पोखराको मुख्य प्रवेशद्वारका रूपमा रहेको विजयपुर खोलाको पुल जोखिम परेको छ।
स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाँचिने भएपछि पुल खतरामा परेको हो।
पुलको बेलैमा समस्या समाधान नगर्ने हो भने पुल क्रयास हुने सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले बताए। उनले पुलका बटम कड र क्रस मेम्बर करिब ८ ठाउँमा चर्किने र भाँचिने गरेको बताए।
पोखरा २६ र पोखरा १४ जोड्ने पुलबाट दैनिक पोखरामा ६ हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन्। पोखरा छिर्ने एक मात्र ठूलो पुल जोखिममा परे पछि त्यसलाई निर्माणका लागि कार्यालयले काम थालेको पोख्रेलले बताए।
उनले अहिले पुललाई तलबाट टेको दिएर चर्केको ठाउँमा वल्डिङ गर्ने काम भइरहेको बताए।
पुलमाथि शून्य भार बनाएर निर्माण गर्नु पर्ने उनको भनाइ छ। त्यसका लागि विजयपुर खोलामा पुल भन्दा केही माथिबाट कर्ल्भट बनाएर सवारी आवत जावत गर्ने व्यवस्था मिलाउन लागेको बताए। पुलमाथि शून्य भार बनाएर काम गर्दा करिब १ महिना समय लाग्ने उनको भनाइ थियो।
प्रारम्भिक अध्ययन अनुसार पुलको बटम कडको फलाम नै फेर्न पर्ने देखिएको छ। नेपालमा पछिल्लो समयमा स्टिल ब्रिज नै बन्दै आएको र यस्तो प्रकारको समस्या पहिलो पटक आएको उनले बताए।
अहिले पुलबाट ठूला भारबाहन भएका सवारीलाई आवत जावतमा रोक लगाएको उनले बताए। २०५९ लाखमा निर्माण सुरू गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो। पुलको लम्बाइ ७४ दशमलव २ मिटर रहेको छ।