राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको बुटवलको रातो घर भत्काइएको छ।
बुटवल उपमहानगरपालिका-४ पाल्पारोडस्थित रातो घरको नामले परिचित उक्त भवनमा शुक्रबारदेखि डोजर लगाइएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पूरानो भवन भत्काउन शुरु गरिएको जानकारी दिए।
तत्कालीन नेकपा माओवादी हुँदै पछिल्लो पटक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले कब्जामा राखेको यो भवनलाई १२ वर्षपछि गत चैत्र ५ गते प्रहरीले खाली गराएको थियो।
यसअघि राष्ट्रिय वाणिज्य बैंकले उक्त स्थानमा भवन निर्माण गर्ने भन्दै घरको नापनक्सा र डिजाइन तयार गरी करिब २ करोड रूपैयाँ निकासा गरेको भए पनि विप्लव माओवादीले कार्यालय नहटाएको कारण त्यत्तिकै रोकिएको थियो।
राष्ट्रिय वाणिज्य बैंकले केही दिन पहिले नै घर खाली गराउन सूचना टाँसे पनि जिल्ला सुरक्षा समितिको निर्णयबाट चैत्र ५ गते भवन खाली गराएसँगै नयाँ भवन बनाउन पूरानो भवन भत्काउन सुरू गरिएको हो।
बैंक सञ्चालन रहेकै अवस्थामा तत्कालीन नेकपा माओवादीले २०६१ सालमा बम बिष्फोट गराई क्षतिग्रस्त बनाएको उक्त भवन विभिन्न पार्टीले कब्जामा लिएको बताए पनि मर्मत सम्भार नहुँदा खण्डहर बनेको थियो।
सिद्धार्थ राजमार्गसंगै जोडिएर ११ कट्ठा क्षेत्रफलमा बनेको उक्त भवन भत्काएपछि राष्ट्रिय वाणिज्य बैंकले नयाँ भवन निर्माण गर्ने जनाएको छ।
वाणिज्य बैंकको केन्द्रीय कार्यालयले देशभरका करिब एकदर्जन शाखा कार्यालयसँगै बुटवल शाखा कार्यालय पनि पुनर्निर्माणको लागि चार महिना पहिले नै ठेक्का गरिसकेको छ।
बैंकले करिब १५ करोडको लागतमा बुटवलको भवन निर्माण गर्ने जनाएको छ। राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखा प्रमुख विनोद पाण्डेले बैंकको केन्द्रीय कार्यालयमार्फत नै उक्त भवन निर्माण हुने जानकारी दिए।