रुपन्देहीका पत्रकार विन्दुकुमार चौहानको छोरीको अपहरण गर्ने चार जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १० निवासी चौहानको छोरी ममतालाई मंगलबार राति एक समूहले घरबाटै अपहरण गरेको थियो।
अपहरणमा परेकी ममतालाई बुधबार बिहान नेपाल भारत सीमा क्षेत्रमा खेतमा छोडिएको अवस्थामा सकुशल भेटिएको थियो । शारीरिक रूपमा अपाङ्ग रहेकी ममता हिँड्डुल गर्न समेत सक्दिनन्।
उनको परिवारले सुरक्षा निकायलाई जानकारी गराएपछि अपहरणकारीको खोजीमा लागेको रुपन्देही प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिकाका चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका चन्द्रिका पासी, हरेराम हरिजन, बर्मानन्द हरिजन र मोबिन फकिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए।
पक्राउ परेका फकिरले वर्षौदेखि सीमानाका मर्चवार क्षेत्रबाट गोरु तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य समेत रहेका चौहानले केही दिन अघि सीमा क्षेत्रबाट भइरहेको गोरु तस्करीको बारेमा समाचार लेखेका थिए। सीमा क्षेत्रमा हुने गोरु तस्करीको बारेमा समाचार सार्वजनिक भएपछि उक्त समूहले आफूलाई ज्यान मार्ने धम्की दिएको र सोही कारण छोरीको अपहरण गरेको पत्रकार चौहानले दाबी गरे।
पक्राउ परेका फकिरले टेलिफोन गरी आफूहरूको विरूद्धमा समाचार लेखे ज्यान मार्ने धम्की दिएको र समाचारकै कारण सोही समूहले नै छोरीको अपहरण गरेको किटानी जाहेरी दिएपछि प्रहरीले उक्त समूहलाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक थापाले पक्राउ परेको समूह सीमा क्षेत्रमा हुने विभिन्न तस्करीमा संलग्न रहेको हुनसक्ने र सोही अनुरूप अनुसन्धान समेत अघि बढाइएको जानकारी दिए।
पछिल्लो समय तराईका विभिन्न जिल्लाबाट गोरु खरिद गरी नेपालको पूर्वी नाका हुँदै बंगलादेश लैजाने तस्करहरूको समूह सक्रिय रहेको छ ।