धार्मिक रूपमा गाँजालाई शिवजीको प्रसाद मानिन्छ। शिवरात्रीमा बाबा तथा जोगीहरूले गाँजा सेवन गर्दै आएका छन्।
शिवरात्री अवसरमा पहिले-पहिले सरकारीस्तरबाटै जोगी र बाबालाई गाँजा दिइन्थ्यो। पोहोरदेखि पशुपति परिसरमा गाँजा निषेध छ। यो बन्देजमा धेरै बाबा-जोगीले असन्तुष्टि जनाएका छन्।
एकातिर धार्मिक दृष्टिकोणले गाँजा महत्वपूर्ण मानिन्छ भने अर्कोतिर यसका औषधीय गुणले। विश्वका धेरै देशमा अहिले औषधीजन्य गाँजाले वैधानिकता पाएको छ। केहीमा मनोरञ्जननिम्ति पनि खुला छ। ती देशले गाँजा खेती र बिक्रीवितरण गरी आय बढाइरहेका छन्।
गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय धेरै अनुसन्धान भएका छन्। खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ।
बिरामी लठ्याउन वा पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुँदै आएको थियो। शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।
वैज्ञानिक अनुसन्धानले पुष्टि गरेका तथ्य नेपालको आयुर्वेद परम्परामा नौला होइनन्। निद्रा नलाग्ने, पेट दुख्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको सिंहदरबार वैद्यखानाको रेकर्डमा देखिन्छ।