ठूल्ठूला चम्किला आँखा। उचालिएका बाक्ला आँखीभौं। निधारमा अलिकति धर्सा।
अनुहारको देखिने भाग यत्ति हो, बाँकी सप्कोले ढाकिएको छ।
यिनी हुन् कीर्तिलक्ष्मी, जसको आकृति ढुंगामा कुँदेर सम्झना सजीव बनाउँदैछ कीर्तिपुर।
को हुन् कीर्तिलक्ष्मी? कीर्तिपुरसँग उनको सम्बन्ध के हो?
कीर्तिलक्ष्मीको कथा पृथ्वीनारायण शाहको नेपाल एकीकरण र कीर्तिपुर विजयसँग जोडिन्छ। उनी कीर्तिपुरकी यस्ती वीरंगना हुन्, जसले आफ्नो अनुहार ढाकेर पुरूष भेषमा गोर्खाली फौजसँग लडिन्। र, गोर्खालीलाई आच्छुआच्छु पारिन्।
पृथ्वीनारायणलाई कीर्तिपुर जित्न निकै गाह्रो भएको थियो। तेस्रो प्रयासमा मात्र उनी विजयी भएको इतिहास छ।
पहिलो आक्रमण बिक्रम सम्वत् १८१४ मा भयो। बाह्र सय गोर्खाली सैनिकको मुकाबिला कीर्तिपुरका तीन सय सैनिकले गरेका थिए। त्यसमा काठमाडौं, ललितपुर र भक्तपुर राज्यको सहयोगसमेत थियो। यो लडाइँमा गोर्खाका काजी कालु पाँडे मारिए।
त्यसको सात वर्षपछि १८२१ मा पृथ्वीनारायणका भाइ शूरप्रताप शाहको नेतृत्वमा कीर्तिपुरमाथि दोस्रो आक्रमण भयो। यसपालि कीर्तिपुरले कसैको साथ पाएन। तै हार खाएनन्। डटेर लडे। युद्धमा शूरप्रतापको आँखा फुट्यो। गोर्खाली फौज फर्किए।
तेस्रोचोटि नगरोन्मुख यो गाउँलाई चारैतिरबाट सैनिक घेरामा बाँधेर नाकाबन्दी गरियो। पाकेका धानबालीसमेत लैजान दिइएन। यसरी जनतालाई हाबुकाबु पारेर आत्मसमर्पण गर्न बाध्य पारियो भन्ने इतिहास छ।
थोरै जनसंख्या भएको कीर्तिपुरमा गोर्खाली सेनासँग लड्न पर्याप्त सिपाही थिएनन्। पुरूषहरूले मात्र सैन्यबल नपुगेपछि महिलाहरूले भेष बदलेर युद्ध लडेको स्थानीय भनाइ छ।
तिनैमध्यै अग्रपंक्तिमा उभिएकी थिइन्, कीर्तिलक्ष्मी।
उनी आफ्नो सप्कोले नाकमुख ढाकेर आँखा मात्र देखिने गरी लडाइँको मैदानमा ओर्लिइन्। र, अरू महिलालाई पनि प्रेरित गरिन्।
यिनै वीरंगनाको सम्झनामा पद्मकाष्ठपुरी भनिँदै आएको ठाउँको नाम कीर्तिपुर रहन गएको भनाइ छ।
धेरैको विस्मृतिमा गइसकेको कीर्तिलक्ष्मीको त्यही कीर्ति ताजा पार्न खोजिँदैछ, मूर्तिका रूपमा।
कलाकार राजु ठिटाकोटीले ठूलो ढुंगामा कुँदेको कीर्तिलक्ष्मीको आकृति त्यही स्वरूपमा छ, जुन रूपमा उनी गोर्खाली फौजसँग लडेकी थिइन्। कीर्तिपुर नगरपालिकाले वडा नम्बर १ र १० को सिमानामा पर्ने पातलो-भिरालो वनमा निर्माण गरिरहेको 'युद्ध पार्क' मा कीर्तिलक्ष्मीको ढुंगेमूर्ति सजिनेछ।
वडा नम्बर १ का अध्यक्ष हर्ष महर्जन कीर्तिपुर र गोर्खाबीच भएको युद्धको इतिहास झल्काउने उद्देश्यले पार्क निर्माण गरिएको बताउँछन्। उनका अनुसार जहाँ पार्क बन्दैछ, त्यही ठाउँमा कीर्तिपुरको गढ थियो।
'हामीले ठ्याक्कै कीर्तिपुरको गढ भएकै ठाउँ पारेर कीर्तिलक्ष्मीको मूर्ति राख्ने निर्णय गरेका हौं,' उनले भने।
यो पार्कमा कीर्तिपुरे योद्धाका मात्र मूर्ति बन्ने छैनन्। गोर्खाली फौजबाट लडेका कालु पाँडे र शूरप्रताप शाहका मूर्ति पनि ठडिनेछन्। पार्कको मुखैमा कालु पाँडेको सम्झना स्तम्भ बनाइनेछ। इतिहासकारहरूले यही ठाउँमा कालु पाँडेले वीरगति पाएको अनुमान गरेका छन्।
त्यस्तै, पार्कको बीचतिर शूरप्रताप शाह रहनेछन्। उनको आँखा फुटेको ठाउँ यही आसपास रहेको लख काटिन्छ।
लडाइँको जित-हार देखाउनु पार्कको उद्देश्य नभएकाले सकेसम्म दुवै पक्ष समेट्न खोजेको वडाध्यक्ष हर्षले जानकारी दिए। 'इतिहासकारहरूले लामो अध्ययन गरी यी ठाउँ पहिचान गरेका हुन्,' उनले भने।
नाम 'युद्ध पार्क' रहे पनि यहाँ सिपाहीका शालिक मात्र रहने छैनन्। केही यस्ता शालिक पनि रहनेछन्, जसको हातमा तरबार होइन, कलम छ। मूर्तिकार केडी याख्याका भनाइमा ती 'अहिंसावादी सिपाही' हुन्, शान्तिका सन्देशवाहक।
‘न कसैलाई मार्न सक्छु, न आफू मर्न नै सक्छु,’ केडीले यी कलमधारी सिपाहीको मूर्तिमा लेखेका छन्।
'युद्ध पार्क' मा खोकनाका चन्द्रश्याम डंगोलले सेतो ढुंगामा भैरव कुँदेका छन्। यो तिनै बाघभैरवको मुखाकृति हो, जसको मन्दिर कीर्तिपुर डाँडामा छ।
बाघभैरवजस्तै कीर्तिपुरको उमामहेश्वर मन्दिर पनि चर्चित छ। यो कीर्तिपुरको सबभन्दा अग्लो ठाउँमा छ। चन्द्रश्यामले बाघभैरवको मुखाकृति सँगसँगै उमामहेश्वर मन्दिरको विशेषता पनि झल्काउने प्रयास गरेका छन्।
'कीर्तिपुर भन्नेबित्तिकै बाघभैरव र उमामहेश्वर मन्दिरको सम्झना आउँछ। उनीहरू यहाँका रक्षक देवता मानिन्छन्,' २५ वर्षदेखि मूर्तिकलाको काम गर्दै आएका चन्द्रश्यामले भने, 'त्यसैले मैले अगाडि भैरवको अनुहार र पछाडि उमामहेश्वरको त्रिशूल बनाएको छु। अनि सेतो ढुंगा आफैंमा शान्तिको प्रतीक भइहाल्यो।'
'यो त युद्धसँग सम्बन्धित भएन नि?'
हाम्रो यस्तो प्रश्नमा उनले भने, 'यहाँ भएका हरेक मूर्ति युद्धसँगै सम्बन्धित हुनुपर्ने बाध्यता छैन। कलाकारले आफ्नो रचना राख्न पाउँछन्।'
वडा नम्बर १० का अध्यक्ष अमन महर्जनका अनुसार तत्कालीन युद्धसँगै कीर्तिपुरको मौलिक संस्कृति, कला र विशेषता झल्काउनु पनि पार्कको उद्देश्य हो। मूर्तिकारहरूले त्यसैअनुरूप आफ्नो सिर्जना उभ्याइरहेको उनको भनाइ छ।
कीर्तिपुर मुख्य चोकबाट नयाँबजारतिर नगई दाहिने लागेपछि यो पार्क सुरू हुन्छ। मूर्तिकारहरूले चैत १४ बाट यहाँ काम थालेका हुन्। 'कीर्ति कार्यशाला' का रूपमा सुरू यो अभियान यही २८ गते सकिनेछ। नसकिएका काम जारी रहने वडाध्यक्ष अमनले जानकारी दिए।
करिब ५४ रोपनी जग्गामा फैलिने यो पार्कमा हाल १० रोपनीमा काम भइरहेको छ। बाँकी विस्तारै बनाउँदै लैजाने स्थानीय जनप्रतिनिधि बताउँछन्।
मूर्ति बनाउन तीन महिलासहित २७ जना मूर्तिकारको टोली खटिएको छ। प्रत्येकले कम्तिमा एक-एकवटा मूर्ति बनाउनेछन्। कसैले चाहेमा दुइटा पनि बनाउन सक्छन्। सबै गरेर ३० वटा मूर्ति तयार हुने अनुमान छ।
दुइटा मूर्ति बनाउने कलाकार हुन्, चन्द्रमणि मगर। ललितकलाका विद्यार्थी उनी त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछन्। उनले यहाँ दुइटा आकृति बनाएका छन्। एउटा बूढा बाको, अर्की बूढी आमाको। यी दुईले देशभरका धेरै आमाबुबाको झझल्को दिने उनी बताउँछन्।
'खासमा यी अलि दुःखी आकृति हुन्,' चन्द्रमणिले आफ्नो कलाको अर्थ बुझाउँदै भने, 'नेपालमा धेरै छोराछोरी विदेसिएका छन्। धेरै वृद्ध आमाबुबा एक्लै परेका छन्। यो आफ्ना छोराछोरी पर्खिरहेका तिनै आमाबुबाको दु:खी अनुहार हो।'
यहाँ काम गरिरहेका अधिकांश कलाकारले हेटौंडा, इटहरी र चितवनका यस्तै पार्कमा आफ्ना कृति छाडेर आइसकेका छन्। उनीहरूलाई कीर्तिपुर नगरपालिकाले खाने-बस्ने सुविधासहित निम्त्याएको हो।
नगरपालिकाले उनीहरूलाई पार्कको 'थिम' बुझाउन दुई घन्टा कीर्तिपुर कथा सुनाएको थियो।
'हामीले उहाँहरूलाई युद्ध सम्झनाको थिम बताएका थियौं,' वडाध्यक्ष अमनले भने, 'तर, उहाँहरूको सिर्जनालाई हामीले आफ्नो थिममा बाँध्न चाहेनौं। उहाँहरू आफ्नो कला पोख्न स्वतन्त्र हुनुहुन्छ।'
यसको उदाहरण चन्द्रमणिकै कृति हुन्।
नगरपालिकाले सुनाएको युद्ध 'थिम' मननपरेकाले बूढाबा र बूढीआमैको आकृति कुँदेको उनको भनाइ छ।
'मलाई युद्ध कुनै हिसाबले सम्झिनै मन लाग्दैन,' आफूले बनाएका आकृति सुम्सुम्याउँदै चन्द्रमणिले भने, 'चाहे ती पहिलेका हुन्, चाहे पछिका। त्यसैले यी एक्ला आमाबुबा बनाएँ।'
उनले बनाएका यी आकृतिले युद्धमा छोराछोरी गुमाएका आमाबुबाको झझल्को पनि दिन्छ। निकट विगतको इतिहास चिहाउने हो भने दसवर्षे माओवादी द्वन्द्वले यस्ता आमाबुबाको आकृति हरेक गाउँमा छाडेर आएको छ। यी दुई मूर्तिलाई त्यही रूपमा सम्झन पनि सकिने उनी बताउँछन्।
कला भनेको कल्पनाको नतिजा न हो। कल्पनालाई सीमांकन गर्न कहाँ सकिन्छ र!
अर्की कलाकार छिन्, इन्दिरा श्रेष्ठ जसले ढुंगामा आगोको लप्का कुँदेकी छन्। अर्का एक मूर्तिकारले पानीको थोपा आकारमा बुट्टा भरेका छन्।
त्यस्तै, कुनै ढुंगामा गणेश कुँदिएका छन् त कुनैमा लाखे र भैरवका मुखाकृति। कहीँ लडेका सिपाही छन्, कहीँ सामान्य मान्छेका अनुहार।
कलाकारले कल्पनामा डुबेर आकृति दिएका यी ढुंगाहरू खोकना, चाल्नाखेलको हात्तीवनदेखि ल्याइएका हुन्। केही भने यहीँ पनि फेला परे।
कुन कलाकारलाई कुन ढुंगा जिम्मा लगाउने भन्ने निर्णय गोलाप्रथाबाट गरिएको थियो। उनीहरूले जस्ता ढुंगा पाए, त्यहीअनुसार आकृति भरे।
'मेरो भागमा लाम्चो ढुंगा थियो। मैले यही बनाएँ,' लगभग बनिसकेको मूर्तिमा पानी खन्याउँदै मूर्तिकार भीम श्रेष्ठले भने।
उनको कलामा दुइटा आकृति देखिन्छ- आलिंगनबद्ध महिला र पुरूष।
'यी को हुन्?'
सर्जक भीमले यी आकृतिको कुनै पहिचान नभएको बताए।
'महिला र पुरूषको यो आकृति कसको हो भनेर निर्क्यौल गर्ने काम हेर्ने आँखाको हो,' उनले भने, 'यो मायाको प्रतीक हो। यहाँ दुईबीच प्रेम झल्किएको छ। मेरो सिर्जना यत्ति हो। यो प्रेम को-को बीचमा हो भन्ने चाहिँ हेर्नेले जे देख्छ त्यही हो।'
'श्रीमान-श्रीमती वा प्रेमी-प्रमिका हुनसक्छन्, आमाछोरा वा बाबुछोरी हुनसक्छन्, दाजुबहिनी वा दिदीभाइ। अनुभूति जे गरिन्छ, यी आकृति त्यही,' उनले भने।
सबभन्दा ठूलो कुरा, युद्धपार्कमा आलिंगनबद्ध महिला-पुरूषको आकृतिले लडाइँको विभीषिकाबीच प्रेम अंकुराइरहेको सन्देश दिन्छ।
पार्क निर्माणमा डेढ करोड रूपैयाँ खर्च हुने अनुमान छ। यसमध्ये काठमाडौं महानगरपालिकाले कीर्तिपुरको वडा नम्बर १, २ र १० मा पर्ने गरी पार्क निर्माण गर्न एक करोड रुपैयाँ सहयोग गरेको छ। कीर्तिपुर नगरपालिकाले तत्काल २५ लाख र आवश्यक परे १० प्रतिशत बढाउन सक्ने गरी बजेट छुट्याएको छ।
कीर्तिपुरको युद्ध, कला र संस्कृतिसँगै पार्कमा नगरको सुरक्षा निम्ति बनाइएको गढको पनि प्रतिकात्मक आकृति हुनेछ। पार्कको फेदमा कीर्तिपुरको पुरानो गढको नमूना बनाइने वडा नम्बर १० का अध्यक्ष अमनले जानकारी दिए।
उनका अनुसार भिरालो भागको फेदमा सडकसँगै जोडेर पेटी बनाइनेछ। पेटीमा मान्छे बस्न मिल्ने सत्तल हुनेछ। काठमाडौंमा फुर्सदको समय काट्न खुला सार्वजनिक स्थानको अभाव रहेका बेला यो पार्कले थोरै भए पनि भरथेग गर्ने उनले बताए।
'यो पार्कका माध्यमबाट हामी समग्र कीर्तिपुरको एउटा छोटो परिचय दिन चाहन्छौं,' वडाध्यक्ष अमनले भने, 'सबै इतिहास समेट्न त सकिँदैन, तर यहाँका मूर्ति हेरेर कीर्तिपुरका केही विशेषता ठम्याउन सकियोस् भन्ने हाम्रो उद्देश्य हो।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी