गुल्मीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा पूर्वसांसदसहित तीन जनाको मृत्यु भएको छ।
जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकाेट नगरपालिका-१ पाैदीअमराईमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, उपचारको क्रममा मालिका २ की २६ वर्षकी कौशिला थापाको निधन भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए।
जीप सडकबाट १ सय मिटरभन्दा तल खसेकाे थियो। अन्य ७ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरी जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।