प्रसिद्ध मूर्तिकार माइकलान्जेलो भन्छन्, ‘प्रत्येक ढुंगा मूर्ति हो। त्यसलाई पहिल्याउने काम भने मूर्तिकारको।’
त्यसैले होला सामान्य ढुंगामा पनि मूर्ति देख्छन्, मूर्तिकारहरू। मोरङ, बेलवारीस्थित भाउन्नेमा भइरहेको अन्तर्राष्ट्रिय मूर्ति कार्यशालाले यसैको झल्को दिन्छ।
एक्काइस हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा यतिबेला ठूल्ठूला ढुंगा छरिएका छन्। ती ढुंगामा ६ विदेशी र २४ नेपालीले विभिन्न आकृति खोपिरहेका छन्। जापानका कलाकार नोरिओ ताकाओका, इटालीका माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता, बंगलादेशका अभिजित कान्तिदास लगायत मूर्तिकार यसमा सहभागी छन्।
‘यहाँ बन्ने मूर्ति ढुंगाको बनोटका हिसाबले कलाकार स्वयंको इच्छाअनुसारका आकारमा ढालिन्छन्। यहाँको सभ्यता झल्काउने धिमाल र राजवंशी संस्कृतिका मूर्तिहरू भने बन्नेछन्,’ कलाकारमध्येका लक्ष्मण भुजेलले भने, ‘सिर्जना सामुदायिक बगैंचालाई मूर्तिको बगैंचा बनाउने हाम्रो उद्देश्य हो।’
उनका अनुसार यहाँ करिब ३५ वटा मूर्ति केही समयमै तयार भइसक्नेछन्। विस्तारै केही वर्षमा करिब सयवटा सिर्जनात्मक मूर्ति देख्न पाइनेछ। यस्तै बगैंचा अहिल्यै हेर्न चाहनुहुन्छ भने लक्ष्मणकै जन्मथलो हेटौंडा पुग्दा हुन्छ।
केही समयअघि हामी हेटौंडाको हर्नामाडीस्थित त्यो बगैंचा घुम्न गएका थियौं। गुम्बा डाँडामा रहेको ‘हर्नामडी कला प्रतिष्ठान’ मा मोरङको पार्कमा झैं ढुंगाहरू छरिएका थिए। नजिकबाट नियाल्दा सबै ढुंगा मूर्ति।
यो मूर्तिको बगैंचा कसरी बन्यो? यो जान्नुअघि गुम्बा डाँडा कसरी बन्यो भन्ने थाहा पाउनुपर्छ।
कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलका अनुसार यो ठाउँमा पहिले गुम्बा डाँडा थिएन। सालका रूखले जंगल बनेको यस ठाउँमा पहिले बाक्लो बस्ती थियो। गाईका गोठ थिए। ठाउँको नाम थियो– गोठदमार।
‘चुरेको यो कमजोर पहाडमा कुनै पनि समय पहिरो जाने जोखिम थियो,’ रम्तेलले भने, ‘त्यसैले २०३५ सालतिर यहाँको बस्ती चितवन सारियो।’
त्यसपछि चुरे संरक्षण निम्ति गोठदमारमा सल्लाका बिरुवा रोपिए। ठाउँको स्वरुप परिवर्तनसँगै नाम पनि परिवर्तन भयो, सल्लाघारी पर्यटकीय पार्क। २०५४ सालतिर यही पार्कमा गुम्बा बन्यो। अनि नाम रह्यो, गुम्बा डाँडा।
गुम्बा डाँडामा कला प्रतिष्ठान बनेको सन् २०१२ तिर हो। कलाकार भुजेलका अनुसार त्यस वर्ष यहाँ नेपालकै पहिलो अन्तर्राष्ट्रिय मूर्ति कार्यशाला भएको थियो। त्यही कार्यशालाले यो डाँडालाई कला प्रतिष्ठान वा मूर्तिको बगैंचामा परिणत गरेको उनी बताउँछन्।
‘त्यतिबेला म र कलाकार तारालाल श्रेष्ठलाई एउटा सहकारीले सम्मान गरेको थियो,' भुजेलले भने, 'त्यहीबेला हामीले सम्मानको साटो बरू यो डाँडालाई मूर्तिकलाको बगैंचा बनाउन प्रस्ताव राख्यौं। सोहीअनुरूप योजना बनेको हो। सुरुमा दुई-चार जना नेपाली मूर्तिकार ल्याएर गरौंला भन्ने सोच थियो। पछि सहयोगी जुट्दै गए। त्यसपछि अन्तर्राष्ट्रिय कार्यशाला नै किन नगर्ने भनेर लागिपर्यौं।’
करिब ६ हेक्टरमा फैलिएको डाँडाको करिब ३ बिघा मूर्ति बगैंचाले ओगटेको छ। त्यहाँ करिब २३ मूर्ति छन्। यसमा नेपालका शारदामान श्रेष्ठ, ओम खत्री लगायतसहित इटाली, फ्रान्स, जापान, कोरिया विभिन्न देशका कलाकारका मूर्ति छन्। तीमध्ये १८ वटा नेपाली कलाकारले बनाएका छन्। दुई भने स्थानीयले बनाएका हुन्।
बगैंचा छिर्नेबित्तिकै कछुवा देख्न सकिन्छ, जसको पुच्छर हात्ती आकृतिमा छ। यसलाई स्थानीय ओमभक्त भण्डारीले बनाएका हुन्।
‘उहाँ जे काम पनि गरिहालम् भन्ने खालको मान्छे। घर बनाउनदेखि जे काममा पनि अघि सर्नुहुन्छ,’ भुजेलले भने, ‘यो मूर्ति पनि उहाँले हामीले बनाएको देख्दा देख्दै सिक्नुभएको हो।’
‘पहिलोपटक बनाएको मूर्ति भनेर कसैले पत्याउनै सक्दैनन् है?’ सँगै रहेका रम्तेलले भने।
अर्का स्थानीयले बनाएको मूर्ति भने ‘आमा’ शीर्षकमा बाबुलाल वैद्यको सिर्जना हो। भुजेल आफैंले एउटा मूर्ति बनाएका छन्। जसमा धेरैजसो मानिस झुम्मिन्छन्। एउटा सिंगो ढुंगाको बीचमा टाउको देखाउन मिल्नेजस्तो कला उनले कुँदेका छन्। त्यहाँ मानिस टाउको छिराएर तस्बिर खिच्छन्।
‘मानिस जिज्ञाशु प्राणी हो। समथर ढुंगालाई मान्छे त्यति हेर्दैनन्। मान्छेहरू मूर्तिसँग खेल्न चाहन्छन्। संवाद गर्न चाहन्छन्,’ उनले भने, 'यही ढुंगालाई ‘फ्रेमिङ’ गरेर दुईवटा नेपाली फिल्मसमेत निर्माण भएको छ।'
भुजेलले झैं मानिस र मूर्तिको सम्बन्ध बुझेकाले होला, प्रकाशरत्न शाक्यले सिंहासन बनाएका छन्। यहाँ पनि मानिस चढ्छन्, तस्बिर खिच्छन्।
विदेशी कलाकारमा सूगिमोतो जून– यीचोरोले त्यो ठाउँको प्रतिनिधि खानेकुरा ‘भट्मासको कोसा’ बनाएका छन्। भुजेलका अनुसार सूगिमोतो जापानका त्यस्ता प्रसिद्ध कलाकार हुन् जसका नाममा जापानमा ‘सूगिमोतो मार्ग’ नै बनेको छ।
त्यस्तै, बेटिनो मोरो फ्रान्सेली भन्ने कलाकारले सभ्यताको सुरुआत अफ्रिकाबाट भएको भनेर विश्वकै पहिलो आमा बनाएका छन्। यो अवतार फिल्मको पात्रजस्तै लाग्छ।
भारतमा बस्ने नेपाली नागरिक नगेन्द्र राजभण्डारीको कला पनि ‘इन्टर्याक्टिभ’ छ। उनले गोलो ढुंगामा सकारात्मक र नकारात्मक कुरा देखाउन खोजेका छन्, जसलाई गुडाएर हेर्न पनि सकिन्छ।
मूर्तिकार भुजेललाई भने यसले द्वन्द्वकालको झल्को दिँदो रहेछ। ‘पहिले यो माओवादी लुकेर बसेको ठाउँ पनि हो। मलाई यो कला ग्रेनाइट फर्ममा बम पो बनाउनुभयो भन्ने लाग्छ,’ उनले भने, ‘बनावट हेर्दा त्यस्तै छ। तर कलाकारले कति कुरा भन्न नचाहिरहेको पनि हुन्छ।’
यो पार्कमा बुद्ध पूर्णिमाको अवसर पारेर २२ फिटको बुद्धको मूर्ति राख्ने तयारी भइरहेको छ। त्योसँगै यहाँ कलाको संग्रहालय पनि छ, जहाँ नेपाल एवं विश्वका प्रख्यात कलाकारले चित्र बनाएका छन्। घरबाहिर हरियो रगंमा भारतीय कलाकार सुरेश के नायरले कलात्मक मुरल्स बनाएका छन्।
‘पार्क भनेको सामान्य खुला ठाउँ मात्र नभएर कलाको केन्द्र पनि बन्न सक्छ भनेर बताउने हाम्रो उद्देश्य हो,’ भुजेलले भने।
त्यही उद्देश्यअनुरुप मोरङमा पनि त्यस्तै मूर्ति बगैंचा बन्न लागेको हो। केही समयमै त्यहाँ हामी अर्को नमूना बगैंचा देख्न पाउनेछौं।