१५ गते बुधबार, १ बजे। प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा राप्रपाको मेची–महाकाली अभियानको कार्यक्रमको सुरक्षा बन्दोबस्त गरेर जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ पुगेका थिए– प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई भेट्न।
पूर्वउपप्रधानमन्त्री कमल थापा प्रमुख अतिथि रहेको कार्यक्रममा थुप्रै सवारीसाधन थिए। अभियान टोलीको त्यो समूहलाई पाँचथरतर्फ पठाउने बन्दोबस्त मिलाएर डिएसपी थापा प्रजिअलाई भेट्न गएका थिए।
प्रजिअ भण्डारी–थापाबीच भेट भयो। कुराकानी भइरहेको थियो।
यत्तिकैमा साढे १ बजे, पाथीभरास्थित माथिल्लो फेदी प्रहरी चौकीबाट डिएसपी थापालाई खबर आयो– सुकेटारबाट आइरहेको हेलिकप्टरमा आगो बल्यो, भीरमा खस्यो।
घाँस काट्न जंगल गएका स्थानीयलाई उद्धृत गर्दै त्यस्तो जानकारी आएको थियो। थापाले प्रजिअ भण्डारीलाई यही कुरा सुनाए।
माथिल्लो फेदी चौकीका प्रहरीलाई तुरुन्त घटनास्थल जान निर्देशन दिए।
डिएसपी थापा सिडिओ भण्डारीकै गाडीमा बसे र उनीहरू घटनास्थल जानका लागि हिँडे।
भण्डारीले सबै सुरक्षा संयन्त्रलाई परिचालन हुन निर्देशन दिए।
नेपाली सेनाको टोलीलाई तुरून्त घटनास्थल जान अह्राए।
जिल्ला प्रहरी कार्यालयको गाडी पछाडि थियो। त्यो टोलीमा ९ जना प्रहरी थिए। पछि–पछि प्रहरी निरीक्षक नेतृत्वमा अर्को टोलीमा ८ जना थिए।
माथिल्लो फेदीका ४ जना प्रहरी घटनास्थल जाँदै थिए।
‘चारैतिर फोन लगायौं, यस क्रममा पो पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहितको टोली चढेको हेलिकप्टर दुर्घटनामा परेको रहेछ,’ डिएसी थापाले फोनमा भने, ‘हामीले गाडीको गति बढायौं।’
एक घन्टामै तल्ल्लोफेदी पुग्यो टोली। त्यहाँ गाडी राखेर माथिल्लो फेदीसम्म हिँड्दै गयो। माथिल्लो फेदी हुँदै घटनास्थल फुङ्लिङ नगरपालिका–१० सिस्नेभीरको दाह्रेढुंगा पुग्दा साढे चार बजेको थियो।
‘हामी पुग्दा केही स्थानीय, हेरेर बसेका थिए। कोही फोटो खिचेर बसेका थिए। टुक्रा–टुक्रा भएको हेलिकप्टर जलिरहेको थियो,’ डिएसपी थापाले भने।
स्याउला भाँचेर आगो निभाउन थाले। जीवित फेला पर्ने सम्भावना थिएन। लाश क्षतविक्षत थिए। आगोले डढेका थिए। चिन्ने अवस्थामा थिएनन्।
दाह्रेढुंगाको वरपर चार वटा शव थिए। केही शव त्यहाँभन्दा तल उछिट्टिएका थिए। उनीहरूले पहिला चार वटा शव संकलन गरे।
‘हल्का पानी र हिमपात भइरहेको थियो,’ थापाले भने, ‘जमिनमा डेढ इञ्च हिउँ थियो।’
लास संकलन जारी थियो। यही बीचमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले आकाशमा चक्कर लगाउन थाल्यो।
उनीहरूले प्यारासुटमा झर्न मिल्ने ठाउँमा शव लगे। सेनाका लफ्टन र सशस्त्र प्रहरीका इन्सपेक्टरसहितको टोली मिसिएर पचास जनाजतिको संख्या भयो। शव व्यवस्थापन गर्न सजिलो हुँदै गयो।
‘कसको शव हो, सनाखत गर्नसक्ने अवस्था थिएन, हामीले उद्धार मात्रै गर्यौं,’ थापाले भने।
एमआई–१७ ले चार दुई पटक गरेर चार वटा शव सुकेटार विमानस्थल लग्यो।
अर्कोपटक हेलिकप्टर आउन सकेन। बाक्लो हुस्सुसँगै हिमपात सुरू भयो। उद्धार टोलीले काम गर्न सकेन।
शव रुँघेर बस्नुको विकल्प भएन।
डिएसपी थापाले यताउता ओत लाग्ने ठाउँ खोजे। तर, ज्यान ओत्ने ठाउँ भेटेनन्।
घटनास्थलछेऊमा मालिंगोको घारी थियो। भिरालो जमिन। त्यहीँ आगोको धुनी लगाए र जमिनमा बसे।
हिमपात बेस्सरी हुन थाल्यो। त्यही धुनीमा रातभर जाग्राम बस्ने निधो भयो।
‘स्याउला ओछ्याएका थियौं, शरीरको तल्लो भाग आगोले सेकायौं,’ थापाले भने, ‘टाउको र जिउमा बङ–बङ हिउँ झर्थ्यो, हातले टक्टक्याउँदै बस्यौं।’
आकस्मिक रूपमा घटनास्थल गएको उद्धार टोलीले केही बन्दोबस्ती गरेको थिएन। ओड्ने कपडा थिएन, खानेकुराको प्रबन्ध थिए।
उनीहरू छिटो शव संकलन गरी फर्किने सोचमा थिए। तर, त्यो सम्भव नभएपछि राति त्यहीँ बास बस्नुपरेको थापा बताउँछन्।
राति ११ बज्यो। थकानमाथि भोक बेस्सरी लागेको थियो। केही स्थानीयको सहयोगमा सशस्त्र प्रहरीले बीस लिटरजति पानी र बिस्कुट किनेर ल्यायो।
‘एक/दुई पुरिया बिस्कुट र पानी खाएर भोक मेटायौं,’ थापाले भने।
जंगल थियो। दाउरा पाइन्थ्यो। ठूलो आगो बालेर उद्धार टोली रातभर जाग्राम बस्यो।
बिहान साढे ६ बजेदेखि तीन वटा शव पोको पारे। हेलिकप्टर आयो। हेलिकप्टरले शव उठायो। टोली कोही हेलिकप्टर कोही पैदल हिँड्यो।
सिस्नेभीरको दाह्रेढुंगामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल,यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्नुन घिमिरेको मृत्यु भएको थियो।
ताप्लेजुङ पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा विमानस्थल सम्भाव्यता अध्ययन गरी फर्किने क्रममा पाथीभरा दर्शन गरेर हेलिकप्टर चढेका थिए।