अढाइ वर्षअघि ललितपुर गोदावरीका नवराज केसीले जयभानसिंह धामीलाई भेटे। धनगढीका रमेशविक्रम चन्दले दार्चुलाका धामीसँग नवराजको भेट गराइदिएका थिए।
धामीको घर दार्चुला नौगडा गाउँपालिका–३ हो। नेपाली सेनाका पूर्वकर्मचारी केसीले जागिरकै सिलसिलामा चन्दलाई चिनेका थिए।
बाह्र वर्षअघि ६ महिनाको फरकमा उनीहरूले सेनाको जागिर छोडेका थिए।
जागिर छोडेपछि चन्द काठमाडौंमै मेनपावर कम्पनीहरूलाई मान्छे खोज्न थाले। केसी भने चापागाउँस्थित एक बिस्कुट फ्याक्ट्रीमा सुरक्षा गार्ड बने।
‘बीचमा एकपटक भेट हुँदा म पनि विदेश जान्छु भनेको थिएँ,’ केसीले भने, ‘त्यसपछि उनले जयभानसिंह धामीकोमा पुर्याए।’
धामी भारत, दुबईको बाटो हुँदै क्रोएसिया जाने-आउने गर्दा रहेछन्। मेनपावरमा काम गर्ने भएका केसी र धामीबीच राम्रो चिनजान थियो।
केसीका अनुसार अढाइ वर्षअघि चन्दले धामीलाई चिनाए। त्यसपछि केसीलाई क्रोएसिया लैजान चन्दले धामीमार्फत् पहल थाले। धामीका दाइ मानसिंह पनि क्रोएसियामै छन्।
कमाइ धेरै हुने लोभमा केसी पग्लिए। २३ लाख रूपैयाँमा तिर्न तयार भए।
सुरूमा साथी अशोकलाई ८ लाख रुपैयाँ बुझाउन जयभानसिंहले फोनमै अह्राए। केसीले अशोकलाई पैसा दिए।
बाँकी पैसा दुबई पुगेपछि दिने सम्झौता थियो। केसीलाई भारत हुँदै त्यहाँ जाने चाँजोपाँजो (कागजात) पनि अशोकले नै मिलाइदिए। केसी दुबई पुग्दा जयभानसिंह भने बाँकी पैसा लिन नेपाल आइपुगेका थिए। जयभानसिंहले केसीको परिवारलाई भेटेर बाँकी १५ लाख रुपैयाँ लिए। त्यसपछि उनी क्रोएसिया फर्किए।
२०७४ असारमा केसी दुबई पुगेका थिए। त्यहाँ तीन महिना रोकिए। क्रोएसिया जाने प्रक्रिया अघि बढेन। ‘जयभानसिंहले हुन्छ, मिल्छ भन्दै तीन महिना दुबईमा कुराए,’ केसीले भने, ‘तर, केही पनि भएन। पछि बुझ्दा पो उनले गैरकानुनी बाटोबाट क्रोएसिया लैजान खोजेका रहेछन्।’
केसी नेपाल फर्किए। त्यसको एक महिनापछि मोटरसाइकल दुर्घटनामा परे। केही समय आराम गर्नु पर्ने भयो। पछि सेक्युरिटी गार्डको काम थाले
केसीसँग कहिलेकाहीँ सम्पर्क हुने गरेको थियो। पैसा फिर्ता दिने आश्वासन दिइरहेका थिए।
तर, चार महिनादेखि जयभानसिंह सम्पर्कविहीन भएका थिए। केसीलाई पैसा फिर्ता नहोला कि भन्ने चिन्ता लाग्न थाल्यो।
हराएका तिनै केसी अचानक गत साता केसीको सम्पर्कमा आए। आफैं फोन गरेर कोटेश्वर भेट्न बोलाए। र, बुधबार ६ लाख रुपैयाँ बैंकमा जम्मा गरिदिए।
‘घरमा कुरा चलिरहेको छ, क्रोएसियामा दाइसँग पनि कुरा भइरहेको छ, एकदुई दिनमा बाँकी १७ लाख रूपैयाँ दिन्छु है,’ जयभानसिंहले भने।
सबै पैसा फिर्ता हुनै लागेको ठानेर केसी मख्ख परे।
प्रहरीका अनुसार धामीले बिहीबार बिहान १ बजे घरमा फोन गरे। आफन्तलाई आफू सिआइबीको हिरासतमा रहेकाले छुटाउन १७ लाख रुपैयाँ चाहियो भने।
दाइ मानसिंहलाई फोन गरे। र, आफू अपहरणमा परेको बताए।
शुक्रबार रणवीरसिंह ठगुन्ना नाम गरेका धामीका आफन्त महानगरीय अपराध महाशाखामा आएर निवेदन दिए। शुक्रबार साँझ साढे ५ बजे महाशाखा पुगेर ठगुन्नाले केसीले नै धामीलाई अपहरण गरेको दाबी गरे।
यो निवेदनपछि महाशाखाको टोली केसीको मोबाइल लोकेसन ‘ट्रयाक’ गर्दै गोदावरी पुग्यो।
ड्युटी सकाएर घर फर्किंदै गरेका केसीलाई टोलीले राति १० बजे समात्यो।
‘कसुरबिना समातिँदा म त छक्क परें,’ केसीले भने, ‘महाशाखा आएपछि पो थाहा भयो मविरूद्ध निवेदन रहेछ।’
केसीलाई प्रहरीले सोधपुछ गर्यो। सोधपुछपछि जयभानसिंहले अपहरणमा परेको अभिनय गरेर २३ लाख फिरौती आफ्नै घरबाट लिन खोजेका रहेछन्।
महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार जयभानसिंहले ६ लाख रुपैयाँ अगाडि नै तिरिसकेको हुँदा १७ लाख रुपैयाँका लागि अपहरणको अभिनय गरेको देखियो।
‘१७ लाख नवराज केसीलाई दिएर बाँकी ६ लाख आफैं राख्ने योजना बनाएका रहेछन्,’ राठौरले भने।
केसीको बयानपछि प्रहरी जयभानसिंहको खोजीमा निस्कियो। चाबहिलमा लुकेर बसेका जयभानसिंहलाई शनिबार समात्यो।
महाशाखाका अनुसार धामीलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ। आइतबार सार्वजनिक अपराध कसुरको मुद्दामा अदालतबाट म्याद थप गरिएको छ।
धामीलगायतको समूह नेपालबाट रोजगारीको प्रलोभन देखाउँदै गैरकानुनी बाटोबाट क्रोएसिया ‘मानव तस्करी’ गरिरहेको आशंका प्रहरीले गरेको छ।
नेपाल र ११० वटा देशबीच श्रम सम्झौता छ। त्यसमा क्रोएसिया छैन। श्रम सम्झौता नभएको मुलुकमा अबैध बाटो हुँदै मान्छे ओसारपसार गर्नु गैरकानुनी हो। यस्तोमा मानव बेचबिखन मुद्दा आकर्षित हुन्छ।
‘हामी अहिले अनुसन्धानकै क्रममा छौं,’ राठौरले भने, ‘कति जना मान्छे गैरकानुनी तरिकाबाट क्रोएसिया पुगेका रहेछन्, अनुसन्धानपछि थप कारबाही हुन्छ।’
फसेको पैसा फिर्ता पाउने आशमा रहेका केसी भने तनावमा परेका छन्। अब बाँकी पैसा फिर्ता हुन्छ हुँदैन उनी चिन्तामा छन्। प्रहरीले कागजात हेरेर फसेको पैसा उठाउन पहल गर्ने आश्वासन दिएको छ।