डुंगा चालक मोहन आले मगर बिहान ७ बजे नै फेवाताल किनार पुग्छन्। तालबाराही मन्दिरअगाडि उनको ‘डुंगा स्टेसन’ छ।
फेवातालमा यस्ता आधा दर्जनजति ‘स्टेसन’ छन्। उनको स्टेसनमा मात्र झन्डै चार सय डुंगा यात्रुको खोजी गरिरहेका हुन्छन्। चर्को प्रतिस्पर्धाबीच कहिलेकाहीँ त दुई–चार जना यात्रु पाउन पनि हम्मे पर्छ। बेमौसममा रित्तो हात कोठा फर्किनुपरेको धेरै अनुभव मगरसँग छ।
सिजनअनुसार पर्यटक आवागमन घटबढ भइरहन्छ, तर ३० वर्षीय मगर सात वर्षदेखि नित्य फेवाताल धाइरहेका छन्।
सिन्धुलीका मगर कसरी यहाँ आइपुगे भन्ने लामो कथा छ।
गरिब परिवारका मगरले पाँच कक्षा मात्र पढेका थिए। परिवार संख्या बढ्दै जाँदा सिन्धुलीमै बसेर उनले पढाइलेखाइ अघि बढाउन सकेनन्। गाउँमै भारी बोक्ने र ज्याला मजदुरी गर्न थाले। २०५८ देखि २०६४ सम्म त्यो क्रम चल्यो।
२०६५ सालको कुरा। गाउँका चन्द्रबहादुर भुजेल काठमाडौं बस्थे। पाटन, मंगलबजार बसेर ज्यामी काम गर्थे। गाउँ फर्केका बेला चन्द्रबहादुर र मगरको भेट भयो। उनले काम लगाइदिने भनी मगरलाई काठमाडौं लिएर आए।
काठमाडौं गइकन चन्द्रबहादुरसँगै बसेर मगरले ज्यामी काम थाले। बालुवा, सिमेन्ट बोके। पछि–पछि डन्डी र फर्मा मिलाउने काम पनि सिके।
काठमाडौंको ठाउँ, महंगी उस्तै। कमाएको केही पैसा घर पठाउने गर्थे। बाँकी बचत केही हुन्थेन। तीन वर्ष काम गरेपछि उनलाई त्यो पेसामा चित्त बुझ्न छाड्यो।
मगर काठमाडौंबाट बाहिरिने अवसर खोजिरहेका थिए। त्यही बेला मुस्ताङबाट एक जना व्यक्ति चन्द्रबहादुरकहाँ आइपुगे। उनी मुस्ताङमा ट्याक्टर चलाउँथे। तिनैसँगै २०६८ सालमा मगर मुस्ताङ गए।
काठमाडौंबाट मुस्ताङ पुगेपछि उनी खोलामा घनले ढुंगा फोर्ने काममा लागे। दिनभरि ढुंगा फोर्दा तीन सय रुपैयाँ कमाइ हुन्थ्यो। मुस्ताङमा खर्च कम थियो। खर्च गर्ने ठाउँ पनि थिएन।
'कमाइ त त्यस बेलाको समयअनुसार ठिकै थियो,’ मगरले भने, ‘दिनभरि ढुंगा फोर्दा फुत्रुक्कै भइन्थ्यो। म टिक्न सकिनँ।’
मुस्ताङमा नौ महिना काम गर्दा शरीर गलेको अनुभव भएपछि उनी नयाँ कामको विकल्प खोज्दै भौंतारिन थाले।
सिन्धुलीस्थित गाउँकै अनिल विश्वकर्मासँग उनको चिनजान थियो। अनिल फेवातालमा डुंगा चलाउँथे। मुस्ताङबाट काम छाडेर घर फर्किने क्रममा पोखरामा अनिलसँग भेट भयो। उनले नयाँ कामको खोजीबारे कुराकानी गरे। अनिलले फेवातालमा डुंगा चलाउन झट्टै बन्दोबस्त मिलाइदिए।
सिन्धुली फर्किएका मगर पोखरामै रोकिए। लेकसाइडको खहरेमा डेरा पनि उनैले खोजिदिए। २०६९ सालमा गाउँकै युवतीसँग बिहे गरेपछि श्रीमतीसँगै पोखरा आए। खहरेबाट लेकसाइड डेरा सरे।
मगरकी एउटी छोरी छिन्। नर्सरी पढ्छिन्। मगरको आम्दानीले कोठा भाडा, खानलाउन जसोतसो पुगेकै छ।
फेवातालमा असोज महिनाबाट पर्यटकको चाप सुरू हुन्छ। डुंगा चालकको कमाइ पनि बढ्छ। कात्तिक लागेपछि पर्यटक बाक्लिन्छन्। यो पुस–माघसम्म चल्छ। दैनिक खटिँदा पन्ध्र सयदेखि दुई हजारसम्म कमाइ हुने मगर बताउँछन्।
फेवातालमा डुंगा व्यवसायीहरूको संघ छ। प्रायः चालकको आफ्नो डुंगा हुँदैन। व्यवसायी संघमार्फत् डुंगा खियाउँछन्। संघको नियमअनुसार डुंगा चालकको पारिश्रमिक निर्धारण हुन्छ। एक घन्टा खियाएबापत १ सय ८० रुपैयाँ पाउँछन्। दिनभरि जति धेरै ट्रिप, उति धेरै पैसा।
संघले फेवातालमा नेपाली पर्यटकका लागि घन्टाको ७ सय ५० रुपैयाँ दर तोकेको छ। विदेशीका लागि ९ सय। नेपाली वा विदेशी जसलाई लगे पनि चालकले घन्टाको १ सय ८० नै पाउँछन्। पूरै ताल घुम्न भने ३ हजार ५ सय रुपैयाँ लाग्छ।
फेवातालमा मगरजस्तै सबै डुंगा चालक आफ्नै तरिकाले ‘ट्रिप’ मिलाउँछन्। फेवातालको बीचमा हुँदा पनि उनी साथीभाइका लागि ‘कन्ट्याक्ट’ मिलाइदिइरहेका हुन्छन्। भन्छन्, ‘ग्राहकले मोबाइल नम्बर लिएर गएका हुन्छन्, अर्कोपटक पोखरा आउँदा फोन गर्छन्, आफूले नभ्याउँदा साथीलाई भन्दिन्छु।’
सात वर्षको डुंगा अनुभवमा मगरले स्वदेशी-विदेशी सबैसँग संगत गरे। उनी स्वदेशीसँग बढी भिजेका छन्। विदेशी पर्यटक हुँदा भाषा बुझ्दैनन्। ‘आफू पढेलेखेको छैन, इसारामै खियाउँछु,’ मगरले भने।
डुंगा चढ्ने सबै पर्यटक अनुशासित हुँदैनन्। नचढुञ्जेल राम्रो व्यवहार गर्छन्। कतिले त डुंगा चढ्नुअघि मदिरा पिएका हुन्छन्। डुंगा चढ्दा मदिरा लैजान पाइँदैन। चढेपछि यात्रुले पिउने इच्छा राख्छन्। मदिरा पाउने स्थान लैजान जोड गर्छन्। नमाने झर्कोफर्को र रुखो व्यवहार गर्छन्।
‘पर्यटकलाई खुसीसाथ सयर गराउनु हाम्रो कर्तव्य हो, खुसी भए भने टिप्स दिन्छन्, रोजीरोटीका लागि हामी पर्यटकसँग रुखो व्यवहार गर्नै सक्दैनौं,’ उनले भने।
पर्यटकलाई खुसी बनाउन उनी तालबाराही मन्दिरपारि पसल थापेका व्यवसायीकहाँ पुर्याउँछन्। त्यहाँ डुंगा रोकिदिन्छन्। ‘पर्यटकले त्यहीँ मदिरा पिउँछन्, लिएर पनि आउँछन्,’ मगर भन्छन्, ‘मदिरा पिएपछि व्यवहार परिवर्तन हुन्छ।’
उनका अनुसार मदिरा पिएपछि कसैले आफैं डुंगा चलाउन खोज्छन्। कसैले ‘लाइफ ज्याकेट’ फुकाल्छन् त कोही फोटो र भिडियो खिच्न लालायित हुन्छन्।
‘जथाभाबी डुंगा चलाउन खोज्छन्, बहना आफैं खोस्छन्,’ उनले भने, ‘यस्तो बेला हामीलाई डुंगा नियन्त्रण गर्न कठिन हुन्छ।’
यात्रुहरू फोटो खिच्न, भिडियो बनाउन र चर्को हल्लाखल्ला गर्दा डुंगा नियन्त्रण गर्न अप्ठेरो पर्ने उनी बताउँछन्।
मगरका अनुसार फेवातालमा वर्षको तीन–चारवटा डुंगा दुर्घटना भइरहेका हुन्छन्। प्रायः मौसमका कारण पनि दुर्घटना हुन्छ। हावाहुरी चल्दा डुंगा अनियन्त्रित हुन्छ।
‘केही भइहाले उद्धार गर्ने टिम हुन्छ। नजिक–नजिक डुंगाहरू चलिरहेका हुन्छन्, अप्ठेरो पर्दा सहयोग गरिहाल्छन्,’ उनले भने, ‘कसैलाई डुबेर मर्न दिँदैनौं।’
कतिपय यात्रु भने तालको बीचमा पुगेपछि निकै ‘भावुक’ बन्छन्। मदिरा सेवन गरेकाहरू पौडी खेल्न डुंगाबाट हाम्फाल्न खोज्छन्। पारिवारिक दुःख र पीरमर्कामा परेकाहरू पनि हाम्फाल्न खोज्छन्। ‘त्यस्तो बेला साह्रै डर हुन्छ, तालको बीचमा त्यस्ता यात्रुलाई सम्हाल्नै गाह्रो,’ उनले भने, ‘डुंगा चालकका रूपमा भोग्नुपर्ने समस्या यही हो।’
उनले दुई वर्षअघिको एउटा घटना सम्झे। दुई महिला यात्रु थिए। मगर उनीहरूलाई लिएर तालबाराही मन्दिरतर्फ डुंगा खियाउँदै थिए।
स्टेसनबाट मन्दिरबीचको आधा भागमा पुगेपछि दुईमध्ये एक जना महिला तालमा हाम्फालिन्।
‘बहाना बोटमै छोडेर म पनि हाम्फालेँ, महिलाको कपाल समातेर डुंगामा घचेटेँ,’ उनले भने, ‘तुरुन्त डुंगा फर्काएर स्टेसन पुर्याएँ र उद्धार टिमको जिम्मा लगाएँ।’
यस्ता घटनाले कहिलेकाहीँ अतेस लागे पनि उनी आफ्नो कामबाट सन्तुष्ट छन्।
लामो समय डुंगा खियाएर हो कि, अचेल मोहन आले मगर घरिघरि बिरामी परिरहन्छन्। नशा र ढाडमा असर परेको छ। कहिलेकाहीँ काममै आउन सक्दैनन्। डुंगा खियाउँदा नशा सक्रिय हुन्छ, डुंगामा बसिरहँदा ढाड दुख्छ। त्यही भएर उनी डुंगा चलाउन छाड्ने सोच बनाइरहेका छन्।
डुंगा खियाएर भविष्य बन्दैन भन्ने उनलाई लाग्न थालेको छ। त्यही भएर ट्याक्सी चलाउने सोचमा पुगेको बताउँछन्। ‘लाइसेन्स बनाइसकेको छु, भविष्यमा ट्याक्सी चलाउन मन छ,’ मगरले भने, ‘बाँकी जीवन मेरो डुंगामा हैन, ट्याक्सीमा बित्छ होला।’
लाइसेन्स बनाए पनि उनीसँग ट्याक्सी भने छैन। उनी आफैं ट्याक्सी किन्न चाहन्छन्।
‘डुंगा भाडामा चलाएँ, ट्याक्सी चाहिँ भाडामा चलाउँदिनँ,’ मगरले भने, ‘नयाँ ट्याक्सी किन्न पैसा जोहो गर्दैछु।’