हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव नचिनिने अवस्थामा संकलन गरिएको थियो।
सुकेटार विमानस्थलबाट बिहीबार बिहान काठमाडौं ल्याइएका शव त्रिवि शिक्षण अस्पतालको ‘फरेन्सिक ल्याब’ मा परीक्षण गरी सनाखत गरिएको हो।
यसको निम्ति फरेन्सिक विभाग प्रमुख डा. रिजन श्रेष्ठ नेतृत्वको टोलीले सबै शव परीक्षण गरेको थियो। फरेन्सिक, डेन्टल र पोस्टमार्टम विभागका १७ जना चिकित्सक यसमा संलग्न थिए।
यस्तो प्रकारको दुर्घटनामा धेरैजसो शव आँखाले हेरेर मात्र चिन्न नसकिने अवस्थामा ल्याइने गरेको परीक्षणमा संलग्न डेन्टल विभागका डा. सुभित मास्के बताउँछन्।
उनका अनुसार त्यस्ता शव पहिचान गर्न शव र शवसँग भएका विवरणलाई दुर्घटनामा परेका व्यक्तिको विवरणसँग मिलाएर हेरिन्छ।
यो विधिमा 'एन्टिमोर्टम' विवरण (मृत्यु हुनुअघिको विस्तृत विवरण) परिवारजन तथा आफन्तहरूसँग लिइन्छ भने शव परीक्षण तथा शवसँगै संकलन गरिएका वस्तु जाँच गरी 'पोस्टमोर्टम' विवरण (मृत्युपछिको विवरण) संकलन गरिन्छ।
यी दुवै विधि (एन्टिमोर्टम र पोस्टमोर्टम) बाट लिइएकामध्ये आपसमा मेल खाने विवरणहरू मिलाएर शव सनाखत वा पहिचान गरिन्छ।
यो विधिअन्तर्गत शवलाई ‘फरेन्सिक ल्याब’ मा लगेर विस्तृत जाँच गरिन्छ। यसमा शरीरको विस्तृत बनावटका साथै दाँत पनि परीक्षण गरिन्छ। औंठाछापको रेकर्ड र डिएनए नमूना संकलन गरिन्छ। त्यस्तै, शरीरमा भएका कपडा, सामान तथा गरगहनाको पनि विवरण लिइन्छ।
यस्तो घटनामा मृतकहरूको विवरण उनको परिवारजनसँग लिइन्छ।
यसमा उनीहरूको हुलिया, शरीरमा भएका विशेष चिह्न, बनोट, कोठी, केही दाग भए/नभएको, पहिले कुनै मेडिकल अपरेसन गरिएको/नगरिएको, शरीरका हाड भाँचिएका वा स्टेन्ट राखिएको थियो/थिएन, दाँतमा पनि कुनै उपचार गरिएको/नगरिएको र त्यसको बनोट लगायत पर्छन्।
यी विवरणसँगै उनीहरूले बोकेका तथा लगाएका वस्तुको पनि विवरण लिइन्छ।
डिएनए परीक्षण गर्दा सबभन्दा पहिला शवको नमूना संकलन गरिन्छ। पहिले रगत परीक्षणबाट डिएनए पत्ता लगाइन्थ्यो। अचेल थुक, कपाल, हड्डी, दाँतबाट पनि डिएनए नमूना संकलन गर्न सकिन्छ।
यसरी शवको डिएनए नमूना संकलन गरेपछि त्यसलाई मृत्युअगाडिको नमूना वा आफन्तको डिएनएसँग मिलाएर हेरिन्छ।
नेपालमा शिक्षण अस्पताल, केन्द्रीय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीसँग मात्र फरेन्सिक ल्याब छ।
बुधबारको घटनामा शव पहिचान गर्न फरेन्सिक विभागका १४ जना चिकित्सक, डेन्टल विभागका ३ जना दन्तचिकित्सक, विधि विज्ञान प्रयोगशालाबाट डिएनए नमूना संकलन गर्ने र औंठाछापको नमूना संकलन गर्ने टिमले काम गरेका थिए।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१०, सिस्नेभीर दाह्रेढुंगामा बुधबार भएको दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको मृत्यु भएको थियो।