शिक्षा कार्यालयको लापरबाहीका कारण एसइई परीक्षा दिने परिक्षार्थीले तनावका बीचमै पहिलो दिनको परीक्षा दिएका छन्।
आइतबारदेखि सुरू भएको एसइई परीक्षामा सहभागी कतिपय विद्यार्थीहरूको सिम्बोल नम्बर फरक परेपछि विद्यार्थीहरू पहिलो दिन नै तनावमा परेका हुन्।
प्रवेश पत्र लिएर परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरू परीक्षा केन्द्रमा पुगेपछि आफ्नो सिम्बोल नम्बर फरक भेटेपछि रुँदै फर्किएका थिए।
पहिलो दिनकै परीक्षाको सुरूमै तनाव सृजना भएपछि परीक्षा बिग्रने हो कि भन्ने चिन्ता अभिभावकहरूमा देखिएको छ।
विद्यार्थीहरू फर्केपछि विद्यालयका शिक्षकहरूको समन्वयनमा तत्काल सिम्बोल नम्बर सच्याइ परीक्षा दिने व्यवस्था मिलाइएको थियो।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ मा स्थित जनजागृति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सहभागी ५ सय ७३ जना विद्यार्थीमध्ये कालिका माध्यमिक विद्यालयबाट सहभागी ९ जना विद्यार्थीको सिम्बोल नम्बर फरक परेको भेटिएको थियो।
विद्यार्थीहरूको प्रवेश पत्रमा एउटा सिम्बोल नम्बर र सिटप्लान अभिलेखमा अर्कै सिम्बोल नम्बर भएपछि विद्यार्थीहरू परीक्षा सुरू भइसक्दा पनि अन्यौलमा थिए।
रुपन्देहीका जिल्ला शिक्षा ईकाई प्रमुख दीपेन्द्र ढकालले सिम्बोल नम्बर फरक परेको विषय सामान्य भएको र तत्काल सच्याएर परीक्षा दिने व्यवस्था मिलाइएको बताए। ‘त्यस्तो फरक परेको जस्तो लाग्दैन परेको भए सामान्य हो सच्याउने व्यवस्था मिलाइने छ,’ उनले भने।
पहिलो पटक एसइई परीक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा आएपछि जिल्ला शिक्षा कार्यालयले कुनै पनि जिम्मेवारी वहन नगर्दा विगतको तुलनामा यसपटक कमीकमजोरी धेरै देखिएको शिक्षकहरूको गुनासो छ।
यसैबीच एसइई परीक्षामा प्रदेश पाँचबाट ७८ हजार ६ सय ५७ जना परीक्षार्थी सहभागी भएका छन्।
प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेश ५ मा सबभन्दा धेरै रुपन्देहीबाट १७ हजार २ सय विद्यार्थी परीक्षामा सहभागी भएका छन्।
त्यस्तै, सबभन्दा कम पूर्वी रुकुमबाट १ हजार १ सय ७३ जना परीक्षार्थी सहभागी छन्। परीक्षामा दाङबाट ११ हजार २ सय ७६, पश्चिम नवलपरासीबाट ५ हजार ७ सय ७०, बाँकेबाट ८ हजार १ सय ७४, बर्दियाबाट ७ हजार ८ सय ५५, कपिलवस्तुबाट ७ हजार १ सय १५ जना सहभागी छन्।
त्यस्तै, पाल्पाबाट ५ हजार ५०, प्यूठानबाट २ हजार ८ सय ६६, गुल्मीबाट ४ हजार ९ सय ११, रोल्पाबाट ३ हजार ६ सय ७३ र अर्घाखाँचीबाट ३ हजार ५ सय ९४ परीक्षार्थी सहभागी छन्। यीमध्ये २ हजार ३९ जना प्राविधिकतर्फका विद्यार्थी रहेका छन्।
एसइई परीक्षा सञ्चालनको लागि प्रदेश ५ का ३ सय २३ परिक्षा केन्द्रमा करीब १२ हजार जनशक्ति परिचालन गरिएको निर्देशनालयले जनाएको छ।
प्रदेशमा एसइईको परीक्षा सम्पन्न गर्न दुई करोड ९५ लाख ६७ हजार पाँच सय २५ रुपैयाँ निकासा समेत भएको निर्देशनालयले जनाएको छ।