरेको कुखुरा व्यवसायीले आरोप लगाएका छन्। सो मापदण्डमा मानव जाति र पशुपंक्षी एउटै यातायातका साधनमा ढुवानी हुन नपाउने व्यवस्था छ।
तस्करले भारतमा मोटरसाइकलमा कुखुरा संकलन गर्ने र राति नेपालमा अबैध रुपमा भित्र्याउने गरिएको नेपाली व्यवसायीले बताए। नेपालबाट कुखुरा तस्करले बोरामा हालेर यात्रुबाहक बसमै खुल्ला रुपमा ठूला सहरमा लैजाने गरेका छन्।
भारतबाट आयात गरिएका पंक्षी तथा पंक्षीजन्य वस्तुको अबैध आयातले नेपालमा कुखुरा व्यवसायीको व्यवसाय नै डुब्ने खतरा बढेको निरौला बताउँछन्। यतिमात्र होइन, पशुपंक्षीबाट मानव जातिलाई समेत खतरा हुने रोग भित्रिन सक्ने उनको भनाइ छ।
प्रशासनले व्यवसायीको माग सुनवाई गरेपछि उनीहरू आफैं भारतबाट अवैध रुपमा आयात गरिएका पंक्षी तथा पंक्षीजन्य वस्तु बरामद गर्दै प्रहरीलाई जिम्मा लगाउन थालेका छन्। ‘हामीले पटक–पटक प्रसाशनमा अनुनय विनय गर्दा पनि व्यवसायीको मागमा प्रसाशनले बेवास्ता गरेपछि प्रहरीको काम गर्न सुुरु गरेका हौं,’ जिल्ला कुखुरा व्यवसायी संघका झापा अध्यक्ष विवेक निरौलाले भने, ‘हाम्रो काम कुखुरा व्यवसाय गर्ने मात्र होइन, राज्यलाई संकट परेको बेला सघाउने पनि हो।’
गएको फागुन १ गते झापा बजारबाट काठमाडौंका लागि अवैध रुपमा लैजाँदै गरिएको लुइँचे प्रजातिको भारतीय कुखुरालाई व्यवसायीले झापाको दुर्गापुरमा बरामद गरेका थिए। बरामद गरेको लुइँचे प्रहरी, उद्योग वाणिज्य संघ र स्थानीय पत्रकारको रोहवरमा पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टामा नेपाली व्यवसायीले बुझाएका थिए। झापाका प्रमुख जिल्ला अधिकारीले आदेश दिएपछि पशु क्वारेन्टाइनले ती कुखुरा नष्ट गरेको थियो। कुनै कागजी प्रमाण नभएपछि चुइँचे बरामद गरिएको कुखुरा व्यवसायीले बताए।
नेपालमा लुइँचे प्रजातिको कुखुरा उत्पादन तथा बिक्री वितरण हुने गरेको छैन। संघका जिल्ला अध्यक्ष निरौलाले भने, ‘यतिबेला तस्करले फर्जी कागजात बनाएर इलाका प्रहरी कार्यालय सुरुङ्गामा हाम्रा व्यवसायी बोधराज निरौला र मोहन कार्कीविरुद्ध क्षतिपूर्तिको दाबी गर्दै उजुरी गरेका छन्।’ तस्करले बनाएका फर्जी कागजातमा दुई वर्ष अघिदेखि काठमाडौं बस्दै आएका डा. प्रल्हादा सापकोटाको हस्ताक्षर र स्टाम प्रयोग गरिएको छ। डा प्रल्हाद सापकोटाले सेतोपाटीसँग भने, ‘यो मेरो हस्ताक्षर र छाप हुँदै होइन।’
यता, झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अवैध रुपमा पशु पंक्षीको कारोबार गर्ने जो कोहीलाई कारबाही गर्ने बताए । ‘हामी प्रत्येक नाकामा गस्ती बढाउँछौ र अबैध कारोबार झापामा ठप्प पार्छौं,’ उनले भने।