दुई महिनाअघि स्पेनको मड्रिडमा ट्याक्सी चालकहरूले १६ दिन गाडी चलाएनन्। विभिन्न माग राखेर नाराबाजी गर्दै सडक अवरूद्ध पारे।
एक साताअघि इङ्ल्यान्डको बरमिंघममा पनि ट्याक्सी आन्दोलनले सवारी आवागमन रोकियो।
अफ्रिकाको जोहानसवर्गमा यही मंगलबार ट्याक्सी चालकहरूले बाटो छेकेर हड्ताल गरे।
ट्याक्सी चालकहरूको हड्ताल सबैजसो ठाउँमा यस्तै हुन्छ - बाटो छेकेर नाराबाजी गर्ने र सवारी आवागमन बन्द गराउने।
काठमाडौंमा पनि ट्याक्सी चालकहरू हड्तालमा छन्। तर, न उनीहरूले बाटो छेकेका छन्, न सेवा बन्द गरेका छन्, न त बीच सडकमा नाराबाजी। बरू पछाडि शिशामा आफ्ना माग टाँसेर विगतभन्दा शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्दै आएका छन्।
उनीहरूको माग छ:
'सरकार मेरो पेशा धरासयी नबनाइयोस्'
'मैले दिएको भोट मान्य हुने, मेरो पेसाको पीडाको आवाज नसुन्ने?'
'कर बढ्ने, ब्याज बढ्ने, ट्याक्सीको मूल्य बढ्ने, भाडा नबढ्ने?'
'हाम्रो पेसामा अडिने वातावरण बनाइदेऊ, खाडी जान बाध्य नबनाऊ'
'सरकार, हामीलाई चित्तबुझ्दो जवाफ देऊ'
'हामी बाटोमा होहल्ला गर्ने र काम रोक्ने पक्षमा छैनौं,' ट्याक्सी चालक विष्णु चौहानले भने, 'सरकारले हाम्रो शान्तिपूर्ण आन्दोलनको उपेक्षा नगरोस्।'
तीन सातादेखिको भद्र हड्ताल सरकारले बेवास्ता गरे पनि चालकहरू बेकाबू हुने पक्षमा छैनन्।
उनीहरू पहिलेजस्तो सडकमा ओर्लेर आवागमन प्रभावित पार्न चाहँदैनन्। त्यो उपाय जुनसुकै बेला अपनाउन सकिने भए पनि यसपालि चुपचाप आफ्नो कुरा राखेर दबाब दिन खोजेको चौहानले बताए।
यो शान्तिपूर्ण आन्दोलनका पछाडि ट्याक्सी चालकहरूको दुइटा मनसाय छ।
पहिलो त, उनीहरू सरकारलाई दबाब दिन मात्र होइन, प्रचलित भाडादरले काठमाडौंको महँगीमा चालकहरूलाई परिवार पाल्न गाह्रो छ भन्ने सर्वसाधारणलाई बुझाउन चाहन्छन्।
दोस्रो, बजारमा ट्याक्सी चालकहरूको छवि राम्रो छैन। उनीहरू खुलेआम यात्रु ठग्छन् भन्ने धेरैको विश्वास छ। यस्तोमा सेवा बन्द गर्दा वा आवागमन ठप्प पार्दा सरकारलाई दबाब पुगे पनि सर्वसाधारणको मन जित्न सकिन्न भन्ने उनीहरूले बुझेका छन्।
'यो आन्दोलनबाट हामी माग पूरा गराउन मात्र होइन, आफ्नो छवि पनि सुधार्न चाहन्छौं,' चौहानले भने, 'हामी मिटरमै हिँड्छौं भन्ने यात्रुलाई बुझाउन चाहन्छौं। भाडा बढाइदिनू भन्ने मात्र हाम्रो माग होइन, हाम्रो पेसालाई सम्मानजनक र व्यवस्थित बनाइदिनू भन्ने पनि उत्तिकै जोड हो।'
ट्याक्सी सेवा सुरू भएको कम्तिमा चालीस वर्ष नाघिसक्दा पनि वैज्ञानिक भाडा दर लागू हुन नसक्नुले आजको बेथिति निम्त्याएको उनको भनाइ छ।
ट्याक्सी भाडा दुई प्रक्रियामा निर्धारित हुन्छ। एउटा फ्ल्यागडाउन, अर्को दूरीअनुसार।
हामीकहाँ फ्ल्यागडाउन अर्थात् ट्याक्सी चढ्नेबित्तिकै उठ्ने भाडा १४ रूपैयाँ छ। त्यसपछि हरेक किलोमिटरको ३९ रूपैयाँ। विदेशतिर हेर्ने हो भने फ्ल्यागडाउन भाडा बढी हुन्छ। दूरीअनुसारको भाडा कम।
संसारका धेरै देशमा फ्ल्यागडाउन भाडा १ देखि ३ किलोमिटरको हुन्छ। जस्तै, दिल्लीको फ्ल्याग डाउन भाडा ५० भारू छ। यसले यात्रुलाई एक किलोमिटरसम्म पुर्याउँछ। त्यसपछि हरेक किलोमिटरमा १२ भारू उठ्दै जान्छ।
यसको मतलब, दिल्लीमा एक किलोमिटर मात्र यात्रा गरेको भाडा महँगो छ। त्यसपछि जति टाढा गयो, उपभोक्तालाई उति सस्तो पर्दै जान्छ। हामीकहाँ भने ठीक उल्टो हुन्छ। नजिक दुरीमा चालकलाई खासै लाभ हुन्न। टाढा जाँदा उपभोक्ताको ढाड सेकिन्छ।
'भाडा बढाउने मात्र होइन, वैज्ञानिक हुनुपर्यो भन्ने हाम्रो माग हो, जसले उपभोक्ता र चालक दुवैलाई फाइदा होस्,' चौहानले भने।
अर्का चालक ललितजंग माझी अहिलेको अवैज्ञानिक भाडादरले जीवन धान्न मुश्किल परेको बताउँछन्।
उनका अनुसार पछिल्लो समय घरभाडादेखि स्कुल फी मात्र होइन, बैंकको ब्याज, ट्याक्सीका पाटपूर्जा र सेवा-सर्भिसको शुल्कसमेत बढेको छ। ट्याक्सी भाडा पुरानै राख्दा चालकहरूको बिचल्ली भएको उनको भनाइ छ।
'हामीलाई ठग हुने र कहलिने मन छैन। सम्मानसाथ पेसा गर्न मन छ,' उनले भने, 'यसनिम्ति सरकारले कदम चाल्नुपर्छ। हाम्रो आन्दोलन शान्त छ। सरकारले शान्त भएरै सुनिदिनुपर्छ।'
ट्याक्सी ठगी नरोकिनुको अर्को कारण फितलो कानुनी व्यवस्था पनि हो।
ठगी गर्ने चालकलाई कारबाहीका नाममा दुई-चार हजार जरिवानाबाहेक अरू सजाय छैन। कुनै चालकले मिटर बिगारेर बढी भाडा असुल्छ भने साताभरिको कमाइको तुलनामा एकपटक कारबाहीमा पर्दाको जरिवाना नगन्य हुन्छ।
यो अवस्था रोक्न न यातायात विभागले कडा कारबाहीसहितको कानुन सिफारिस गर्न सकेको छ, न मन्त्रालयले निर्देशन दिन। ट्राफिक प्रहरीबाट आक्कलझुक्कल कारबाही अभियान चल्छ, त्यसै सेलाउँछ।
भाडादर समायोजन नभएका बेला यात्रुसँग मनलाग्दी असुल्दा पनि कारबाही नहुने भएपछि चालकहरू मिटरभन्दा बढी भाडा माग्नुलाई आफ्नो 'अधिकार' ठान्छन्।
यति मात्र होइन, कुन ठाउँ जाने, कहाँ नजाने उनीहरूको मुडमा भर पर्छ। यात्रुको सेवाभन्दा आफूलाई फाइदा हुने वा फर्कंदा सजिलै ट्रिप पाइने ठाउँ मात्र जान खोज्छन्। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने ट्याक्सीले यात्रुले भनेको ठाउँ जानैपर्छ, नजिक होस् वा टाढा।
ट्याक्सी सेवासँग जोडिएको यो आधारभूत सर्त नै अधिकांश चालकलाई थाहा नभएको चौहान स्वीकार गर्छन्।
'ट्याक्सी चलाउन अनुमति दिने बेला सार्वजनिक सवारी भनेको के हो, कसरी सुविधा दिनुपर्छ, के गैरकानुनी हो भन्ने जानकारी दिन जरूरी छ,' उनले भने, 'गाउँघरबाट आएका धेरै नयाँ साथीहरूलाई यी सब कुरा थाहा नहुन सक्छ। विदेशतिर पनि त प्रशिक्षण दिइन्छ नि।'
जारी शान्तिपूर्ण आन्दोलनको दोस्रो माग यही हो। सार्वजनिक सवारी चालकलाई अनुमति पत्र लिँदै उक्त सेवाबारे सबै जानकारी दिइयोस्, नियममा बाँधियोस् र त्यसपछि पनि गल्ती गर्नेलाई कडा कारबाही होस् भन्ने उनीहरू चाहन्छन्।
'यति गरिएन भने ठगी कहिल्यै रोकिँदैन,' चालकद्वय माझी र चौहान एकै स्वरमा भन्छन्, 'यी सबै बेथिति देखेरै हामीले भाडा समायोजनबाहेक पेसागत शुद्धीकरणका माग पनि राखेका हौं।'
शान्तिपूर्ण आन्दोलनमा एउटा कुरा भने उनीहरूलाई खट्केको छ। उनीहरू आफ्नो माग लिएर यातायात विभाग, ट्राफिक महाशाखादेखि गृह मन्त्रालयसम्म धाइसकेका छन्। कुनै पनि निकायले खासै वास्ता नगरेको उनीहरू बताउँछन्।
विगतमा जस्तै सवारी ठप्प पारेर सडकमा नाराबाजी गरेको भए अहिलेसम्म सरकारले वार्तामा बोलाएर केही न केही समाधान खोजिसक्थ्यो भन्ने उनीहरूले बुझेका छन्।
'हामी सबैतिर गइसक्यौं। तर कतै पनि राम्ररी बसेर सम्बन्धित निकायका प्रतिनिधि र हामीबीच वार्ता भएको छैन,' चौहानले भने, 'भेट हुँदा हाम्रो कुरा राम्ररी सुन्दै नसुनी भाडा बढाइदिन्छौं भन्छन्, तर हामी भाडा वृद्धि मात्र होइन, पेसागत छवि सुधारिने गरी कानुनी कारबाही लगायत प्याकेजमै सहमति होस् भन्ने चाहन्छौं।'
भाडा बढाइदिनु मात्र समस्या समाधान हुँदा पनि होइन। ठग्ने नियत भएकाहरूले भाडा बढेपछि पनि ठगी जारी राख्नेछन्। पाँच सय लिनुपर्नेमा आठ सय लिने बानी परेकाहरू त्यसपछि हजार रूपैयाँ माग्न थाल्छ्न्। यो चक्र चलिरहन्छ।
वैज्ञानिक भाडादरका साथै नियमकानुन र ट्याक्सी सेवाबारे जानकारी दिने हो भने बल्ल यो पेसा व्यवस्थित र सम्मानजनक हुन सक्ने उनीहरूको भनाइ छ।
यसको निम्ति सरकारले ट्याक्सी चालकहरूको भद्र आन्दोलनको मान राख्दै वार्ता गरेर समाधान खोज्नुपर्छ। शान्तिपूर्ण आन्दोलनको उपेक्षा गर्ने हो भने उनीहरू फेरि सडक तताउन बाध्य हुनेछन्। यसले शान्तिपूर्ण रूपमा असन्तुष्टि राख्दा पनि सुनुवाइ हुन्छ भन्ने विश्वास मरेर जानेछ।
जति दिन घर्किँदैछ, उति ट्याक्सी चालकहरूको असन्तुष्टि बढ्दैछ। धैर्य टुट्दैछ।
'के सरकार सडकमा होहल्ला गर्नेको मात्र सुनुवाइ हुन्छ भन्ने नजिर बसाउन चाहन्छ?' चौहानको प्रश्न छ।