रूपन्देहीमा पछिल्ला वर्षमा सुनचाँदी पसल चोरी हुने क्रम बढेको छ। व्यस्त बजारभित्रै रहेका पसलहरुमा चोरी हुने क्रम बढे पनि त्यसमा संलग्नहरु भने पक्राउ पर्दैनन्। यसले व्यवसायीहरु सशंकित हुँदै गएका छन्।
शुक्रबार बिहान पौने ६ बजे भैरहवास्थित बैंकरोडमा रहेको विके ज्वेलर्समा चोरी भयो। समूहमा आएकामध्ये २ जना युवाहरू पसलभित्र पसेर त्यहाँ रहेका सुनचाँदी लगेको पसलमा रहेको सिसिटिभी क्यामेराले देखाएको छ।
सिसीटिभी क्यामेराको फुटेज अनुसार बिहान ५ बजेर ४३ मिनेटमा पसलको सटर र च्यानल गेटमा लगाईएको तालाचावी फोरेर भित्र पसेका उनीहरू ५ बजेर ५६ मिनेटमा त्यहाँबाट सुनचाँदी चोरेर निस्किएको देखिन्छ।
सिसी क्यामेरामा एउटा कालो र सेतो कपडा लगाएका दुई युवाको अनुहार प्रष्ट देखिन्छ। घटना लगत्तै त्यहाँ पुगेको प्रहरीले सिसी क्यामेराको फुटेज हेरेर अनुसन्धान गरिरहेको छ। पसलका सञ्चालक प्रेमकुमार सेन्चुरीका अनुसार ७ लाख बराबरको पसलमा रहेको सुनचाँदी चोरी भएको छ।
रूपन्देहीमा चोरीको घटना यो पहिलो भने होइन। जिल्लामा बर्सेनि पसलहरु चोरी हुँदै आएका छन्, तर घटनामा संलग्न भने पक्राउ पर्दैनन्। यसले व्यवसायीलाई सशंकित बनाएको छ ।
रूपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबि विश्वकर्मा मुख्य बजारमा विहानै यस्तो घटना हुनु दुःखद भएको भन्दै प्रहरी प्रशासनले यसक्षेत्र चासो नदिएको बताए। उनले अहिलेसम्म जति पनि चोरीका घटना भए पनि चोरीका सामान फेला परे भनेर व्यवसायीले फिर्ता नपाएको भन्दै प्रहरी प्रशासनले चोरीका घटनामाथी गम्भीर अनुसन्धान नगरेको गुनासो गरे।
यसअघि २०६८ सालमा भैरहवामै रहेको शुभलक्ष्मी ज्वेलर्सबाट १ करोड ५० लाख बराबरको सुनचाँदी चोरी भएको थियो। यस्तै २०७० सालमा भलवारीमा रहेको पर्वत महेश्वर सुनचाँदी पसलबाट ६० लाख रुपैयाँ बराबरको, २०७४ मा बुटवलमा रहेको रेसुंगा सुनचाँदी पसलबाट एक करोड बराबरको सुनचाँदी चोरी भएको थियो ।
विगतका घटनालाई हेर्ने हो भने पनि जिल्लामा बर्सेनि करोडौं रुपैयाँ बराबरको सुनचाँदी चोरी हुँदै आएको छ। त्यो सँगै व्यक्तिका घरबाट समेत गरगहना चोरी हुने क्रम बढी छ । तर, घटनामा संलग्न को थिए भन्ने प्रहरीले अझैसम्म सुइको समेत पाउँदैन।
गएका वर्षहरुमा भएका यी घटनाबारे प्रहरीले अहिले अहिले अनुसन्धान गर्नै छाडिसकेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक धर्मराज भट्टराईले खुल्ला सिमानाका भएका कारण भारतबाट आएका चोरहरुले चोरी गर्ने र उतै भाग्ने गर्दा पक्राउ गर्न नसकिएको बताउँछन्।
उनले भारतीय सीमा क्षेत्रबाट आउन चोरहरुको पहिचान भए पनि भारतसम्म गएर उनीहरुलाई नियन्त्रण गर्ने ल्याउन सक्ने अवस्था नभएको कारण पक्राउ पर्न नसकेको भन्दै सीमाक्षेत्रमा भारतीय क्षेत्रका चोरहरूको चुनौती रहेको बताए।
बारम्बार चोरी हुँदा समेत त्यसमा संलग्न पक्राउ नहुँदा व्यवसायीमा निराशा छाएको छ। जिल्लाका मुख्य केन्द्रविन्दु मानिने भैरहवा, बुटवलका शहरहरुमा भएका यस्ता घटनालाई प्रहरीले गम्भीर रूपमा लिएर अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने व्यवसायीहरु बताउँछन्।