बुटवल उपमहानगरपालिकाले नगरका अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण सुरू गरेको छ।
उपमहानगरले अपांगता परिचयपत्र कार्यविधि २०७५ जारी गरेसँगै परिचयपत्र वितरण सुरू गरेको हो।
उपप्रमुख गुमादेवी आचार्यले सोमबार बुटवलका तीन जना अपांगता भएका बालबालिकालाई परिचयपत्र वितरण गर्दै उक्त कार्यको शुभारम्भ गरेकी हुन्। त्यस अवसरमा उपप्रमुख आचार्यले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र अन्तर्राष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवं प्रभावकारी बनाउने गरी बुटवल उपमहानगरपालिकाले कार्यविधि बनाएको जानकारी दिइन्।
सोमबार बुटवल उपमहानगरपालिका ५ का १२ वर्षीया सोनाज वानु, बुटवल ३ का चार वर्षीय देवांशराज कसजू र बुटवल ५ का सात वर्षीय आयान खानलाई अवस्थाका आधारमा परिचय पत्र वितरण गरिएको थियो ।
उपमहानगरले परिचय पत्र अपांगताको अवस्था बमोजिम रातो, निलो, पहेंलो र सेतो गरी चार रङका परिचय वितरण गर्ने छ।
बुटवल उपमहनगरमा विभिन्न अवस्थाका गरी करिब एक हजार सात सय अपांगता भएका व्यक्तिहरू रहेको अनुमान गरिएको छ। बुटवलका सबै १९ वटै वडाहरूमार्फत् यी सबैको तथ्यांक संकलनका कामसमेत भइरहेका छन्।
कस्तालाई कस्तो परिचयपत्र ?
उपमहानगरपालिकाका अनुसार व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपांगता भएका व्यक्तिहरू, पूर्णरूपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरू तथा आफैं हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भइ अपांगता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको अपांगताको परिचयपत्र वितरण गरिन्छ।
यस्तै, निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभइ वा मेरुदण्डमा चोट वा पक्षघात भइ वा मांशपेसी विचलन भइ वा मस्तिष्क पक्षघात भइ कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अंग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अंग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभइ बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफैं गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपांगता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपांगता भएका व्यक्तिहरूलाई, ‘ख’ वर्गको परिचयपत्र उपलब्ध गराइन्छ।
कृत्रिम अंगको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैं गर्नसक्ने, पोलियो भई घुँडामुनिको अंगमा मात्र प्रभाव परेको, स्वतन्त्र रूपमा हिँड्डुल गर्नसक्ने शारीरिकरूपमा अपांगता भएका व्यक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बूढीऔंला र चोरऔंला नभएका तथा कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भइ ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपांगता भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, तीन फिटमुनिका पुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, समूह ‘ग’ का अपाङ्गता वर्गमा पर्दछन् ।
शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केलामुनिका कम्तीमा बूढीऔंला र चोरीऔंला भएका, खुट्टाको औंलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङगता भएका व्यक्तिहरू ‘घ’ वर्गमा पर्दछन् ।