एक वर्षको अवधिमा प्रदेश नम्बर ५ मा क्षयरोगका कारण २ सय ३८ जनाको मृत्यु भएको छ।
गत आर्थिक वर्ष ०७४/०७५ मा क्षयरोगको संक्रमण भएका र प्रदेशका विभिन्न स्वास्थ्य केन्द्रहरूमा डट्स सेवा अन्तर्गत औषधि सेवन गरिरहेका २ सय ३८ जना बिरामीको मृत्यु भएको हो।
विश्व क्षयरोग दिवसको अवसर पारी प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशक दिनेश कुमार चापागाईंले उक्त जानकारी गराएका हुन्।
प्रदेश नं. ५ मा गत आर्थिक वर्षमा ७ हजार २९ जना क्षयरोगका बिरामी फेला परेका थिए। देशभर फेला परेका क्षयरोगका बिरामीहरूको संख्यालाई हेर्दा प्रदेश ५ मा फेला परेका बिरामीहरूको संख्या पनि तुलनात्मक रूपमा धेरै हो।
विश्व स्वास्थ्य संगठनले नेपालमा हरेक वर्ष ४५ हजार क्षयरोगका नयाँ बिरामी थपिने आंकलन गरे पनि गत आर्थिक वर्ष ०७४/०७५ मा ३२ हजार ४ सय ७४ जना क्षयरोगका नयाँ बिरामी भेटिएका छन्।
गत आर्थिक वर्षमा देशभर क्षयरोगको आशंका गरिएका १ लाख ९६ हजार ३ सय ६२ जनाको खकार परीक्षण गर्दा ३२ हजार ४ सय ७४ जना क्षयरोगका नयाँ बिरामी फेला परेका थिए।
जसमध्ये प्रदेश ५ का १२ वटा जिल्लामध्ये सबभन्दा बढी रुपन्देहीमा १ हजार ४ सय ८६ जनामा क्षयरोग भेटिएको छ भने सबभन्दा कम रुकुम पूर्वमा ५२ जनामा क्षयरोग भेटिएको छ।
त्यसैगरी, दाङमा १ हजार १ सय ६४, कपिलवस्तुमा ७ सय ६७, गुल्मीमा ३ सय १६, अर्घाखाँचीमा २ सय ७०, नवलपरासी पश्चिममा ४ सय ७८ र पाल्पामा ३ सय ९७ नयाँ क्षयरोगी फेला परेका छन्।
त्यस्तै, बाँकेमा ८ सय ४४ जना, बर्दियामा ६ सय ७०, प्यूठानमा ३ सय ८७ र रोल्पामा ३ सय ५ जना नयाँ क्षयरोगी भेटिएका हुन्।
फेला परेका सबै बिरामी विभिन्न उपचार केन्द्रमा डट्स सेवा अन्तर्गत उपचार प्रक्रियामा आए पनि कतिपय बिरामीले नियमित औषधि सेवन नगर्ने र पटकपटक क्षयरोगको संक्रमण हुँदै जाँदा डिआर टिबी (ड्रग रेसिष्टेन्टका) का बिरामीहरूको संख्या समेत बढेको निर्देशनालले जनाएको छ।
प्रदेश ५ मा १ सय ५५ जना डिआर टिबीका बिरामीको डिआर होस्टेलमार्फत् उपचार भइरहेको निर्देशक चापागाईंले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्षयरोग राज्यका लागि आतंकवादी भन्दा बढी खतरनाक भएको बताए।
एउटा क्षयरोगीबाट घर परिवार, टोलछिमेक तथा सिंगो गाउँमा नै संक्रमण फैलिन सक्ने भन्दै उनले कुनै एक ठाउँमा एक जना पनि बिरामी फेला पर्नु राज्यका लागि खतरनाक भएको बताए।
मन्त्री बरालले सरकारले देशभर विभिन्न अस्पताल तथा उपचार केन्द्रहरूबाट डट्स सेवामार्फत् नि:शुल्क रूपमा उपचारको व्यवस्था भए पनि सबै क्षयरोगीको पहिचान हुन नसक्नु चुनौतीको रूपमा रहेको बताए।
‘सरकारले देशका ६ सय ४ वटा प्रयोगशाला, ५६ वटा जीन एक्सपर्ट केन्द्र, २ वटा राष्ट्रिय प्रेषण प्रयोगशाला र ४ हजार ३ सय २३ वटा उपचार केन्द्रबाट डट्स सेवा सुरू गरेको छ तर विश्व स्वास्थ्य संगठनले आंकलन गरेअनुरूपका क्षयरोगका बिरामी भेटिएका छैनन्, जुन सबभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ’, उनले भने।
विश्व स्वास्थ्य संगठनले गरेको आंकलन अनुसार नेपालमा अझै पनि वर्षेनी थप १३ हजार क्षयरोगका बिरामी स्वास्थ्य संस्थाको पहुँचमा नपुगी लुकेर रहेको हुन सक्ने अनुमान गरिएको छ।
सामाजिक विकास मन्त्री बरालले स्वास्थ्य संस्थाको पहुँचमा नपुगेको भन्दा पनि डट्स सेवामार्फत् औषधि सेवन गर्दा आफूलाई क्षयरोग लागेको छ भन्ने कुरा अरुले थाहा नपाउन् भनी निजी अस्पताल वा क्लिनिकबाट औषधि सेवन गरेको कारण तथ्यांकमा नआएको हुनसक्ने बताउँछन्।