पूर्वसांसद गायत्री साह दोस्रोपटक गर्भवती भएको थाहा पाएपछि ललितपुरको मेडिसिटी अस्पताल पुगेकी थिइन्। त्यहाँका डाक्टर नीरासिंह श्रेष्ठले बानेश्वरको नेपाल हेल्थ क्लिनिक बोलाएको र त्यहीँ नियमित जाँच हुन थालेको साहको दाबी छ।
डा. श्रेष्ठले चैत ४ को मिति दिएकी थिइन्। फागुन २७ गते अन्तिमपटक शिशुको अवस्था परीक्षण गर्दा घाँटीमा साल बेरिएको देखियो।
‘अपरेसन गर्नुपर्छ भनेर उहाँले मेडिसिटी पठाउनुभयो,’ साह भन्छिन्, 'त्यहाँ गएको भोलिपल्टै फागुन २८ गते अपरेसन गरेर बच्चा झिकियो।'
साहका अनुसार शिशु शारीरिक रूपमा अस्वस्थ थियो। खुट्टा बांगा थिए। उपचार क्रममा दिमाग, मुटु र फोक्सोमा पनि समस्या देखिन थाल्यो।
अस्पतालले ‘डाउन सिन्ड्रोम’ को शंका गर्यो। त्यसको परीक्षण नेपालमा सम्भव नभएको भन्दै भारतस्थित लाल प्याथल्याब क्लिनिकमा शिशुको रगत पठायो। केही दिनपछि रिपोर्ट आउँदा ‘डाउन सिन्ड्रोम’ पुष्टि भयो।
चिकित्सकहरूका अनुसार 'क्रोमोजोममा हुने असामान्य अवस्था' लाई डाउन सिन्ड्रोम भनिन्छ। यो भनेको ‘शारीरिक विकास कम' हुने समस्या हो।
सामान्य बच्चामा ४६ क्रोमोजोम हुन्छन् भने डाउन सिन्ड्रोम भएका बच्चामा ४७ क्रमोजोम हुन्छन्। यो वंशाणुगत रोग पनि हो। परिवारमा कसैलाई यो रोग छ भने नयाँ बच्चामा पनि देखिने सम्भावना हुन्छ। (हेर्नुहोस्: भिडिओ स्टोरी- बच्चालाई ‘डाउन सिन्ड्रोम’ भए/नभएको गर्भमै कसरी थाहा पाउने?)
‘हाम्रो पहिलो बच्चा यही कारणले गुमेको थियो,' साहले मंगलबार भनिन्, 'हामीले यो समस्याबारे डाक्टर श्रेष्ठलाई भनेका पनि थियौं।’
आफूले भन्दाभन्दै अस्पतालले गर्भावस्थामै बच्चाको 'डाउन सिन्ड्रोम' परीक्षण नगरेको उनले बताइन्। ‘डाक्टरले सबै रिपोर्ट नर्मल छ भनेपछि हामी बच्चा जन्माउन तयार भयौं, जन्मेपछि पो सबै कुरा थाहा भयो,’ उनले भनिन्।
अब यसको जिम्मेवारी अस्पतालले लिँदै सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्ने उनको दाबी छ।
उनले शिशु अस्पतालमै छाडेको भने अस्वीकार गरेकी छन्।
‘म त मेरो बच्चा यस्तो अस्वस्थ नहोस् भनेर प्रार्थना गरिरहेकी छु, कुन चाहिँ आमाले आफ्नो बच्चा अस्पतालमा छाडेर हिँड्छ?’ साहले भनिन्, ‘मेरो बच्चा मेरो मुटु हो, म उसलाई घर लैजान तयार छु। तर, अस्पतालले उसको स्वास्थ्यमा आइपर्ने हरेक समस्या सुल्झाइदिनुपर्छ। म ठूलो धनराशी खर्च गर्ने क्षमताकी छैन।’
डाक्टर श्रेष्ठ भने साहको भनाइ नकार्छिन्।
उनका अनुसार साहले आफ्नो पहिलो बच्चा यही समस्याले गुमेकोबारे यसअघि जानकारी गराएकै थिइनन्।
'उहाँले आफ्नो पहिलो बच्चा डाउन सिन्ड्रोमले नै गुमेको भन्ने कुरा हामीलाई भन्नुभएकै थिएन। भन्दै नभनेपछि हामीले गर्भावस्थामै बच्चालाई डाउन सिन्ड्रोम छ कि छैन भनेर जाँच्ने कुरा आएन,' उनले भनिन्, 'यसरी जाँच्न अस्पतालको नियमले पनि दिँदैन।'
पैंतीस वर्षभन्दा बढी उमेरका गर्भवती महिलामा मात्र गर्भावस्थामै डाउन सिन्ड्रोम जाँच्ने अस्पतालको नीति रहेको उनले बताइन्। 'उहाँको उमेर ३४ वर्ष थियो,’ श्रेष्ठले भनिन्, ‘त्यसकारण हामीले डाउन सिन्ड्रोम परीक्षण गरेनौं।’
‘पहिले उहाँले के कारण गर्भपतन गराउनुभएको थियो, हामीलाई जानकारी भएन, डाउन सिन्ड्रोमको समस्या थियो भन्ने आधार पनि छैन,’ उनले भनिन्, 'बच्चाको जिम्मा आमाले नै लिनुपर्छ।'
साहका पति राजेश महतो भने पहिलेको शिशु यस्तै प्रकृतिको रहेको थाहा पाएपछि तीन महिनाभित्र नर्भिक अस्पतालमा गर्भपतन गराएको बताउँछन्।
उनका अनुसार त्यो गर्भावस्थाको सबै जाँच नर्भिकमा गराइएको थियो। ‘अढाइ महिनासम्म गर्भमा शिशुको विकासक्रम नदेखिएपछि डा. ज्योति अग्रवालले गर्भपतन गर्न सल्लाह दिनुभएको थियो, हामीले उहाँसँगै गर्भपतन गराएका थियौं,’ राजेशले भने।
डाक्टर श्रेष्ठका अनुसार अहिले शिशुले राम्रोसँग सास फेर्नसक्छ। अस्पतालले डिस्चार्ज दिइसकेको छ। साहले नै बुझ्न नमानेको उनले बताइन्।
साहको भने फरक तर्क छ। शिशुको मस्तिष्क र मुटुमा समस्या भएकाले डिस्चार्ज लिन नमानेको उनले बताइन्।
‘यस्तो शिशुमा जतिबेला जे पनि हुन सक्ने भएकाले मैले अस्पतालबाट तत्काल घर लैजान नमानेकी हुँ,’ साहले भनिन्, ‘डाक्टरको लापरबाहीले शिशु यस्तो जन्मिएकाले भविष्यमा उसको स्वास्थ्यमा आइपर्ने सबै समस्या निराकरण गर्ने बाचा गरेपछि मात्र घर लैजान्छु।’
डा. श्रेष्ठले डाउन सिन्ड्रोमको परीक्षण नेपालमा सम्भव नरहेको दाबी पनि गरिन्।
नेपालकै स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू भने श्रेष्ठको दाबी स्वीकार्दैनन्। उनीहरूका अनुसार गर्भवतीको स्वास्थ्य परीक्षण गर्दा बिरामी जोखिममा छ कि छैन परीक्षण गरिन्छ। ३५ वर्षभन्दा बढी उमेरका, घरमा कोही असामान्य बच्चा भएको वा पहिले पनि डाउन सिन्ड्रोम भएको बच्चा देखिएको यकिन गरी विशेष ध्यान दिएर परीक्षण गरिन्छ।
‘नेपालमा परीक्षण हुन्छ र भइरहेको पनि छ। बच्चामा डाउन सिन्ड्रोम छ कि छैन भन्ने केही महिनामै थाहा हुन्छ,’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ नुतन शर्मा भन्छिन्।
गर्भवती भएको १० देखि १२ साताबीच अल्ट्रासाउन्ड गर्दा शिशुको पछाडिको भाग कति बाक्लो छ परीक्षण गरिन्छ। त्यसबेला पछाडिको भाग बाक्लो देखियो भने १५ देखि १८ सातामा रगत परीक्षण गरिन्छ। त्यो बेला डाउन सिन्ड्रोम भए-नभएको ८५ प्रतिशत थाहा हुने शर्मा बताउँछिन्।
‘त्यस्तो अवस्थामा पाठेघरभित्रको पानी निकालेर क्रोमोजोम परीक्षण गर्नुपर्छ। क्रोमोजोम परीक्षणपछि बच्चामा डाउन सिन्ड्रम छ कि छैन शतप्रितशत थाहा पाउन सकिन्छ,’ उनले भनिन्।
उनका अनुसार डाउन सिन्ड्रोमको उपचार छैन। समस्या पत्ता लागिसकेपछि गर्भपतन नै उत्तम उपाय हो।
कोसी अञ्चल अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञेषज्ञ संगीता मिश्र भन्छिन्, ‘यस्तो बच्चा बिरामी भइरहने र उपचारमा ठूलो धनराशी खर्च हुन्छ। त्यसैले हामी गर्भपतन गर्न सल्लाह दिन्छौं।’
तर, यो महिलाको इच्छाअनुसार भर पर्ने मिश्र बताउँछिन्।
नेपालमा १८ सातासम्म गर्भपतन गर्न सकिने कानुनी प्रावधान छ। आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्था आए महिलाले अधिकारप्राप्त निकायको सिफारिस लिएर गर्भपतन गराउन सक्छन्।
‘डाउन सिन्ड्रोम’ भएको थाहा पाएपछि पूर्वसांसद साहले अस्पतालमै छोडिन् आफ्नो बच्चा