सुर्खेतको वीरेन्द्रनगर-१० बेलघारीमा करिब दुई सय घरधुरीको मुस्लिम बस्ती छ।
यो बस्तीमा थुप्रै यूवा छन्।
तीमध्ये इदमा बिबीका दुई छोरा र एक छोरी एक बुहारी पनि छन्।
उनकी छोरीको पढाइ निकै राम्रो थियो। छोरीको चाहना थियो- धेरै पढ्छु र राम्रो जागिर खान्छु।
उनी पढाइ पूरा गरिन् तर जागिर खान भने पाइनन्। किनकी उनीसँग नागरिकता छैन।
बिबीका जेठा छोरालाई गाडी चलाउन आउँछ। गाडी चलाउन जाने पनि उनले लाइसेन्स निकाल्न पाएका छैनन्। उनीसँग गाडी चलाउनबाहेक अरू कुराको सीप पनि छ। सीप भएर के गर्नु उनले अहिलेसम्म कुनै निकायमा जागिर पाएका छैनन्। किनकी उनीसँग नागरिकता छैन।
उनकी बुहारीले आफ्नो व्यवसाय गर्न खोजेकी थिइन्। स्थानीय सहकारीले १ लाख ऋण दिने भयो। उनले सहकारीमा निवेदन लेखिन् तर पाइनन्। किनकी उनीसँग नागरिकता छैन।
कान्छा छोराको सानैदेखि सपना थियो- नेपाली सेनामा भर्ती हुने। देशको रक्षा र सेवा गर्ने।
सेनामा भर्ती भएर देशको सेवा गर्न उनको सपना तुहिएलाजस्तो छ। किनकी उनीसँग नागरिकता छैन।
सन्तानहरूसँग नभए पनि इदमासँग भने नागरिकता छ। तर नागरिकता भएर के गर्नु राज्यले उनका सन्तानहरूलाई नागरिकता दिन उनका पतिको नेपाली नागरिकता खोज्छ। जुन उनीसँग छैन।
आमाका सन्तानलाई यो देशले नागरिक मान्न इन्कार गर्दोरहेछ भन्ने थाहा पाएर उनी अचेल हैरान छन्।
इदमाको मनमा एउटा प्रश्नले डेरा जमाएको छ- किन मेरो नागरिकताबाट मेरा सन्तानको नागरिकता नबन्ने?
तर चित्तबुझ्दो जवाफ उनले पाएकी छैनन्।
उनी बेलघारीमै जन्मिन्। त्यहीँ हुर्किन्। १७ वर्ष नपुग्दैआमाबाले निकाह (विवाह) गरिदिए।
पतिको घरमा श्रीमान्बाहेक कोही थिएनन्। बेलघारीमै डेरा थियो।
उनका श्रीमान मुस्तकिम शेकको जन्म भारतमा भएको रहेछ। त्यसबाहेक मुस्तकिमलाई केही थाहा छैन। जन्मथलोको झझल्को मात्रै छ! त्योठाउँको नामधरि थाहा छैन। कहिलै फर्केर गएका पनि छैनन्। उनी सानै उमेरमा बेलाघारी आए। यतै हुर्के। दुखजिलो गरेर बेलघारीलाई नै कर्मथलो बनाए।
बिहे गरेपछि उनको घर यहीँ बस्यो। उनले आफ्नो देश पनि नेपाललाई नै माने।
‘उनी यहाँ ज्याला मजदुरी गरेर बाँचिरहेका रैछन्। म १६/१७ वर्षको हुँदा नै मेरा माइतीले हाम्रो निकाह गराइदिए,’ इदमाले भनिन्,‘श्रीमानलाई भारतमा आफ्नो थलो थाहा छैन, अनि हामी भारत जाने कुरै भएन, यहीँ बस्यौं।’
धेरै वर्ष विते। बच्चाबच्ची जन्मिए। हुर्किए। उनीहरूले यही माटोलाई आफ्नो ठाने। उनीहरूका लागि नेपाल ‘मामाघर’ कहिल्यै भएन। घरै भयो।
जब इदमा आफ्ना सन्तानको नागरिकता लिन गइन्, राज्यले तेरो सन्तान चिन्दिनँ भन्यो।
सन्तानको नागरिकताका लागि उनी राज्यका अड्डा धाउँदाधाउँदा थाकिन्। तर उनलाई न नागरिकता मिल्छ, न अड्डाका हाकीमले दिने जवाफ चित्त बुझ्छ।
‘छोराछोरीको जन्मदर्ता लिएर चार पटक नगरपालिकामा गएँ, कम्तीमा पनि ८ पटक सिडियो कार्यालय गएँ’ उनले भनिन्, ‘छोराछोरीको जन्मदर्ता र आफ्नो नागरिकता लिएर गएकी थिएँ। कर्मचारीले काम छैन फाल्दिनुस् भन्छन्।’
अड्डाका कर्मचारीले भन्ने धेरै कुरा त उनले बुझ्दिनन्।
‘तिम्रा पति विदेशी रैछन्, त्यसैले बन्दैन भन्छन्,’ उनले भनिन्, ‘मेरो पति पो भारतको हो रे। तर म त यहीँ जन्मेको हो। मेरा छोराछोरी यहीँ मैले पाएँ, हुर्काएँ। उनीहरूलाई तिमीहरूको देश यही हो भनेर चिनाएँ। अहिले मेरा छोराछोरी कसरी विदेशी भए?’
अड्डाका कर्मचारीले भन्दा उनको दैलोमा भोट माग्न आएका नेताहरूले विल्कुल फरक कुरा गरेका थिए। उनीहरूले उनका छोराछोरीलाई उनकै नामबाट नागरिकता दिलाइ दिने वाचा गरेर भोट फुत्काए। अब त उनीहरूले चिन्दा पनि चिन्दैनन्।
‘भोट माग्न दैलोमा आउँदा तपाईंका छोराछोरीको नागरिकता बनाइदिन्छु भन्नेहरू जितेर गएपछि चिन्दैनन्,’ इदमाले भनिन् ‘हाम्रो सरकार आएपछि आमाको नामबाट नागरिकता दिने व्यवस्था मिलाउछौं भन्नेहरूलाई त हामीले भोट दिएका हौं। खोइ! त्यो व्यवस्था?’
छोराहरूले उल्टै आमासँग गुनासो गर्छन्। झर्कोफर्को गर्छन्। अब त आफ्नो जमिन पनि पराया लाग्छ, उनलाई।
‘मेरो माग यही हो कि मलाई की भारत लखेट्नुस् की त छोराछोरीलाई नागरिकता दिनुस्,’ उनले भनिन्, ‘छोराहरू आर्मीमा भर्ती हुन चाहे भएनन्, पढेलेखेकी छोरी ठूलो पदमा जान सकिनन्, अरूभन्दा त छोराले जानेको सीप गाडी चलाउन समेत पाएन। उनीहरूले अब मैलाई गुनासो गर्छ।’
बेलघारी बस्तीमा इदमा मात्र होइन आफ्ना सन्तानलाई नागरिकता दिलाउन नसकेका अरू आमा पनि छन्। इदमा छोराछोरीले झैं नागरिकता नभएकै कारण आफ्नो सीप सदुपयोग गर्न नपाएका अरू यूवाहरू पनि छन्।
आमाको नामबाट नागरिकता दिने संविधानको प्रावधान कार्यान्वयन नभएकाले वस्तीका यूवाहरू नागरिकताविहिन हुनु परेको स्थानीय मैमुदीनले बताए।
‘यहाँ नागरिकता नभएकै कारण कतिपय यूवाहरू अवसरबाट बञ्चित हुनुपरेको छ’ उनले भने, ‘नागरिकताविहिन त नेपालमा धेरै होलान्, चाँडै आमाको नामबाट नागरिकता दिने व्यवस्था ल्याए हुन्थ्यो।’