‘विकिनी किलर’को रूपमा परिचित अपराधी चार्ल्स गुरुमुख शोभराजलाई सर्वोच्च अदालतले कैद छुट दिन वा नदिनेबारे छिट्टै निर्णय गर्न सरकारलाई आदेश गरेको छ।
गत कात्तिक १९ गते शोभराजले अधिवक्ता शकुन्तला थापामार्फत् जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।
उनको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले तीन महिनाभित्र छुट दिने वा नदिने निर्णय गर्न सरकारलाई भनेको हो।
जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने शोभराजको जिकिर छ।
उनले आफू ७५ वर्ष कटिसकेकाले कानुनअनुसारको सुविधा माग गरेका हुन्।
सन् १९७५ मा अमेरिकि र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए।
अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुईदिनमै क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।
काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो। सन २००३ देखि उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्।