धेरैजसो मान्छे सपना पूरा गर्न काठमाडौं आउँछन्। कोही विदेश जान, कोही यहीँ काम गर्न, कोही प्रशासनिक झमेला सल्टाउन त कोही उपचार गर्न पनि यहीँ आउँछन्।
तीन दिनदेखि सप्तरीका ७५ वर्षीय मनभरन सदा पनि बूढो ज्यान ल्याएर काठमाडौं आएका छन्। उनी एक्ला छैनन्, सँगै ल्याएका छन् पाँच छोरा। जसमध्ये ४ जना आफैं हिँड्न सक्दैनन् न त काम गर्न नै।
काठमाडौंप्रति मनभरनको एउटा आश छ- आउँदो सोमबार शिवरात्रीका अवसरमा पशुपति आउने भक्तालुले उनका छोराहरूलाई दया देखाउने छन्। केही दान दिने छन्।
शनिबार साँझ बालाजुको औद्योगीक क्षेत्रबाहिर तीव्र गतिमा हुँइकिरहेका गाडी छल्दै एक युवा आफ्नो गाडा तानिरहेका थिए। गाडामाथि बसेका थिए, उनका दाजु। मनभरनका कान्छा छोरा ३० वर्षीय पाण्डेकुमार सदाको दैनिकी तीन दिनयता यसैगरी चलिराखेको छ।
परिवारका ६ जना सदस्यमध्ये ७५ वर्षका बुवा मनभरन (गंगा) सदा र कान्छा पाण्डेकुमारमात्रै शारीरिक रूपमा सबल छन्। पाण्डेकुमारकी आमा बितिसकिन्। हातगोडा सग्ला नभएका चार दाजु र उमेर ढल्केका बुवाको रेखदेखको जिम्मा पाण्डेकुमारको काँधमा छ।
बालाजु औद्योगिक क्षेत्र अगाडि चक्रपथको खाली जग्गामा उनीहरू रात बिताउँछन्।
दुइटा घोचा गाडेर बनाइएको कटेरोमा घामपानीबाट जोगिन थोत्रो त्रिपाल बेरिएको छ।
मनभरनको कटेरोमा पुग्दा उनीहरू दिनभरि नयाँ बसपार्क छेऊमा बसेर मागेको पैसा गनिरहेको थिए। पैसा चानचुन ९ सय जति थियो। मनभरनको हातमा पाँच रूपैयाँका नोटको मुठा थियो। काठमाडौंमा धेरैले माग्नेलाई ५ रूपैंया दिने रहेछन्।
उनीहरूको टहरोमा पिउने पानी थिएन, न काठमाडौंको जाडो छल्ने बाक्ला लुगा नै देखिए।
राजविराजबाट एक जनाको हजार रूपैयाँ भाडा खर्चेर उनीहरू राजधानी आएका हुन्।
बसभाडा चार/पाँच दिनसम्म सडकमा बसेर मागेको पैसा हो।
एक सातापछि फागुन २० मा शिवरात्री छ। शिवरात्रीका दिन पशुपतिनाथ मन्दिरमा भक्तजन आउने र भीडभाड हुने भएकोले केही पैसा कमाइ हुन्छ कि भनेर उनीहरू सप्तरीदेखि काठमाडौं आएका हुन्।
‘शिवरात्रीको लागि पहिलोपल्ट काठमाडौं आएका हौं,’ मनभरनले भने, ‘जात्रा सकिएपछ उतै जाने हो।’
शारीरिक रूपमा अशक्त चार जनाले आफ्ना हातगोडा देखाएर बटुवासँग पैसा माग्छन्। भक्ति गीत भरेको पेनड्राइभ साथमा बोकेका छन्। सानो स्पिकरमा त्यो गीत पनि बजाउँछन।
मनभरनको मन शिवरात्रीमा धेरै पैसा हुन्छ भन्ने आशले भरिएको छ।
‘मेलामा कमाइ हुन्छ भनेर आएका हौं,’ उनले थपे।
शिवरात्रीमा जम्मा हुने पैसाले खानलाउन मात्रै होइन बर्खामा नचुहिने र हिउँदमा न्यानो हुने घर बनाउने मनभरनको धोको छ। सप्तरीमा उनीहरूको परालले छाएको फुसले बारेको घर छ। मनभरनका जेठा छोरा झमेली, माइला गल्टु, साइँला जनु र काइँला शंकर शारीरिक रूपमा असक्त छन्।
उनीहरू जन्मजात नै असक्त हुन्। कसैको हात छैन, कसैका हातका औंला छैनन्, कसैका गोडाका।
‘यिनीहरूलाई दुई छाक खुवाउने पैसा त छैन। औषधि उपचार र पढाइ त दूरको कुरा भइहाल्यो,’ मनभरनले भने, ‘मागेर खाने। त्यही पैसाले घर चलाउने हो।’
मनभरनको नाममा जग्गा छैन।
‘जग्गाजमिन छैन। हातगोडा सग्ला छैन, काम गरी खान सकिएन,’ बायाँ खुट्टाको पैतला नभएका शंकरले भने, ‘चोकमा बसेर मागिखानु परेको छ।’
माग्न सडकसम्म पुग्न पनि उनलाई कान्छा भाइको साहरा लिनुपर्छ। बिहान सडकसम्म लैजान र साँझ टहरोसम्म ल्याउन उनीहरूसँग दुइटा गाडा छन्। एउटा पाण्डेकुमार र अर्को बाबुले गुडाउँछन्।
सरकारले अशक्तलाई भत्ता दिन कार्ड बनाइदिएको भए पनि अहिलेसम्म भत्ता नपाएको शंकरले गुनासो पोखे। उनलाई नेपाली बोल्न आउँदैनन्। अशक्तता दिन कार्ड छ कि छैन भनी सोध्दा उनले खल्तीमा राखेको नागरिकता निकालेर देखाए।
‘सरकारले पनि सहयोग गरिदिएन,’ उनले भने, ‘केही काम गर्ने सीप सिकाइदियो र बास बस्न मिल्ने घर बनाइदिए बाँच्न सजिलो हुनेथियो।’