शुक्रबार दिउँसो ललितपुरको युएन पार्क नजिकैको एक घरमा असिम घिमिरे आफ्नी फुपूकी छोरीसँग खेल्दै थिए।
केही बेरअघि बाबु अर्जुन घिमिरेको चितामा आगो झोसेर आएका सात वर्षीय असिमलाई आफ्ना बाबा अब कहिल्यै फर्किँदैनन् भन्ने थाहा छैन।
‘घरि बाबा मर्नुभएको हो भन्छन्, घरि बाबा कहिले आउनुहुन्छ भन्छन्,’ असिमका एक आफन्तले सेतोपाटीसँग भने, ‘पर्यटन मन्त्रीको शव लैजान लाग्दा मन्त्रीसँगै हाम्रो बाबा पनि जानुहुन्छ? भनेर सोधेका थिए। कहिले बुझेजस्तो गर्छन्, कहिले नबुझे जस्तो गर्छन्।’
अर्जुन बितेको चोट भने आमा मिठु घिमिरेलाई परेको छ।
रामेछापको घरमा रहेकी मिठुलाई काठमाडौं ल्याउँदा आफन्तले खुट्टाका उपचार गर्न भनेर ल्याएका रहेछन्।
‘गाडीमा समाचार आइरहेको थियो। हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्रीको निधन भएको भन्यो। मैले सोचेँ मेरो छोरा पनि मन्त्रीसँगै हिँड्छ, केही भयो की,’ उनले सेतोपाटीसँग भनिन्, ‘एकछिन पछि त अर्जुनको पनि निधन भएको समाचार सुनेँ, खङ्ग्रङ्गै भएँ। मलाई झुक्याएर ल्याएका रहेछन्। यस्तै भएको भन्ने थाहा पाएको भए मैले उतै प्राण फाल्दिन्थेँ।’
छोरासँग १५ गते बिहानमात्रै कुरा भएको मिठुले बताइन्।
‘बिहान छोराले कुरा गर्यो। मलाई सञ्चो छैन, भेट्न आइज भनेँ। छोराले मन्त्रीसँगै हिँड्नुपर्छ, तत्काल आउन मिल्दैन भन्यो,’ उनले भनिन्।
‘मन्त्रीले मलाई छोड्दै छोडनुहुन्न भन्थ्यो, सधैंका लागि मन्त्रीसँगै गयो।’