‘रथस दोङा बिज्याक पिथ या दथिसं, यवसिङ थाङा थल जुत पिरतिसं
लख मोल ल्हुल चुपिंगालया खुसिसं, लिथे त ख त ल्वात गालया हितिसं
बसंत म्हेतले भईरव जगदिसं, ल्हाकम्हया गति मदु छि छम्हा वाहिकं’
यो भक्तपुरको सबभन्दा ठूलो जात्रा बिस्काःको एउटा गीत हो। बुधबार जात्रा सुरु हुने क्रममा ‘पुरानो दाफा खलः’ का बाहरू यही गीत गाउँदै थिए।
खलःका नाइके रामप्रसाद भेलेका अनुसार गीतले जात्रामा रथ कहाँ–कहाँ पुग्छ भन्ने कथा भन्छ। यो गीतझैं बिस्काःका टुक्रा–टुक्रा कथा अन्य गीतमा पनि छन्।
यो समय भक्तपुरमा बिस्काःकै गीत मात्रै गाइन्न। एक मल्लकालीन गीतमा राजा पृथ्वीनारायण शाहले रणजित मल्लको समयमा भक्तपुर आक्रमण गर्दाको प्रसंग वर्णन गरिएको छ। यसबाहेक ऋतुअनुसारका गीत पनि गाइन्छ। कुनैमा भैरवनाथ र बिस्काःका कथा जोडिन्छन्।
‘हामी ऋतुअनुसारका गीत गाउँछौं। गीतको लय ऋतुअनुसार फरक हुन्छ,’ खल: नाइके भेलेले भने, ‘बिस्काःको समयमा गाइने गीतलाई हामी नेवाः भाषामा घाटु भन्छौं। फागु शुक्ल पूर्णिमा सकिएदेखि नै भक्तपुरका दाफामा यस्तै गीत गुञ्जन्छन्। बिस्काःपछि गीत फेरिन्छन्।’
टौमडीमा भैरवनाथको रथ यात्रा सुरु भएसँगै ‘बिस्का’ जात्रा प्रारम्भ हुन्छ। यसपटक भैरवनाथको रथ तानेर पूर्वमा बुलुबुलु हिटी, सुकुलढोकासम्म र पश्चिममा नासमनासम्म लग्ने सीमा निर्धारण गरिएको छ।
आठ रात नौ दिनसम्म चल्ने यो जात्रामा वर्षको अन्तिम दिन बेलुकी ल्योसिङखेलमा यःसिं (लिंगो) उठाइन्छ भने वैशाख १ गते ढालिन्छ। वैशाख ५ गते आ–आफ्नो मन्दिरमा भैरव र भद्रकाली पुगेपछि जात्रा सकिन्छ। यसबीच भक्तपुरमा रहेका अष्टमातृका, भैरव र गणेश मन्दिर रहेका स्थानमा छुट्टाछुटै जात्रा हुन्छन्।
संस्कृतिविद् ओम धौभडेलका अनुसार बिस्काः जात्रा लिच्छवीकालीन हो। यो जात्रा किराँतीलाई पराजित गरेपछि लिच्छवीहरूले मनाएको मानिन्छ। पछि मल्ल राजाहरु विश्व, जगज्योर्ति, रणजित लगायतले यो जात्रा विकसित गर्दै अहिलेको स्वरूपमा ल्याएको धौभडेल बताउँछन्।
जात्रामा तीनतले भैरवको रथसँगै ‘होट्से–हैसे’ गर्दै तानातान गरिरहेको दृश्य सधैंझैं केन्द्रविन्दुमा रहन्छ। भैरवकै बहान मानिने बेताल पनि यो वर्षको मुख्य आकर्षण हो। यसलाई करिब ३० वर्षपछि दाता नारायणप्रसाद खाइजुले निर्माण गरेका हुन्।
‘पुरानो बेताल इनाचोको घरमा ठोक्किएर बिग्रिएको थियो। पूजा गर्ने क्रममा निधारमा प्वाल परेको थियो,’ खाइजुले भने, ‘भैरवका नाइकेहरूले मलाई बनाउने जिम्मा दिएपछि भगवानका लागि काम गर्न पाएँ।’
बेताल भैरवको अगाडि बस्छन्। नयाँ बेताललाई यही चैत २३ गते प्राण–प्रतिस्थापन गरिएको थियो। संस्कृतिविद् धौभडेलका अनुसार भैरवका बहान मानिने बेताल मानन्धर समुदायका साना बालक हुन्। त्यसैले सानो बालककै स्वरुपमा निर्माण गरिन्छ। बेताललाई बोक्ने पनि मानन्धर समुदायकै हुन्छन्।
किम्बदन्तीअनुसार पाचँतले मन्दिर नजिकै रहेको पुः बहाः (पुजारीको बहाल) मा बेतालले उपद्रो गरेर दुःख दिन्थ्यो। ढोकाबाट नपसेर झ्यालबाट पस्थ्यो। पकाइरहेको भात पल्टाइदिन्थ्यो। कहिले सुतिरहेको मानिसको गालामा हान्थ्यो। तै भैरवको पक्षमा भने राम्रो काम गर्थ्यो।
‘भैरवको रथ पूरै चुकुलले बनेको हुन्छ। एकपटक एउटा चुकुल हराएर सिकर्मीलाई आपत परेछ,’ धौभडेलले भने, ‘पछि त्यो चुकुल एउटा केटाले खोजेर ल्याएछ। बुझ्दै जाँदा त्यो केटा बेताल रहेछ।’
धौभडेलका अनुसार पाचँतले मन्दिरको गजुरसमेत बेतालले हालेको थियो।
त्यस्तै, एकपटक काठमाडौंका राजा प्रताप मल्ल र ललितपुरका श्रीनिवास मल्लले भक्तपुरमा जात्रा गर्न नदिने भनेर आक्रमण गरे। जात्रै नहुने छाँट देखेपछि स्थानीय दुःखी भए। त्यो बेला बेतालले एउटै औंलाले रथ तानेर जात्रा सम्पन्न गरेको कहावत छ।
‘बिस्काःभरि बाटामा उट्पट्याङ गर्ने बच्चा देख्यो भने मानिसहरूले उसलाई गाली गर्दैनन्। त्यो भगवान भैरवकै बहान बेताल हुन् भन्ने मान्यता छ,’ धौभडेलले भने।
नयाँ बेतालका दाता खाइजुका अनुसार बेताल तामाको पाता, अष्तधातु र ब्रह्म सीः काठले बनाइन्छ। बेताल बनाउन चाहिने ब्रह्म सीः काठ भक्तपुरकै भोटेबहालबाट ल्याइन्छ। यसपटकको बेताललाई क्षति हुन नदिन पहिलेभन्दा धेरै तहमा निर्माण गरिएको उनले बताए।
धौभडेलका अनुसार पुः बहाः मा बेताल चोक (बेतः चुकः) छ। बेतालले दुःख दिएपछि त्यो घर करिब १ सय ५० वर्षअघि लिलामीमा बेचिएको थियो। घर बेचे पनि चोक भने बेताललाई दिनुपर्छ भनेर छुट्याइयो।
त्यही चोकमा नयाँ बेताल निर्माण गरिनुपर्छ। यसपटक भने कारणवश खाइजुकै घरमा निर्माण गरिएको हो।
बेतः चुकः मा सिकर्मीले बोका काटेर पूजा गरेपछि मात्रै नयाँ बेताल बनाउन पाइन्छ। बेताल तयार भएपछि फेरि बोका काटेर पूजा गरिन्छ। अन्तिममा आँखा खोलेर प्राण-प्रतिस्थान गर्ने समयमा पनि बोका काटेर पूजा गर्ने परम्परा छ।
धौभडेलका अनुसार बिस्काः जात्रा रमाइलोभन्दा बढी राजनीतिक जात्रा हो। एउटा वंशको पतन र अर्कोको उदयका रूपमा यो जात्रालाई लिइने उनले जानकारी दिए।
‘भक्तपुर पहिले नेपालकै राजधानी थियो। यक्ष मल्लका माइला छोरा रत्न मल्लले पछि स्वतन्त्र राज्य बनायो। त्यसपछि इलाका छोटो हुँदै गयो,’ धौभडेलले भने, ‘भुवन मल्लले राज्य आफ्नो अधिनमा राख्न बिस्काः जात्रालाई अरू ठाउँमा पनि देखाउने क्रम जारी राखे। त्यसैले हामी साँखु, तौमडी, बोडे लगायत ठाउँमा पनि बिस्केट जात्रा मनाएको देख्छौं।'
'भुपतिन्द्रले योसँगै नवदुर्गा नाच पनि ठाउँ–ठाउँमा देखाउन थाले। त्यसैले यो राजनीतिक जात्रा पनि हो,’ उनले भने।
काठमाडौं, भक्तपुर र ललितपुरमा हामी भैरवका रथ देख्छौं। पहिले त्यस्ता रथ हुन्थेनन्, खट हुन्थे। धौभडेलका अनुसार सुरुसुरुमा रथहरू एकतले हुन्थे। मल्लराजा भुपतिन्द्रकै समयमा तीनतले रथ विकसित भयो।
‘बेलायतमा यस्तै रथमा प्रयोग हुने पांग्रा आविष्कारपछि औद्योगिक क्रान्ति भयो। हामीले भने हजारौं वर्षदेखि यी पांग्रालाई संस्कृति र जनजीवनसँग जोड्दै आएका छौं,’ उनले भने।
बिस्काःमा भैरवसँगै भद्रकालीको रथ पनि हुन्छ। भ्रदकाली र भैरवलाई श्रीमान–श्रीमतीका रूपमा लिइन्छ। एकपटक भैरव र भद्रकालीको झगडा पर्छ। भैरवले श्रीमतीलाई फकाएपछि गा:हिटीमा उनीहरूको समागम हुन्छ। त्यसैले बिस्काःमा दुई रथ जुधाएर देखाउने चलन छ।
यही खुसियालीमा फेरि ‘द्यः थाहा बिज्याकेगु’ भनेर दुवै देवता आ–आफ्नो मन्दिरमा जान्छन् र बिस्काः समापन हुन्छ।
बिस्काः शब्द ‘बि स्यात ख्यात’ भन्ने शब्दबाट आएको हो। यसको अर्थ हो, सर्प मारेर झुन्ड्यायो। धौभडेलका अनुसार बिस्काःको यःसिं (लिंगो) मा झुन्ड्याइने ध्वजा त्यसैको रूप हो।
सर्प मारिसकेपछि मनाइने जात्रा भएकाले भैरवको प्रतीक मानिने यःसिं ठ्ड्याउनुअघि टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरुप दुईवटा ध्वजा बाँधिन्छ र अष्टमातृकाका प्रतीक आठवटा डोरीले तानेर लिंगो उठाउने चलन छ।
‘बिस्काः मा रथ यात्रा, जिब्रो छेड्ने लगायत विभिन्न परम्परा हुन्छन्। खासमा भने लिंगो ठड्याउने र ढाल्ने मात्रै मूल परम्परा हो,’ धौभडेलले भने।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी