हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टी शुक्रबार पोखरामा हुँदैछ। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टी शुक्रबार गृह जिल्ला कास्कीको पोखरास्थित रामघाटमा गरिने तयारी भएको छ।
अधिकारीको अन्त्यष्टी पोखरामा हुने भएपछि उनका बाबाआमा, छोरा र बहिनी बिहीबारै पोखरा आएका छन्।
अन्येष्टी अघि पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ।
श्रद्धाञ्जलीका लागि अधिकारीको शव शुक्रबार दिउँसो १२ देखि ४ बजे सम्म राखिने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले सेतोपाटीलाई जानकारी दिए।
बिहीबार अपराह्नदेखि नै काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राख्ने तयारी गरिए पनि पोष्टमार्टममा ढिलाई भएपछि शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म राखिने भएको छ।
काठमाडौंमा ११ बजेसम्म राखेर त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अधिकारीको शव पोखरा ल्याइने बस्नेतले जानकारी दिए।
श्रद्धाञ्जली पछि प्रदर्शनी केन्द्र नयाँबजारबाट शुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोकहुँदै रामघाटमा लगेर अन्त्येष्टी गरिनेछ।
अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने नेपाल सरकारले यसअघि नै निर्णय गरिसकेको छ।
रामघाटमा राजकीय सम्मानका लागि नेपाली सेनाले सलामी दिनेछ।
अन्त्येष्टीमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, नकेपाका नेता नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, बामदेव गौतम लगायतका नेताहरु पोखरा आउनेछन्।
यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ।
प्रदेशका सबै पालिकाहरूमा २४ गतेसम्म शोक सभा गर्ने निर्णय नेकपाको निर्णय छ।