जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ मा रहेको ‘बड्कुले स्वास्थ्य चौकी’को औषधिलगायतका सामग्री निजी घरका दुइटा कोठा भाडामा लिएर थन्काइएको छ।
स्वास्थ्य चौकीमा बिरामी आएमा उनीहरूलाई निजी घरमा भाडामा लिइएको एउटा कोठामा जाँच गरिन्छ, अर्को कोठाबाट भएको औषधि ल्याएर दिइन्छ।
स्वास्थ्य चौकीको भवन निर्माणमा ढिलाई हुँदा यो समस्या आएको हो। स्वास्थ्य चौकीको भवन निर्माणका लागि २०६९ वैशाख ७ गते ठेक्का सम्झौता भएको थियो। हालसम्म पनि भवन निर्माण हुन सकेको छैन। निर्माणको जिम्मा पाएको फ्रेन्स कन्स्ट्रक्सन प्रालि काठमाडौंले ७ वर्ष बितिसक्दा समेत भवन बनाएको छैन।
भवन नहुँदा संस्थाबाट दिइने सुत्केरी सेवा प्रभावकारी हुन नसकेको स्वास्थ्य चौकीका ईन्चार्ज अनिलकुमार शाहले बताए।
ओपिडी सेवा पनि भवन अभावकै कारण व्यवस्थित हुन नसकेको उनले बताए।
‘भवन नहुँदा स्थानीयको घरमा कोठा भाडामा लिएर हामीले काम गरिरहेका छौं,’ ईञ्चार्ज शाहले भने, ‘बर्थिङ सेन्टर, ओपिडी जस्ता सेवा कामचलाउ मात्र छन्। कतिपय त्यही स्वास्थ्य संस्थामा समाधान हुनेखालका समस्या भएका बिरामीहरूलाई समेत भवन नहुँदा तत्काल रेफर गर्नुपर्ने अवस्था छ।’
‘लगभग ८ वर्ष भयो भवन बन्न लागेको। काम रोकिएकै ३ वर्षभन्दा बढी भैसक्यो,’ सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर शाहीले भने, ‘उपभोक्ता समितिमार्फत् भवनको आधा काम भएको हो, कामदारले पनि पैसा पाएका छैनन्।’
भवन निर्माणका लागि स्थानीय तहबाट ताकेता हुँदा समेत जिम्मा पाएको कम्पनीले काम नगरिदिएको उनले बताए।
जुनीचाँदेको बड्कुले स्वास्थ्यचौकीसहित एकै सँगसँगै निर्माणका लागि सम्झौता भएका जिल्लाका चारवटा त्यस्ता स्वास्थ्य संस्थाका भवनहरू निर्माण पाएका कम्पनीले समयमै सम्पन्न गर्न सकेका छैनन्। तिनीहरूको सम्झौता मिति समेत सकिसकेको छ।
जिल्लामा एकै समयमा सुरू भएका कुशे गाउँपालिकाको घरंगा स्वास्थ्य चौकी, नलगाड नगरपालिकाको दल्ली स्वास्थ्य चौकी, जुनीचाँदे गाउँपालिकाको बड्कुले स्वास्थ्य चौकी र भेरी नगरपालिकामा रहेको जिल्ला अस्पतालका निर्माणाधीन भवनहरू अधुरै छन्।
संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालय सुर्खेतका अनुसार घरंगा स्वास्थ्य चौकीको भवन निर्माणका लागि २०७१ भदौ ३० गते ठेक्का सम्झौता भएको थियो। यसको जिम्मा लोहनी एण्ड ब्रोदर्स/एमपी कन्स्ट्रक्सन जेभी बाँकेले पाएको थियो।
बड्कुले स्वास्थ्य चौकी भवन निर्माणको लागि २०६९ वैशाख ७ गते फ्रेन्स कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग सम्झौता भएको थियो। फ्रेन्स कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग नै खलंगामा रहेको जिल्ला अस्पतालको भवन निर्माणका लागि २०६८ चैत २६ गते ठेक्का सम्झौता भएको थियो।
नलगाड नगरपालिकामा रहेको दल्ली स्वास्थ्य चौकीको भवन निर्माणका लागि २०६८ असार २२ गते सम्झौता भएको हो। उक्त जिम्मा जिएम कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो।
सोही समयमा ठेक्का सम्झौता भएको छेडागाड नगरपालिकामा रहेको दशेरा स्वास्थ्य चौकीको भवन भने निर्माण सम्पन्न हुने क्रममा रहेको संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतले जनाएको छ।
उक्त भवन निर्माणका लागि २०६८ चैत २० गते डाँफे विशाल जेभीसँग ठेक्का सम्झौता भएको हो। यही आर्थिक वर्षमा भवन निर्माणको काम सकिने जानकारी निर्माणको जिम्मा पाएको कम्पनीले दिएको कार्यालयले जनाएको छ।
एकको सम्झौता तोडियो, दुइटा प्रक्रियामा
निर्माण हुन नसकेका स्वास्थ्य संस्थाका भवनहरूमध्ये एउटाको सम्झौता तोडिएको छ भने दुइटाको ठेक्का सम्झौता तोड्ने प्रक्रिया चलिरहेको संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालय सुर्खेतले जानकारी दिएको छ।
कार्यालयका अनुसार नलगाड नगरपालिकामा रहेको दल्ली स्वास्थ्य चौकीको भवनको ठेक्का सम्झौता तोडिसकिएको छ ।
जुनीचाँदे गाउँपालिकामा पर्ने बड्कुले स्वास्थ्य चौकी र भेरी नगरपालिकामा पर्ने जिल्ला अस्पतालको भवनको ठेक्का सम्झौता तोड्न १५ दिने सूचना निकालिसकिएको र ७ दिने सूचना निकाल्ने प्रक्रिया भैरहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कुशे गाउँपालिकामा रहेको घरंगा स्वास्थ्यचौकीको भवन निर्माणको काम भने १५ दिने सूचना जारी गरेपछि सुचारु भएको छ।
सम्झौता तोडिएका भवनहरू निर्माणको लागि नयाँ ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढ्ने कार्यालयले जनाएको छ।