राष्ट्रपति विद्या भण्डारी शुक्रबार अमेरिकाबाट फर्कंदा विमानस्थलको रातो कार्पेटमाथि गाढा खैरो सर्प घस्रँदै आइपुग्यो।
अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमै सर्प देखिएपछि सबैका क्यामरा तेर्सिए। समाचार बने। टीकाटिप्पणी भयो- के यो काठमाडौंमा गर्मी बढेको असर हो? कि सर्पहरू नै बढे? कि जलवायु परिवर्तनको असर?
काठमाडौंमा सामान्यतया सर्प देखिँदैनथ्यो। तराईमा जस्तो यहाँ सर्प हुँदैन भन्ने आमधारणा छ। यहाँका स्थानीय तराई जाँदा सर्पको बिगबिगी सुनेर डराउँछन् पनि।
सरिसृप विशेषज्ञ करण शाह भने फरक मत राख्छन्।
पैंतीस वर्षभन्दा बढी समयदेखि अनुसन्धान गर्दै आएका उनी काठमाडौंमा सर्प देखिनुलाई नौलो मान्दैनन्।
'शुक्रबार काठमाडौंको तापक्रम २५ डिग्री सेल्सियस थियो। न्यानो मौसममा त्यो सर्प घाम ताप्न निस्किएको हो,' उनले भने, 'सर्पको संख्या ह्वात्तै तलमाथि हुने गरी काठमाडौंको जलवायु फेरिएको छैन।'
उनका अनुसार काठमाडौं उपत्यकामा लगभग २२ थरीका सर्प पाइन्छन्। विमानस्थलमा देखिएको धामन हो।
त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक शाहका अनुसार तराईको समथरदेखि पाँच हजार मिटर उचाइसम्म सहजै सर्प पाइन्छ। हावापानीअनुसार सर्पको प्रजाति फरक हुन्छ। तराईको तातोमा बस्ने सर्प काठमाडौंमा कम हुन्छ। हुँदै नहुने होइन। धामनजस्ता केही सर्प भने तातो र चिसो दुवै हावापानीमा पाइन्छन्।
चौध सय मिटर उचाइको काठमाडौंमा पाइने सर्पमा राजगोमन, गोमन, मुगा, हरेउ, हरहरा, गुरूवे, धामन, चिचिन्डे, शिरिषे, चंखे, पानी साप लगायत छन्। यीमध्ये राजगोमन, गोमन र मुगा सबभन्दा विषालु मानिन्छन्। यिनले टोकेमा तरून्तै उपचार नभए ज्यान जान्छ।
संसारकै ठूलोमध्येको राजगोमनसमेत यहाँ फेला परेको छ। गोमन २५ सय मिटर उचाइसम्म पाइएका छन्। दामनमा धेरै गोमन फेला परेको उनी बताउँछन्। त्यस्तै चन्द्रागिरि र स्वयम्भूमा पनि धेरै छन्।
मुगा सर्प भने मुगा रङको हुन्छ। यो प्रायः पहाडी भाग र उपत्यकामै पाइन्छ। कीर्तिपुरतिर धेरै भेटिने उनले जानकारी दिए।
चंखे भनिने 'माउन्टेन किलवे' सर्प एकदमै छिटो गतिको हुन्छ। शिरिषे भनिने सर्प शिरिषको रूख वा झाडीमा धेरै पाइन्छ। यसका पनि दुई प्रजाति छन्।
स्थानीय नेवार भाषामा 'सिक: फ्याँचा' (चिचिन्डे) भनिने सर्प काठमाडौंका पुराना माटाका घरहरूमा सामान्य थियो। यो सर्पले मुसा खाएर अन्नको सुरक्षा गर्ने हुँदा मार्न हुन्न भन्ने भनाइ छ।
यी र अरू केही सामान्य जातका सर्प विषालु नहुने शाह बताउँछन्। यिनले टोक्दा मान्छे मर्दैन। सुन्निने र दुख्ने भने हुन्छ।
दस-बाह्र वर्षअघि यहाँ अजिंगर पनि भेटिएको थियो, पशुपति र विष्णुमति आसपास।
शाहका अनुसार त्यो यहीँ हुर्केको हो वा कतैबाट आएको यकिन छैन। अजिंगर बाँच्न सक्ने वातावरण भने यहाँ छ। कास्कीमै २५०० मिटर उचाइमा अजिंगर फेला परेको थियो।
उनका अनुसार बाहिरी जिल्लाबाट शिवरात्रि लगायत पर्वमा काठमाडौं आउने साधुहरूले पहिले स-साना अजिंगर लिएर आउँथे। त्यसरी ल्याइएका अजिंगर ठूला भएपछि खुवाउन समस्या भएर वा अन्य कारणले यहीँ छाडिएका हुनसक्छन्।
तराईमा छ्यास्छयास्ती पाइने तर यहाँ नदेखिएका सर्प उताबाट गाडीमा सामान (विशेषगरी काठ) ल्याउँदा सँगै आए भन्नेहरू पनि छन्।
शाह भने यसलाई गलत मान्छन्।
'जसरी आएको भए पनि यहाँ अजिंगर राम्ररी बाँच्न सक्छ भन्ने हो,' प्राकृतिक विज्ञान संग्रहालयका पूर्व निर्देशकसमेत रहेका उनले भने, 'अजिंगर वा कुनै जीव कुनै ठाउँमा बाँच्नलाई हावापानी मात्र होइन, आहाराले निर्धारण गर्छ।'
न्याउरी, मुसा, छुचुन्द्रो, भ्यागुता लगायत जीव सर्पका आहारा हुन्। यी काठमाडौं उपत्यकामा सजिलै पाइने हुँदा यहाँ सर्पको बसोबास रहेको पुष्टि हुने शाह बताउँछन्। सर्पलाई आहारा बनाउने चील, गरूड, बाज लगायत पनि उपत्यकामा पाइन्छन्।
'पहिलेभन्दा बढी सर्प देखिन थाले भन्नु सही होइन,' उनले भने, 'सर्प यहीँ थिए, बरू सहरीकरणले अरू जीवजस्तै कम भएको हुनसक्छ।'
पहिले यहाँ बस्ती पातलो थियो। घर कम थिए। सडक फैलिएको थिएन। खेतबारी र जंगल/झाडी प्रशस्त थिए। त्यस्तो अवस्थामा सर्पहरू आफ्नै वासमा हुन्थे। मान्छेबीच देखिन्थेनन्। बढ्दो सहरीकरणले सर्पको वास मासिँदै गयो। जहीँतहीँ मान्छेको वस्ती भएपछि सर्प वरपर नै देखिन थाले।
काठमाडौं उपत्यकामा सर्पले टोकेका घटना पनि बढ्दो छ।
टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन आफ्नो १७ वर्षको अनुभवमा यहाँ सर्पदंशका बिरामी बढेको बताउँछन्।
'अस्पताल आउने क्रम बढेकाले तथ्यांक बढी देखिएको हुनसक्छ,' उनले भने, 'पहिले वरिपरिका गाउँमा सर्पले टोक्दा मान्छे धामीझाँक्रीकहाँ जान्थे। अस्पताल आइहाल्न यातायात सुविधा राम्रो थिएन।'
उनका अनुसार विगतका वर्ष चैत अन्तिम वा वैशाखदेखि मात्र सर्पले टोकेका बिरामी बढी आउँथे। यो वर्ष अहिल्यै फाट्टफुट्ट आउन थालिसके। सबभन्दा बढी असार-साउनमा दिनकै कम्तीमा चार-पाँच जना आउँछन्।
'असार-साउनलाई हामी सर्पदंशको सिजन मान्छौं,' उनले भने, 'यो सिजनमा सर्पले टोकेको र सामान्य उपचार गरेर फर्किने त सयौं हुन्छन्। अस्पताल भर्ना हुनुपर्ने ८० देखि सय जनासम्म हुन्छन्।'
काठमाडौंमा अधिकांश हरेउ वा गुरूवे सर्पले टोकेका बिरामी आउँछन्। यी सर्प खेतबारीमा बढी पाइन्छन्। तराईमा पाइने यस्ता सर्प विषालु हुनसक्छ। यहाँको हरेउ भने मान्छे मर्ने गरी विषालु हुँदैन। शरीरमा रगत जमाउँछ वा टोकेको ठाउँ सुन्निन्छ।
टेकु अस्पतालले सर्पले टोकेका बिरामीलाई २४ घन्टा निगरानीमा राखेर रगत परीक्षण गर्छ। त्यति बेलासम्म रगत कति जमेको छ वा अन्य केही संक्रमण भएको छ कि भन्ने हेरेर थप उपचार निर्क्यौल गरिन्छ।
कतिलाई भने निगरानीमा राख्न पर्दैन। उनीहरू आकस्मिक कक्षबाटै जचाएर फर्कन्छन्।
टेकु अस्पतालमा काठमाडौं, भक्तपुर, ललितपुरका ग्रामीण भेगदेखि धादिङ र गोरखादेखि सर्पले टोकेका बिरामी आउँछन्।
खेतबारी, बगैंचामा काम गर्ने, साँझतिर वा अँध्यारोमा बाहिर निस्कने, दाउरा, घाँस लिन जाने वा घरभन्दा पर चर्पी जानेहरूलाई बढी टोकेको पाइन्छ।
'यस्ता काममा धेरैजसो महिला नै खटेका हुन्छन्। त्यसैले यहाँ आउने बिरामीमा पनि पुरूषको तुलनामा महिलाको संख्या बढी छ,' उनले भने।
टेकु अस्पतालमा सर्पले टोकेर मृत्यु भएको घटना भने तथ्यांकमा छैन। तै जुनसुकै सर्पले टोके पनि अस्पताल भने गइहाल्नुपर्ने उनी सुझाउँछन्।
'टोक्ने सर्प चिनेर यसले केही हुँदैन भनेर बस्नु हुन्न। कहिलेकाहीँ पहिचान गलत हुन सक्छ। हामीलाई त्यसको जटिलता थाहा हुँदैन,' उनले भने।
सरिसृप विज्ञ शाह सर्पबाट सकेसम्म टाढै रहन सुझाउँछन्।
'सर्प देख्नेबित्तिकै डराउने र आक्रमण गर्ने प्रवृत्ति राम्रो होइन। कुनै सर्पले लखेटेर वा झम्टेर टोक्दैन। उसलाई हानी हुँदा आत्मसुरक्षा निम्ति टोक्ने हो,' उनले भने, 'यसै छाडिदिए केही गर्दैन। त्यसैले सर्प देख्दा नचलाउनु र नजिक नजानु राम्रो।'