बुङमती प्रवेशद्वारलाई ‘ढोकापिने’ भनिन्छ।
प्रवेशद्वारअगाडि दुई पोखरी छन्- ढोकापिने पुखु र ढोकापिने फल्चा।
यही ढोकापिने फल्चालाई युएन हेबिटेट, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट, लुमन्ती लगायत संस्थाले पुनरोद्धार गर्दैछ।
फल्चासँगै २०७२ सालमा भत्किएका सम्पदा एवं भवन जिर्णोद्धार जारी छ। यही क्रममा युरोपियन युनियनकी नेपाली राजदूत भरोनिका कोडी, ललिपुरका मेयर चिरिबाबु श्रेष्ठ, पम्फा भुसाल लगायतको टोलीले यहाँको पर्य–सम्पदा अवलोकन गरे।
बुङमतीका मन्दिर र घरसँगै मानिसको जनजीवनलाई पर्यटनमार्फत् दिगो विकासको पहल कसरी भइरहेको छ? कसरी गर्न सकिन्छ? यही अवलोकन गर्नु भ्रमणको उद्देश्य थियो।
ढोकापिनेबाटै बुङमतीका प्राचीन गल्ली सुरू हुन्छन्।
चोहेल ननीतर्फ बढ्दै जादाँ स्थानीय महिला मकैका घोगाबाट चकटी, गुन्द्री, बास्केट लगायत सामग्री बनाइरहेका देखिन्थे। कोही परम्परागत बाजा बजाउँदै थिए, कोही मौलिक भजन गाउँदै।
बुङमती भन्नेबित्तिकै काष्ठकलाको कुरा त आउने नै भयो। कालिगढहरू काठका कला निर्माण एवं प्रदर्शन गर्दै थिए।
हामीलाई यात्रा क्रममा सघाउने युरोपियन युनियनका कार्यक्रम अधिकृत प्रविन बज्राचार्यका अनुसार त्यहाँका स्थानीयको जीवन पर्यटकीय हिसाबले उकास्नु पर्य–सम्पदाको उद्देश्य हो।
‘पुनर्निर्माण भनेको मठ–मन्दिर एवं सम्पदाको निर्माण मात्रै होइन, स्थानीयका भवन पनि हुन्,’ उनले भने, ‘स्थानीयलाई परम्परागत शैलीमा भवन निर्माण गर्न हामी प्रेरित गर्छौं। यसका लागि सित्तैमा नक्सा डिजाइन गर्दिनुका साथै सक्दो सहयोग पुर्याउँछौं। मानिसको जीविकोपार्जन उकास्न परम्परागत सीप विस्तार गरेर तालिम पनि दिइरहेका छौं।’
पर्यटन एवं मौलिकता जोगाउने सीप विकास तालिमका लागि युरोपियन युनियन, स्वीस एसिया प्रोजेक्ट, युएन हेबिटेट लगायतले सहयोग पुर्याइरहेको उनले जानकारी दिए।
बुङमती दुई कारण प्रख्यात छ, रातो मच्छिन्द्रनाथ र कार्यविनायक। रातो मच्छिन्द्रनाथको मन्दिर परम्परागत शैलीमा पुनर्निर्माण भइरहेको छ। कार्यविनायक जोड्ने पुलको भने नक्साको डिजाइन भएको बज्राचार्यले बताए।
‘यहाँबाट हिँडेर कार्यविनायक पुग्न करिब १० मिनेट लाग्छ। पुल निर्माण भयो भने त्यो दुरी कम हुन्छ,’ चोहेल ननीमा उभिएर उनले भने।
चोहेल ननी बुङमतीकै सबैभन्दा ठूलो खुला ठाउँ हो। युरोपियन युनियनका सदस्य अजिव महर्जनका अनुसार यहाँ कुनै समय बुङमती महोत्सवसमेत हुन्थ्यो। २०७२ सालको भुइँचालोपछि त्यो क्रम रोकिएको छ।
ननी नजिक ‘बसला’ भन्ने घोडाको तबला छ। अन्य ठाउँमा ढुंगा, ताम्रपत्रका शिलालेख हामीले देख्दै आएका छौं। यहाँ भने काठको शिलापत्र छ। यसले पनि बुङमती र काष्ठकलाको सम्बन्ध देखाउँछ।
‘मनकामना दशमी र नवमीमा खुल्दैन। त्यो बेला यो बसला खुल्छ। मानिसहरू मनकामना पुगेझैं अनुभव गर्छन्,’ अजिवले भने।
त्यहाँबाट हामी ‘देः पुखु’ पुग्यौं। ‘देः पुखु’ को अर्थ हो, देशको पोखरी।
अजिवका अनुसार त्यहाँका शाक्य, बज्राचार्य लगायतले आफन्तको मृत्यपछि यहीँको पानीले चोख्याउँछन्। यहीँ मच्छिन्द्रनाथको रथ बनाउने बेत भिजाइन्छ। यो पोखरीलाई प्रोजेक्टको सहयोगमा जिर्णोद्धार गरिएको हो।
यो पोखरी निर्माणमा प्रमुख भूमिका खेलेकी स्थानीय ज्ञानु महर्जनले जिर्णोद्धारको अनुभव पनि साटिन्।
‘यहाँ पहिले माटो धेरै भएकाले काम गर्नै गाह्रो थियो। पछि भएको पानी सुकाएर भाग–भाग बनाएर खेतको जस्तै डिल बनायौं,’ उनले भनिन्, ‘सुरूमा त्यसरी पनि पोखरी निर्माण हुन्छ भनेर धेरैले पत्याएका थिएनन्। तर हामीले गरेर देखायौं।’
त्यही पोखरीको एक भागमा अष्टमातृकाका पौभा पेन्टिङ सजावटका लागि राखिएका छन्। पोखरीबाट अघि बढ्दै हामी वायुपंखी घोडा लेखिएको एक तस्बिरमा अडियौं।
‘यसलाई राजाको घोडाका रूपमा दसैंतिर हुने सल्चा जात्रामा प्रदर्शन गरिन्छ,’ अजिवले भने।
बुङमतीको अर्को विशेषता भनेको यहाँ पाटन क्षेत्रमा झैं पुल्चोक, कुमारीपाटी र जावलाखेल छ। यहाँको जस्तै बुङमतीको पुल्चोकमा रथ निर्माणको काम हुन्छ भने जावलाखेलमा भोटो देखाइन्छ।
युएन हेबिटेटका कार्यक्रम व्यवस्थापक पद्मसुन्दर जोशीका अनुसार बुङमतीमा ३ हजार ९ सय ४ जनसंख्या छ, ८ सय ५६ घर छन्। तीमध्ये भुइँचालोले ५ सय ६३ घर क्षति भएका थिए, जसमा ७ जनाले ज्यान गुमाएका थिए।
बुङमतीको महत्व जोगाउन यहाँका निजी घर पनि उत्तिकै महत्वपूर्ण भएको उनले बताए। त्यहाँका घर एवं मानिसको जीविकोपार्जन निम्ति पर्यटन र दिगो विकासमा प्रोजेक्टले सहयोग पुर्याइरहेको उनले जानकारी दिए।
‘हामीले यहाँका सीपमूलक कामलाई बढी प्राथमिकता दिएका छौं। यहाँका उद्योगलाई प्रोत्साहन एवं प्रचार गर्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘युवा, महिला र मध्यमवर्गीय परिवारलाई सीपमूलक तालिम दिइरहेका छौं।’
युरोपियन युनियनकी राजदूत भेरोनिकाले सांस्कृतिक रूपले सम्पन्न बुङमती घुम्न पाउँदा खुसी व्यक्त गरिन्। त्यहाँको दिगो विकासमा आवश्यक सहयोग पुर्याउने बताइन्।
युरोपियन युनियनको ‘स्वीस एसिया प्रोजेक्ट’ ले बुङमती पुनर्निर्माण सन् २०२२ जनवरीसम्म सक्ने गरी गत वर्ष चैतबाट काम सुरु गरेको हो। बुङमती सम्पदा बस्तीभित्रका घरलाई मौलिक शैलीमा पुनर्निर्माण गरी यस क्षेत्रमा पर्यटक आकर्षित गर्ने प्रोजेक्टले लक्ष्य लिएको छ।
सबै तस्बिर: सौरभ ढकाल