पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरण पोखराले सोलो उडान बन्द गरेको छ।
विदेशी पाइलटले तोकिएको क्षेत्रभन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै कार्यालयले मंगलबार सूचना प्रकाशन गरी उडान बन्द गरेको हो। पछिल्लो तीन दिनमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
अर्को सूचना जारी नहुँदासम्म उडान बन्द गरिए पोखराका प्रमुख भोला प्रसाद गुरागाईंले जानकारी दिए।
‘मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ को दफा १७ को व्यवस्था अनुसार प्याराग्लाइडिङ कम्पनीले सञ्चालन प्रमाणपत्र लिन्छन्,’ उनले भने ‘पछिल्लो दस दिनमा २ सयभन्दा बढी सोलो पाइलटले अनुमति लिएका छन्, ती सबैको अनुमति रद्द गरेका छौं।’
विदेशी नागरिकले गैरव्यवसायिक उडान भर्न चाहेमा ५ हजार ६ रुपैयाँ शुल्क बुझाउनुपर्छ। उनीहरूले १५ दिनलाई उडान अनुमति पाउँछन्।
उड्न चाहने विदेशीले नेपालकै कम्पनीमार्फत् आवेदन दिनुपर्छ। कम्पनीमार्फत् उडान अनुमति लिएका सोलो पाइलटले तोकिएको क्षेत्र र सर्त बमोजिम उडान नगरेको उनले बताए।
उनले तोकिएको स्थानमा टेक अफ र ल्यान्डिङ नगर्दा स्वयं पाइलटलाई मात्र नभई हवाइजहाज र हेलिकप्टरसँग पनि ठोक्किन सक्ने सम्भावना रहेकाले रोक लगाइएको बताए।
उनले व्युस्काइ प्याराग्लाइडिङ र फन्टएयर प्याराग्लाइडिङको सञ्चालन अनुमति निलम्बन गरिएको जनाकारी दिए। दुबै कम्पनीकाबाट उडान भरेका पाइलटहरू दुर्घटनामा परेपछि छानबिनका लागि निलम्बन गरेको बताए।
त्यसैगरी, पोखरा महानगरपालिकाले प्याराग्लाइडिङ कम्पनीहरूले पोखरा महानगरपालिकालाई कर नतिरेको भन्दै बुधबारबाट सम्पूर्ण उडानमा रोक लगाउने तयारी गरेको छ।
प्याराग्लाइडिङ कम्पनीले भने आफूहरू दोहोरो करको मारमा परेको बताउँदै महानगरको कर नतिर्ने बताउँदै आएका छन् ।
प्याराग्लाडिङ दुर्घटनामा परी आइतबार रोमानियाका पाइलट इबि चिसजिर र मंगलबार रसिनय पाइलट डिमिटभिल स्टेप्यानिसिनको मृत्यु भएको थियो ।