कालिकोट प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओवादी बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ।
कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो। प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको कालिकोट प्रहरी प्रमुख विनोद शर्माले बताए।
शाही कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख पनि हुन्।
शाहीबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित बरामद भएको शर्माले बताए।
उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ। ‘विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको हो,’ शर्माले भने, ‘के–के मुद्दा आकर्षित हुन्छन्, प्रारम्भिक अनुसन्धानपछि भोलि अदालत लगिने छ।’
शर्माका अनुसार शाही भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम बिस्फोट गराउने, चन्दा–आतंक मच्चाउन सक्रिय थिए। गत भदौ १० गते विप्लव माओवादीको बन्दका क्रममा उनले दैलेख र कालिकोटको सिमानामा बम बिस्फोट गराई आतंक मच्चाएका थिए। त्यही दिन जिल्ला नापी र मालपोत कार्यालय कालिकोट छेउमा बम बिस्फोट गराइएको थियो। सो घटना शाहीको निर्देशनमा भएको शर्माले बताए।
‘दुबै बिस्फोटमा ठूलो क्षति नभए जनसमुदायमा त्रास र आतंक सिर्जना थियो,’ शर्माले भने।
कालिकोट विप्लव माओवादी नेता खड्गबहादुर विश्वकर्माको आधार इलाका मानिन्छ। सरकारले गत फागुन २८ गते विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रहरीले पक्राउ तथा कारबाहीलाई तीव्र पारेको छ।
यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ। प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन्। ‘उनले प्रहरीमा नेपालको संविधान मान्छु भनी आत्मसमर्पण गरेका छन्,’ प्रहरी नायब उपरीक्षक शर्माले भने।
उनलाई हरेक साताको शनिबार प्रहरीमा हाजिर हुने गरी जमानीमा छोडिएको छ।
त्यसअघि विप्लवनिकट जन पत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई चैत ७ गते प्रहरीले पक्राउ गरिसकेको थियो।
विप्लव माओवादीका प्रभावशाही नेता खड्गबहादुर विश्वकर्माको घर कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ६ मालकोट हो। विश्वकर्माको अगुवाइमा मालकोटमा त्यहाँ २१०० वर्गफिटको सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय बनाउन थाले पनि प्रहरीले रोकिदिएको छ।
विप्लव माओवादीले हेडक्वार्टरसम्म पुग्न १४ किलोमिटर बाटो खन्न थालेको थियो। खुलालु–लालु–मालकोटसम्म १४ किलोमिटरमध्ये सात किलोमिटर बाटो विप्लव माओवादीले खनिसकेको थियो।
कालिकोट कर्णाली प्रदेशको विप्लव माओवादी प्रभावित क्षेत्र हो। यहाँबाट विप्लवको पार्टीमा पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, भेरी–कर्णाली ब्युरो गरी १३ जना नेताले प्रतिनिधित्व गर्छन्।
कर्णाली प्रदेशका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन्। कालिकोटबाट १३ केन्द्रीय र पोलिटब्युरो सदस्य छन्। तीमध्ये कसैलाई जिल्ला, एक भन्दा बढी जिल्ला, प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ।