महाशिवरात्रीका दिन गाँजा सेवन गर्नू परापूर्वकालदेखि नै चल्दै आएको चलन हो।
पशुपतिनाथ मन्दिरमा शिवरात्री मनाउन भारतबाट आउनेदेखि यहीँका बाबा र जोगीले भगवान शिवको प्रसादका रूपमा गाँजा सेवन गर्दै आएका छन्। शिवरात्रीकै मौका पारेर पशुपति परिसरमा गाँजा सेवन गर्न जानेहरू उत्तिकै छन्। यो वर्ष पनि महाशिवरात्रीका अवसरमा पाशुपत क्षेत्रमा देश-विदेशबाट विभिन्न बाबा र जोगीहरू आउने क्रम सुरू भइसकेको छ। तर उनीहरूको संख्या पोहोर-परार जस्तो देखिएको छैन।
पशुपति क्षेत्रमा गाँजा प्रतिबन्ध गरिएका कारण यसपटक आउनेहरूको संख्या कम भएको भारतबाट आएका एक बाबाले बताए।
गत वर्षदेखि पशुपति विकास कोषले मन्दिर परिसर लगायत वरपर क्षेत्रमा गाँजा सेवन र व्यापारमा रोक लगाएको छ।
विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई ‘लागुऔषधबाट मुक्त राख्न’ यस्तो निर्णय गरिएको कोषको भनाइ छ।
केही वर्षअघिसम्म शिवरात्री मेला भर्न आउने जोगी र बाबाहरूलाई राज्यले नै गाँजा बाँड्ने चलन थियो। यो चलन २००७ साल अघिबाटै सुरू भएको हो। मेला भर्न आउने जोगी, बाबा तथा अन्य भक्तजनलाई वीरगञ्जमा धूमधाम स्वागत–सत्कार गरिन्थ्यो। बाटो–बाटोमा उनीहरूलाई आराम गर्न पन्डाल लगाइन्थ्यो। खाने, बस्ने लगायत यात्राको सम्पूर्ण प्रबन्ध राज्यले नै मिलाउँथ्यो। यसैमा गाँजा वितरण पनि पर्थ्यो। यसरी उनीहरूलाई वितरण गरिएको गाँजा उनीहरूले सेवन र बेचबिखन पनि गर्दै आएका थिए। शिवरात्रीमा जोगी र बाबाहरूलाई पैसा दिएर गाँजा किन्नु सामान्य जस्तै थियो। तर यो वर्ष भने यस्तो देखिएको छैन।
शनिबार बिहानै पशुपतिका जोगी र बाबाहरू भेट्दा उनीहरूले केही असन्तुष्टि जताइरहेका थिए। तिनैमध्येका एक बाबाले भने, 'गाँजा खान दिँदैन। त्यसैले यो वर्ष धेरै आएका छैनन्। पहिला पहिला त बेच्न पनि दिन्थ्यो। कहाँ-कहाँदेखि बोकेर आउँथ्यौं। यहाँ बेच्थ्यौं। अलिअलि कमाइ पनि हुन्थ्यो। अब यो सबै बन्द भएको छ।'
गाँजा सेवन र विक्रीवितरणमा रोक भएकै कारण शिवरात्री अवसरमा आउने बाबा र जोगी कम हुँदै गएका ती बाबाको भनाइ थियो।
'हामी बाबालाई पनि गाँजा खान नदिँदा निको लागेको छैन। हामी त साधू हौं, शिवजी प्रसाद खाएरै डुलिरहेका,' उनले हाँस्दै भने, 'कमसेकम शिवरात्रीमा त यो बन्देज हुन भएन।'