बुटवलमा गोली हानी एक भारतीय नागरिक हत्या गरिएको छ। बुधबार राति झन्डै साढे ८ बजे अज्ञात समूहले चलाएको गोली लागेर भारतीय नागरिक फिरोज खानको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१ जितगढी मैनाबगरमा रहेको ज्योति मोटर्समा कार्यरत खानको घटनास्थलमै मृत्यु भएको हो।
ग्यारेजमा काम गरेर कोठा फर्किने क्रममा उनलाई अज्ञात समूहले जितगढी किल्ला अगाडि गोली प्रहार गरेको थियो। उनको छातीमा एउटा गोली लागेको छ।
भारत बिहार घर भएका उनी दुई हप्ताअघि आफन्तको बिहेमा बिहार गएर फर्किएका थिए। उनी दस वर्षयता श्रीमती र छोराछोरीसहित बुटवलमा बस्दै आएका थिए।
खानको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ। खानको हत्यापछि प्रहरीले चारैतिरका नाका सिल गरी गोली हान्ने व्यक्तिहरूको खोजी गरिरहेको छ। ‘भाग्नसक्ने ठाउँजति सबैतिर नाका सिल गरेका छौं,’ ५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले सेतोपाटीसँग भने।