आज लाप्राकमा रमिता छ।
फागुन कृष्ण अष्टमीको साइतमा लाप्राकीहरू बेहुला लिएर जन्ती गएका छन्। बेहुला र बेहुलीको घर एकै गाउँमा छ। लाप्राकीहरू घरबेटी र जन्ती एकैपटक हुँदै छन्।
गाउँलेहरू जन्ती जानु के को रमिता भन्नुहोला!
उनीहरू बेहुली लिन जन्ती गएका होइनन्। स-साना बालबालिकालाई बेहुला-बेहुली त बनाएका छन्, तर बिहे उनीहरूको होइन।
मकैको हो।
मकै?
मकै लाप्राकमा उत्पादन हुने मुख्य बाली हो। यहाँ धान फल्ने खेत छैन। मकै, आलु फल्छ। लाप्राकका बारीमा अहिले मकै रोप्ने बेला हो।
मकै छर्नुअघि बीउ चोख्याउन बिहे गर्नु गुरुङ बहुल लाप्राक गाउँको पुरानो चलन हो। बाबुबाजे पालादेखिको यो चलनलाई अहिले पनि यहाँ निरन्तरता दिइएको छ।
गाउँका जैसी (पुरोहित) तथा झाँक्रीहरूले एक साताअघि नै मकै बिहेको साइत जुराएका थिए। सोमबार साँझदेखि मंगलबार बिहानसम्म गाउँमा बारना छ। गाउँलेहरू चोखो खाएर मकैको बिहे गर्न पूजा बसेका छन्। बारनाका बेला खनजोत गर्न पनि हुन्न भन्ने चलन छ।
लाप्राकीहरू मंगलबार बिहानैदेखि गाउँ परिक्रमा गर्दै छन्। बेहुलालाई अघि लगाएर उनीहरू ढ्यांग्रो, मादल, बाजागाजा बजाउँदै गाउँदेखि केही पर बेहुलीको घर गएका छन्।
बेहुली पनि आफ्नो घरमा सिंगारिएर बसेकी छन्। जब बेहुलीको घरनजिक जन्ती पुग्छ, तब बेहुली पक्षले बाटो छेक्छ।
'पैसा दिएपछि मात्र बाटो छाडिदिने चलन छ,' लाप्राकका वडाध्यक्ष राज गुरुङले भने, 'यो कर तिरेजस्तै पैसा हो।'
उनका अनुसार यो बोन संस्कृतिमा आधारित छ। मकै बिहे धर्ति पूजाको एक रूप हो।
बेहुलासहित जन्तीहरू बेहुलीको घर पुगेपछि केहीबेर नाचगान चल्छ। जन्ती जाँदा आफ्नो घरबाट लगेको एकेक घोगा मकै एकै ठाउँ थुप्राइन्छ। त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ।
मकै बिहे भनेको गाउँलेहरू सामूहिक भेला भएर गर्ने पूजा हो। मकै रोप्नुअघि बीउ चोख्याउन, कीराबाट जोगाउन, हिउँ र असिनापानीबाट जोगाउन गरिने पूजा हो।
'यो माना रोपेर मुरी उब्जाउने बेला हो। मुरी उब्जाउन गतिलो बीउ छर्नुपर्यो,' गुरुङले भने, 'बेहुलीको घरबाट पूजा गरी चोख्याएको बीउ खनजोत गरी ठीक्क पारेको बारीमा भोलिदेखि छर्न सुरु गरिन्छ।' मकै बिहे गरेपछि मात्र बारीमा मकै छर्न पाइन्छ।
मकै छर्ने आसपास हुने पूजा भएकाले पनि यसलाई मकै बिहे भनिएको गुरुङले बताए। 'छर्नुअघि सबै अन्नको पूजा गर्ने चलन छ। तर मकै मुख्य बाली भएकाले यसको बिहे नै गरिन्छ,' उनले भने।
मकै बिहेका लागि वडाले बजेट भने छुट्याएको छैन। घाटुलगायत संस्कृति संरक्षण गरिराख्न गत वर्ष १५ लाख रूपैयाँ खर्चेर भवन बनाइएको छ। यस वर्ष सात लाख बजेट छ। यो बजेट संस्कृति संरक्षणकै काममा खर्च गर्ने वडाध्यक्ष गुरुङले बताए।
मंगलबार साँझपख लाप्राकीहरू बेहुलीको घरबाट आफ्नो घरतिर फर्कन्छन्। फर्कंदा एकेक मुठी मकैको बीउ घरमा लिएर जान्छन् र त्यो बीउ मकैमा मिसाउँछन्।
'मकैको बीउलाई कसैले त भकारीमा पनि राख्छन्, धेरै मकै फलोस् र भित्र्याउन पाइयोस् भनेर,' गुरुङले भने।
लाप्राकमा बर्सेनि माघ १५ देखि फागुनसम्म साइत हेराएर एक दिन मकै पूजा गरिन्छ।
साँझपख घाटु नाच्ने र एकैठाउँ भेला भएर भोजभतेर खाने चलन छ। लाप्राकमा मात्र होइन, बुढीगण्डकी नदीवारिका धार्चेका गुम्दा, सिङ्ला, लप्सीबोट, लापुमा पनि मकै बिहे गर्ने चलन छ।
धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले मकै बिहे धर्ति पूजा भएको बताए। 'मकै छर्नुअघि बीउ चोख्याउन पूजा गरिन्छ,' उनले भने, 'बाँदर, कीरा, चरा, हिमपात, बर्षाले दु:ख नदियोस् भनेर गरिने पूजालाई मकै विहे भन्न थालिएको हो।'
सबै तस्बिर स्रोत: राज गुरुङ