अवैध रूपमा खोलाबाट ढुंगा निकाल्दै गरेका गाडीसहित ९ जना चालक रुपन्देहीको देवदहमा पक्राउ परेका छन्।
प्रदेशका विभिन्न जिल्लाहरूमा अवैध रूपमा नदीजन्य वस्तु चोरी निकासी भइरहेको समाचार सार्वजनिक भएपछि प्रदेश नं. ५ सार्वजनिक लेखा समितिले केही दिन अघि मात्रै विभिन्न जिल्लाहरूमा अनुगमन गरेको थियो।
तर, अनुगमन गरेको केही दिनपछि मात्रै देवदह नगरपालिका १० चरङगे खोलाबाट शनिबार बिहान ढुंगा निकाल्दै गरेको अवस्थामा ट्याक्टर र जेसिबीसहित प्रहरीले चालकहरूलाई पक्राउ गरेको हो।
प्रहरीले ढुंगा उठाउँदै गरेका ८ वटा ट्याक्टर र एउटा जेसिबीसहित ९ जना चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुटवलमा राखेको छ।
जिल्लाको देवदह नगरपालिका वडा नं १० चरङगे खोलामा अवैध रूपमा नदीजन्य पदार्थ निकासी भइरहेको सूचना पाएपछि प्रहरीले खोलामै पुगेर जेसिबी र ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। सो क्षेत्रमा वडा अध्यक्ष र स्थानीय युवाहरूको मिलेमतोमा केही समयदेखि नदीजन्य पदार्थ चोरी निकासी हुँदै आएको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले नदीजन्य पदार्थ निकाल्न खोलामा पुगेका ट्याक्टर र चालकसहित सबैलाई नियन्त्रणमा लिइएको बताए।
नियन्त्रणमा लिइएका ट्याक्टर चालकहरूलाई जिल्ला समन्वय समितिमा जरिवानाका लागि पठाइने उनले बताए।
प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टरहरूमा लु २ त ७४०४, लु ४ त ११७४, लु ३ त ९८५८, लु ४ त २५६२, लु १ त ६९४६ नं. का रहेका छन्।
त्यसैगरी, ना ६ त ५८८७, लु २ त २२७१, लु ४ त २१०३ नम्बरको ट्याक्टर र लु १ क २६९५ नं. को जेसिबीलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका प्रति ट्याक्टरलाई २५ हजार र जेसिबीलाई ५० हजार गरी कूल २ लाख ५० हजार जरिवाना हुने बताइएको छ।
प्रहरीले ट्याक्टर चालक दिनेश कुमार सुनार, अनिल चौधरी, विकास गुरुङ, भानुभक्त कुँवर, युवराज आले, मनोज थापा, उमेश चौधरी, सुनील प्रसाद कुमाल र जेसिबी चालक इन्द्र बहादुर थिङलाई पक्राउ गरेको छ।
देवदह रुपन्देहीको सबभन्दा बढी काठ तस्करी र नदीजन्य पदार्थको तस्करी हुँदै आएको क्षेत्र हो। जसको कारण विभिन्न समयमा अपराधका घटना घट्ने र मानिसको ज्यान समेत जाने गरेको छ।