बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सुरक्षित मातृत्व अभियान सुरू गरेको छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुटवल ११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गर्दै सुरू भएको यो कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ।
पति तथा परिवारसँगै काममा खटिने श्रमिक महिलालाई स्वास्थ्य सचेतना जगाउने, स्वास्थ्य संस्थामा नियमित चेकजाँच गर्नेदेखि सुत्केरी भएकालाई पौष्टिक आहार वितरण गर्दै यस्तो अभियान सुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाको जनस्वास्थ्य महाशाखाले यो अभियानको संयोजन गरिरहेको छ।
‘उप–प्रमुख गर्भवती तथा सुत्केरी भेट कार्यक्रम’ शिर्षकमा सुरू भएको यो अभियानलाई उपमहानगरपालिका मातहतका सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत् १९ वटै वडामा विस्तार गरिने छ।
बिहीबार बुटवल ११ बुद्धनगरकी सुत्केरी अवस्थाकी भएकी लक्ष्मी कुँवर र मनिषा परियारलाई पौष्टिक आहार तथा क्याल्सियम, आइरन लगायतको सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यले संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए।
त्यस अवसरमा नगरप्रमुख सुवेदीले महिला तथा शिशुले पाउने आवश्यक मातृत्व सेवालाई सुरक्षित बनाउँदै समयमै स्तरीय स्वास्थ्य सेवा पाउने गरी नगरका सबै स्वास्थ्य केन्द्रहरूमा विशेष निर्देशन गरिएको दाबी गरे।
महिलाको सम्मानजनक मातृत्वका लागि समुदायले समेत पहल गर्न जरुरी रहेको बताउँदै प्रमुख सुवेदीले बच्चा जन्माउँदा हुने हेलचेक्य्राइँ र गलत उपचारबाट जोगाउने गरी अभियान चलाउन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए।
उपप्रमुख तथा लैंगिक हिंसा मुक्त नगर अभियानका संयोजक गुमादेवी आचार्यले कमजोर स्थिति भएकै कारण महिलालाई कसैले होच्याउने वा जोखिमपूर्ण व्यवहार गर्न नपाउनेगरी विशेष नियम समेत बनाउन लागिएको जानकारी दिइन्।
खासगरी श्रमिक महिलाहरूलाई आवश्यकता अनुसारको उचित हेरचाह तथा भेदभावरहित व्यवहार र सेवाका लागि अभियान चलाइएको उनको भनाइ छ।
सम्मानजनक मातृत्वका महत्वपूर्ण विषय स्वास्थ्य सेवा प्रदायकको तालिम पाठ्यक्रममा समावेश गर्नेबारेमा समेत विभिन्न तहमा छलफल चलिरहेको उपप्रमुख आचार्यले बताइन्।
शुभारम्भ गरिएकै दिन चारजना सुत्केरी महिला र ४८ जना गर्भवती महिलालाई पौष्टिक आहार र औषधि वितरण गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए।
नगरमा रहेका नगर स्वास्थ्य केन्द्र तथा अरु स्वास्थ्य संस्थाहरूमा सम्मानजनक प्रसूति सेवा प्रदान गर्नेगरी स्वास्थ्य सेवा प्रदायकलाई तालिम र परामर्श दिने अभियानसमेत सुरू गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।