आङछिरिङ शेर्पाको परिवारकै साइनो हिमालसँग जोडिएको छ।
उनको सपना थियो- नेपालका हिमाली भेगमा समेत धेरैभन्दा धेरै ठाउँमा विमानस्थल खोल्ने र सबैभन्दा बढी जहाज यति एयरलाइन्सका बनाउने।
त्यही सपना पछ्याउँदै बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसँगै ताप्लेजुङको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पुगेका शेर्पाको फर्किँदा हेलिकप्टर दुर्घटनामा निधन भयो।
सोलुखुम्बु सल्लेरीको एक गरिब परिवार जन्मिएका आङछिरिङका चारै जना दाजुभाइ हिमाल आरोहणमा संलग्न थिए। दैनिक जोहो टार्न उनीहरू पर्वतारोहीको भरिया बन्थे।
नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्ह्यामू शेर्पा आङछिरिङ उनकी आफ्नै भाउजू हुन्।
भरिया भएर हिमाल आरोहण गरिरहेको यो शेर्पा परिवारले यसैलाई व्यवसाय बनाउने सपना २०४५ सालमा देखेको हो।
त्यतिबेला पासाङ ल्ह्यामु शेर्पा, उनका पति सोनाम र आङछिरिङ कम्पनी खोल्न काठमाडौं आए।
कम्पनी खोल्न यति कठिन थियो कि उनीहरूले प्रधानमन्त्री नै भेट्नु पर्यो।
तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठले उनीहरूलाई थाम शेर्कु कम्पनी खोल्न अनुमति दिए।
‘उनीहरूले यस्तो बेलामा व्यवसाय सुरू गरे जतिबेला शेर्पाहरू भरिया र गोराका बफादार गाइड थिए। गोराको मन जितेर उनीहरू युरोप र अमेरिका भासिन्थे,’ पर्यटन जानकार चक्र कार्कीले सेतोपाटीसँग भने, ‘तर उनीहरू तत्कालको फाइदा हेरेर युरोप/अमेरिका गएनन्। बरू आफूले गरिरहेको कामलाई व्यवसायमा बदले र सबै शेर्पाका रोल मोडल बने।’
थाम शेर्कुले निकै राम्रो व्यापार गर्न थाल्यो। युरोपियन पर्वतारोहीहरू यही कम्पनीमार्फत् नेपालका हिमाल चढ्थे।
यही क्रममा २०५० सालमा पासाङ ल्ह्यामू शेर्पा आफैं सगरमाथा चढिन्। सगरमाथाको चुचुरोमा पुग्ने उनी पहिलो नेपाली महिला हुन्। तर फर्कने क्रममा उनको निधन भयो।
थाम शेर्कु कम्पनीको व्यापार निरन्तर उकालो लागिरह्यो। धेरै नै पैसा जम्मा भएपछि २०५५मा आङछिरिङले यति एयरलाइन्स खोले।
पछि पहाडी क्षेत्रलाई लक्षित गरी उनले तारा एयरलाइन्स चलाए। तारा एयर खुल्दा अरू कुनै निजी वायु सेवाले नेपालका दुर्गम क्षेत्रमा हवाइ सेवा दिँदैनथे।
सबै ठाउँमा सडकको पहुँच नभएको त्यो बेला तारा एयरले हिमाली क्षेत्रमा कार्गो र यात्रु ओसार्न ठूलो राहत पुगेको थियो।
पर्यटन क्षेत्रमा शेर्पाले साम्राज्य नै बनाए। उनले यति बलियो जालो बनाएका थिए, कुनै पनि विदेशी नेपाल आउँदा उनीसँग ठोक्किएर मात्र पुग्थ्यो।
‘उनले आफ्ना लागि सुरू गरेको व्यवसाय पछि नेपालको पर्यटन उद्योगका लागि नै बलियो पूर्वाधार भयो,’ कार्कीले भने, ‘उनले खोलेका होटलदेखि सञ्चालन गरेका हवाइजहाजसम्मले यो क्षेत्रमा महत्वपूर्ण योगदान गरे।’
काठमाडौंमा बस्ने होटल, हिमाल आरोहरण गराउने ट्रेकिङ एजेन्सी, टिकट काट्ने ट्राभल एजेन्सी, सुगममा उड्न यति एयर, दुर्गममा उड्ने तारा एयर उनैका थिए। खर्चालु पर्यटकका लागि उनले एयर डाइनेस्टीबाट हेलिकप्टर सेवा पनि दिन्थे।
पछिल्लो समय खुलेको हिमालय एयरलाइन्समा शेर्पाको ५१ प्रतिशत सेयर छ।
सगरमाथा क्षेत्रमा एक विन्दुबाट अर्को बिन्दुमा जाँदा आङछिरिङकै होटलमा बास बस्न सकिन्छ। त्यहाँ उनका ७ वटा होटल छन्।
अन्नपूर्ण क्षेत्रमा पनि शेर्पाले तीन वटा होटल खोलेका छन्। पोखरा, सौराहा, बन्दीपुरमा पनि उनले होटल चलाएका छन्।
२०६९ सालदेखि उनले नेपाल सरकारको स्वामित्वमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट पनि लिजमा लिएर चलाइरहेका छन्।
पछिल्लो समय उनले राजधानीको लैनचौरमा फाइभ स्टार होटल ला शेर्पा खोल्ने तयारी गरेका थिए।
व्यवसायसँगै शेर्पा परिवार राजनीतिमा पनि जोडिएको छ। शेर्पा आफैं प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकदम निकट थिए।
नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयको भवन पनि उनैले दिएका हुन्।
उनका भाइ डेन्डी शेर्पा तत्कालीन नेकपा एमालेका सोलुखुम्बु जिल्ला नेता थिए। उनको २०५६ मा हेलिकप्टर दुर्घटनामै परी निधन भएको थियो।
कतिपयले राजनीतिक निकटतासँगै शेर्पाले नेपालको उड्ययन क्षेत्रमा नियामक नागरिक उड्ययन प्राधिकरणलाई नै प्रभावमा पारेको आरोप लगाउने गरेका थिए।
तर त्यस्ता आरोपलाई आङछिरिङले प्राय: वेवास्ता गर्थे। मिडियामा कमै आउने उनी आफ्नो व्यवसाय बढाउनमा केन्द्रित थिए।
खुम्बु पासाङ ल्ह्यामू गाउँपालिका-१ पाङगोमका स्थायीवासी शेर्पाका श्रीमती (चन्दा शेर्पा) र दुई छोरा (पासाङ र नुर्वु) छन्।