पछिल्लो एक महिनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ६ पटक टेलिफोन गरे।
मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै बुधबार उनको स्वर्गारोहण भयो। मन्त्री अधिकारीको सो सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफैं लागिपर्ने बताउँछन्। उनी भन्छन्, ‘मन्त्री अधिकारीको चासो, चिन्ता र हाम्रो आवश्यकता पूरा गर्न अब हामी लाग्नुपर्छ,’ नगरप्रमुख दाहालले भनिन्, ‘१५ दिनयता उहाँ स्वयंले मलाई पाँच/छ पटक टेलिफोन गरे। विमानस्थल विस्तारका लागि रक्षा मन्त्रालयसँग पनि लगभग सहमति भएको बताउनु भएको थियो।’
‘मन्त्रीज्यूले यो विमानस्थल विस्तार गर्न चासो देखाउँदै प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोली समेत पठाउनु भएको थियो,’ दाहालले भनिन्। उनका अनुसार मन्त्री अधिकारीले पटक पटकको टेलिफोनमा जसरी पनि विमानस्थल विस्तार गर्नुपर्नेमा जोड दिँदै आवश्यक निर्णय र कागजपत्र पठाउन सुझाव पनि दिएका थिए।
मन्त्रीको चासो र चिन्ता देखेर आफूलाई पनि काम गर्न उत्साह मिलेकामा यस दुःखद घटनाले उनको यो सपनालाई पूरा गराउन आफू लागिपर्ने महानगरप्रमुख दाहालको भनाइ छ।
भरतपुर विमानस्थलको धावनमार्गको पूरै भाग प्रयोग गर्न नमिले पनि यो विमानस्थललाई तराईको लुक्ला भनेर चित्रण गरिँदै आए पनि समय समयमा विमान उडान र अवतरणमा समस्या देखिँदै आएको छ।
गत माघ १९ गते मन्त्री अधिकारी विमानबाट यहाँ अवतरण गर्न खोज्दा कठिन भएको थियो। विमानले दिशा परिवर्तन गरी अवतरण गर्नुपरेको थियो।
नागरिक उड्डयन प्राधिकरण भरतपुर शाखा प्रमुख पवनकुमार गौतमका अनुसार विमान अवतरण गर्न नसकेपछि मन्त्री अधिकारीले पछिल्लो समयमा चितवन आउँदा निकै डर लागेको बताएका थिए। मन्त्रीलाई उद्धृत गर्दै उनले भने, ‘मेरै छाति ढक्क फुल्यो, जसरी पनि विमानस्थलको विस्तार गर्नुपर्छ।’
सोही समयमा मन्त्री अधिकारीको उपस्थितिमा महानप्रमुखसहित सुरक्षा निकायको संयुक्त बैठकमा उनले विमानस्थल विस्तारका लागि निर्देशन दिएको थिए। सोहीअनुसार प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोलीले स्थलगत अध्ययन पनि गरेको थियो।
विमानस्थल निर्माणका लागि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषय छुट्याएर कामसमेत अघि बढाइएको शाखा प्रमुख गौतम बताए। मन्त्री अधिकारीले भरतपुर विमानस्थल नजिकै रहेको सैनिक गण हटाएर भए पनि धावनमार्ग विस्तार गर्नुपर्ने सुझव दिएको उनको भनाइ छ।
मन्त्री अधिकारी काठमाडौं फर्किएपछि पछिल्लो समय आफूसँग पनि निरन्तर फोन सम्पर्क भएको शाखा प्रमुख गौतमले जानकारी दिए।
जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ। उनका अनुसार हाल धावनमार्ग एक हजार २०० मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग गर्नुपरको छ।
धावनमार्ग पूरा प्रयोग गर्न नपाउँदा जहाजलाई सहज उडान र अवतरण गर्न कठिन हुनाका साथै सिट क्षमता अनुसारको यात्रु बोक्न पनि कठीन हुँदै आएको छ । सहज रूपले उडान र अवतरण हुन नसक्दा विमानका पाटपुर्जामा समेत असर पारेको गनासो आएको छ।
विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विमानस्थल विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको शाखा प्रमुख गौतमले बताए।
विमानस्थल विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी भएको छ । यसका लागि ८०० देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने भएको छ ।
विसं २०१५ मा उक्त विमानस्थल निर्माण गरिएकामा हवाई विभागले २०१८ साल मङ्सिर १२ गतेदेखि हवाई उडान थालेको थियो। नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका समयमा निकै चाप ब्योहोर्नु परेको यस विमानस्थलबाट हाल नौ वटा उडान काठमाडौंका लागि र एउटा उडान पोखराका लागि गरिँदै आएको छ।
विमानस्थलले दैनिक ७५० देखि ८०० लाई सेवा दिँदै आएको छ । रासस