पैदलयात्रुलाई सडक पार गर्न सहज होस् भन्ने उद्धेश्यले रूपन्देहीको बुटवल बेलहीया ६ लेन सडकखण्डमा निर्माण गरिएका आकाशे पुलहरूको प्रभावकारी प्रयोग हुन सकेको छैन।
विद्यालय, बजार क्षेत्र तथा अति व्यस्त चोकहरूमा बाटो पार गर्दा हुनसक्ने दुर्घटनाको जोखिमलाई कम गर्न बेलहीया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले ६ लेन सडकखण्डको बेलहीयादेखि बुटवलसम्म १० स्थानमा आकाशेपुल निर्माण गरेको हो।
तर जुन उद्धेश्यले आकाशेपुल निर्माण गरिएको हो त्यो अनुरूप त्यसको प्रयोग हुन भने सकेको छैन। आयोजनाले बुटवलतर्फ ७ स्थान र भैरहवातर्फ ३ वटा गरी १० स्थानमा आकाशेपुल निर्माण गरेको छ।
बुटवलतर्फ ट्राफिक चोक, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराह, कालिका उच्च मावि, योगीकुटी र ड्राइभर टोलमा र भैरहवातर्फ आँखा अस्पताल, देवकोटा चोक र बर्मेलीटोलमा गरी १० स्थानमा महादेव खिम्ती एसियाटिक महेश जेभीले अपांगमैत्री आकाशे पुल निर्माण गर्ने जिम्मा लिएको थियो।
बुटवलतर्फका आकाशे पुलको निर्माण कार्य करिब पूरा भए पनि सर्वसाधारणले भने खासै प्रयोग गरेको देखिदैन। भैरहवातर्फका आकासेपुलहरु अझै निर्माण पुरा भएका छैनन्।
पुल निर्माणमा ढिलाई भएको भन्दै पटकपटक आवाज उठाउने स्थानीयले नै पुलको प्रयोग नगर्दा सडकमा दुर्घटनाको जोखिम बढेको छ। विशेष गरी बुटवल कालिकानगर र योगी कुटीमा त्यहाँका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी पुल निर्माण गरिए पनि विद्यार्थीहरू पुलभन्दा सडकबाट नै बाटो पार गर्ने गरेका छन्।
बुटवल १० कालिकानगरस्थित सडकसँगै जोडिएको कालिका मानव ज्ञान उच्च माविबाट हजारौं विद्यार्थी एकैपटक सडकमा निस्किँदा दुर्घटनाको जोखिम धेरै रहेको भन्दै सडक परियोजनाले सबैभन्दा पहिले कालिकानगरकै आकाशे पुल निर्माण शुरू गरेको थियो।
तर आकाशेपुलको सबैभन्दा कम प्रभावकारी प्रयोग पनि यहि स्थानमा देखिएको छ। आकाशेपुल निर्माण अगाडि जेब्राक्रसबाट सडक पार गर्ने विद्यार्थी तथा स्थानीयवाशीले निर्माणपछि पनि खासै प्रयोगमा ल्याएका छैनन्।
कालिका मानविज्ञान उच्च माविका प्रधानाध्यापक घनश्याम पाठकले विद्यार्थीहरुलाई आकाशेपुलको प्रयोग गर्न आग्रह गर्दै आएको बताए। उनले सडक कार्यालयसँग आग्रह गरी जेब्राक्रस बन्द गरेर भए पनि आकाशेपुलबाट नै सडक पार गर्न लगाउने बताए।
आयोजना प्रमुख इञ्जिनियर जीवेन्द्र मिश्रले जनचेतनाको विकास नहुँदा पुलको प्रयोगमा कमि भएको भन्दै सबैको सहकार्यमा सचेतना जगाउनुपर्ने बताए।
व्यापारिक मार्ग बिस्तार आयोजनाले प्रतिपुल एक करोड २५ लाख गरी कुल १२ करोड रूपैयाँको लागतमा १० स्थानमा आकाशे पुल निर्माण गरेको हो। एक भागमा सिँढी र अर्को भागमा स्लाबसहित निर्माण गरिएका सबै आकाशेपुल अपांगमैत्री रहेका छन्।
यात्रुहरूको सहजताको लागि पुलको दुवैतर्फ सोलार बत्ती जडान गर्ने तयारी समेत भईरहेको छ। निर्माण पुरा भएका पुलको माथि र सिँढीमा फलामे रेलिङ हालिएको छ भने पिल्लर र सिँढीमा टायल र ढुंगा लगाएर चिटिक्क बनाईएको छ।
सर्वसाधारणको आवतजावत बढी हुने क्षेत्र, विद्यालयका बालबालिकाहरू वारपार गर्ने क्षेत्र, अस्पताल, बसपार्क, दुई तीन वटा सडक जोडिएको चोकको आधारमा स्थान छनोट गरिएको र सोही अनुरूप पुलको निर्माण कार्य शुरू गरिएको आयोजना प्रमुख मिश्रले जानकारी दिए।
पुलमा यात्रुहरूका लागि सडकको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमजस्ता सन्देशमूलक सूचना प्रवाहको लागि डिस्प्ले बोर्डसमेत लगाइने छ।
हेर्नुहोस् तस्बिरहरू