प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा चलाउन अदालतमा उपस्थित गराएको छ।
आइतबार काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको अपराधमा कार्कीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप आदेश दिएको छ। मुलुकी अपराध संहिता अनुसार यो अपराधमा २५ वर्षसम्म सजाय हुने व्यवस्था छ।
कार्की अहिले काठमाडौं परिसरको हिरासतमा छन्। ‘अदालतले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले सेतोपाटीसँग भने।
ललितपुर बालकुमारीस्थित कोठाबाट कार्कीलाई शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी प्रधान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो।
सरकारले विप्लव माओवादीका माथिल्लो तहका नेताहरुलाई राज्य विरुद्धको आपराधमा मुद्दा चलाउने नीति लिएको यो घटनाबाट देखिन्छ। यो मुद्दामा अदालतले लामो समयसम्मको जेल सजाय तोक्न सक्ने हुँदा सरकारले यस्तो नीति लिएको हुनसक्छ।
यसअघि कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको थियो। क्रसर उद्योगमा बम बिस्फोट गराएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरे पनि अदालतले साधारण तारेखमा रिहा गरेको थियो।
देशभरिका ठूला अपराधका घटनामा प्रहरीले विप्लव माओवादीका कार्यकर्तालाई कर्तव्य ज्यान मुद्दा, संगठित अपराध, हातहतियार तथा खरखजना मुद्दा चलाइरहेको छ। सरकारले विप्लव माओवादीलाई प्रतिबन्ध लगाएसँगै ठूला नेता पक्राउ गर्न प्रहरीले देशभरि ‘अनौपचारिक सर्कुलर’ नै जारी गरेको छ। ठूला नेता पक्राउ परे राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने रणनीति अख्तियार गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।
अहिलेसम्मस पक्राउमा परेका विप्लव समूहका अरु नेतालाई पनि सरकारले एउटा भन्दा धेरै मुद्दा लगाएर लामो समयसम्म जेलमा राख्ने रणनीति लिएको छ।
कसलाई के मुद्दा?
फागुन १० गते नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा बम बिस्फोट हुँदा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मृत्यु भएको थियो। बिस्फोटमा ललितपुर-४ की २६ वर्षीया प्रतिक्षा खड्का र बनेपाकी २५ वर्षीया उरूसा मानन्धर घाइते भएका थिए।
यो घटनापछि प्रहरीले विप्लव कार्यकर्ता सूर्य भूजेललाई पक्राउ गरेको थियो। नुवाकोट साबिक तारुका गाविस २ का ३८ वर्षीय भूजेललाई प्रारम्भमा बम बिस्फोटन एवम् कर्तव्य ज्यान मुद्दा चलाइएको छ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद (२५) वर्ष सजाय हुने व्यवस्था छ। यस्तै, बम बिस्फोटमा मुद्दामा पाँचदेखि दस वर्ष सजाय हुने व्यवस्था छ।
भूजेलमाथि संगठित अपराध मुद्दा पनि चलाउने प्रहरीको तयारी छ। संगठित अपराध मुद्दामा तीनदेखि पाँच वर्ष सजाय हुने व्यवस्था छ। संगठित अपराधमा मुद्दा चलाउँदा प्रहरीले ६० दिनसम्म अभियोगीलाई थुनामा राखेर अनुसन्धान गर्न सक्ने प्रावधान छ।
नख्खुमा बिस्फोट भएको केही समयमै कमलपोखरी लोत्सेचोकको आँगन मिठाइ पसलमा बम भेटिएको थियो। त्यहाँ बम राखेको अभियोगमा विप्लवको किसान महासंघका अध्यक्ष राजु कार्कीलाई फागुन २१ गते प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि बम बिस्फोटनको मुद्दा चलाइएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका-९ सुन्दरीडाँडामा प्रहरीले गत २३ गते बिहान राति अपरेसन चलाएको थियो। विपलवको घर रहेको उक्त गाउँमा अपरेसन गर्दा गोली हानी प्रहरीले शिवराज नगरपालिका-९ का ४० वर्षीय दुर्गाबहादुर रोकालाई पक्राउ गरेको थियो।
रोकाको घरमा छापा मार्दा प्रहरीले आधुनिक हतियार एसएमजी दुई थान, गोली ६८ राउण्ड, म्यागजिन ३ थान,अटोमेटिक पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५।५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू एक बोरा बरामद गरेको थियो। एसएमजी नेपाली सेना र सशस्त्र प्रहरीले बोक्ने आधुनिक स्वचालित हतियार हो।
कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युत पुडासैनीका अनुसार रोकालाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ।
मुलुकी अपराध संहिता अनुसार हात हतियार तथा खरखजना मुद्दामा पाँचदेखि दस वर्ष सजाय हुने व्यवस्था छ। ‘अहिले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ, प्रतिवादीसँग जोडिएका अन्य अपराधबारे अनुसन्धान गरिरहेका छौं, अपराधको प्रकृति पत्ता लागेपछि अन्य मुद्दा चल्छन्,’ पुडासैनीले भने।
सुनसरीको धरानबाट एम १६ र एलएमजी हतियारसहित पक्राउ परेका मोरङ केराबारी गाउँपालिका-१० का ४३ वर्षीय देवकुमार लिम्बूलाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएको छ। यो मुद्दा सँगसँगै प्रहरीले उनीबाट पहिले भएका अपराधमाथि पनि अनुसन्धान गरिरहेको छ।
‘तत्काल हातहतियार तथा खरखजना मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ, उनीबाट भएका अन्य अपराधको‘लिंक’ जे देखिन्छ, सो कसुरअनुसार बाँकी मुद्दा चल्छ,’ सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले भने।
प्रहरीले खुट्टामा हैन जहाँ पनि गोली हान्न सक्छः सुवेदी
पहिलो, सरकारले प्रतिबन्धको घोषणापछि विप्लव माओवादीले शान्तिपूर्ण भेला गर्न अब पाउँदैन। ‘विप्लव माओवादी दल हैन, समूह हो, दर्ता भएको पार्टी हैन, सरकारले प्रतिबन्ध लगाएपछि हामी उसलाई कुनै पनि कार्यक्रम गर्न दिँदैनौं,’प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने, ‘कार्यक्रम गरेको ठाउँ भेटिए प्रहरीले स्वतः कारबाही गर्छ।’
दोस्रो, मुद्दा चलाउँदा हिजोको अवस्थामा घटनासँग सम्बन्धित व्यक्ति मात्रलाई समातिने गरिएको थियो। अब त्यस्ता घटनाको जिम्मेवारी लिने र संलग्न हुने सबैलाई कसुर हेरेर राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा अघि बढाउन सकिने सुवेदीले बताए।
विप्लव समूहमाथि गोली हान्ने गृह मन्त्रालयको आदेश के हो? सुवेदी भन्छन्, ‘कुनै पनि हतियारधारीलाई प्रहरीले नियन्त्रण लिन्छ, त्यसक्रममा प्रतिकार भयो भने घुँडामुनी हैन, जहाँ पनि प्रहरीले गोली हान्न सक्छ।’
सुवेदीले विप्लव माओवादीका नेता-कार्यकर्ता जहाँ भेटे पनि पक्राउ गर्ने विषयमा गृह मन्त्रालयबाट ‘सर्कुलर’ जारी नभएको बताए। उनले भने, ‘कानुनअनुसार यस्तो सर्कुलर गर्न मिल्दैन, गृहबाट सर्कुलर भएको पनि छैन। कानुनविपरीत काम गर्नेलाई नियन्त्रण लिन परिपत्र, सर्कुलर केही गर्नै पर्दैन।’
सुवेदीका अनुसार गोली हान्ने अधिकार प्रत्यायोजन नेपालका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ। परिस्थितिअनुसार गोली चलाउन आदेश दिने अधिकार सिडिओलाई छ। त्यसबाहेक अपराध नियन्त्रणको सिलसिलामा प्रहरीमाथि नै आक्रमण भए प्रहरीले गोली चलाउन भने सक्छ।
‘अपराध नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउने गरेको कुरा नौलो हैन, परिस्थितिअनुसार प्रमुख जिल्ला अधिकारीको आदेश लिएर प्रहरीले गोली चलाउन सक्छ,’ सुवेदीले भने, ‘अपराध नियन्त्रणको सन्दर्भमा गोली हान्ने सर्कुलर हेडक्वार्टरबाट भएकै हैन। प्रहरीले परिस्थिति हेरेर आफैं निर्णय लिन सक्छ।’
यो पनि हेर्नुहोस्