अज्ञात समूहको आक्रमणबाट रुपन्देहीको देवदहमा एक जनाको मृत्यु भएको छ। आइतबार साझ मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गरेका देवदह ५ खैरेनीका अन्दाजी २० वर्षिय अनिश पुरीको मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि रहेका एक युवा भने सकुशल छन्। अहिले आठ बजे भएको उक्त घटनाको विस्तृत विवरण नआए पनि मोटरसाइकलको पछाडि रहेका युवाका अनुसार ८/१० जनाको समूहले देवदह ९ बुद्धनगरमा पुरीमाथि आक्रमण गरेका थिए।
यद्यपि प्रहरीले घटना कसरी घटेको भन्ने बारेमा केही बताएको छैन। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले घटनाको पुष्टी गर्दै थप अनुसन्धान गरिरहेको बताए।
‘म घटनास्थल आईपुगेको छु, एक युवाको अस्वभाविक मृत्यु भएको छ थप बिवरण संकलन भएपछि पुष्टी गरौंला,’ उनले सेतोपाटीसँग भने।
अहिले मृतक युवाको शवलाई देवदह मेडिकल कलेजमा राखिएको छ।
पुरीको छातिमा ढुङ्गाले लागेजस्तो चोट लागेको छ। दुई जनालाई प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।
मृतक गिरी ५० वर्षिय बुवा लोमस पुरी र ४० वर्षिय आमा ४० शोभा पुरीका एकमात्र छोरा हुन्।
छोराको हत्यापछि आमाबुबा दुबै जना बेहोस छन्। मुटुका रोगी दुबैजनाको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ।