घरमा थोत्रा जिन्स थुप्रिएका छन् भने तपाईं के गर्नुहुन्छ?
फाल्नुहुन्छ? वा, दराजमा कतै खाँदेर राख्नुहुन्छ?
राजधानीको चपलीस्थित 'भिक्टर ह्युगो मञ्जुश्री विद्यापीठ' ले तपाईंलाई विकल्प दिन्छ।
पुराना जिन्स संकलन गरेर यो स्कुलले विद्यार्थीका लागि किताब बोक्ने झोला बनाउँदै आएको छ, जुन कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई उपलब्ध गराइन्छ।
तपाईंले पनि स्कुलको यो कोशिसमा हात बढाउनुभयो भने थोत्रा जिन्सको बदलामा गरिब विद्यार्थीलाई पढ्न-लेख्न मद्दत पुर्याउनु हुनेछ।
स्कुल व्यवस्थापक सरस्वती (सरू) खकुरेलका अनुसार जिन्स धेरै वर्ष टिक्ने बलियो कपडा हो। पुरानो भयो भन्दैमा फाल्नुपर्दैन। त्यसबाट अरू थुप्रै चिज बनाउन सकिन्छ। झोला त्यसैमध्ये एक हो।
बजारमा पाइने कमसल झोलाले अभिभावकहरू आजित भएका बेला आफ्नो उत्पादन उपयोगी हुनसक्ने सरस्वती बताउँछिन्।
'पैसा हुनेलाई त महिनैपिच्छे किन्न समस्या भएन। नहुनेलाई कति गाह्रो हुँदो हो,' उनले भनिन्, 'अलि बलियो झोला भए त्यसमा खर्चिने पैसाले अर्थोकै किन्न सकिन्छ। केटाकेटीका अरू शैक्षिक आवश्यकता पूरा गर्न सकिन्छ।'
बजारमा पाइने सामान्य झोलाको तुलनामा जिन्सको झोला दुई वर्ष सहजै टिक्ने उनको दाबी छ।
सरस्वतीका अनुसार धेरैजसो पुराना जिन्स फोहोर संकलकहरूबाट जम्मा हुन्छ। उनीहरू एउटा जिन्स २० रूपैयाँमा किन्छन्। कोही कोही आफैं बोलाएर दिन्छन् पनि।
यसरी संकलन भएको जिन्स धोइपखाली सुकाइन्छ। काम लाग्ने भाग काटिन्छ। आइरन लगाइन्छ। र, नापअनुसार झोला सिलाइन्छ।
तीन-चारवटा गोजी भएका यी झोलाको तलपट्टि ट्युब हालिन्छ। यसले झोला टिकाउ बनाउँछ। फित्ता, बटन र अरू सामग्री भने बजारबाट किनेरै ल्याइन्छ। चेन नहालिने हुँदा झोला चाँडो काम नलाग्ने हुन पाउँदैन।
यहाँ प्राथमिक, निम्न-माध्यमिक र माध्यमिक तहका विद्यार्थीका लागि तीन आकारका झोला बन्ने उनले जानकारी दिइन्।
उनीहरूका निम्ति यो व्यवसायभन्दा अभियान बढी हो। पुराना सामानको पुनः प्रयोग र गरिब केटाकेटीलाई बलियो झोला उपलब्ध गराउने अभियान। यसले केटाकेटीमा पुराना सामान कसरी पुनः प्रयोग गर्न सकिन्छ भन्ने चेत विकास गर्ने उनी बताउँछिन्।
पुराना जिन्स संकलन गरेर झोला बनाउने सोच कसरी आयो त?
यसको सुरूआत स्कुलकै एक 'प्रोजेक्ट' का रूपमा भएको सरस्वती सुनाउँछिन्।
उनी र उनका श्रीमान प्रमोद खकुरेल लामो समय फ्रान्स बसेका हुन्। उनीहरूको अध्ययन उतै भयो। प्रमोद सन् २००५ र सरस्वती २००७ मा नेपाल फर्किइन्।
प्रमोद पहिल्यैदेखि सामाजिक काममा सक्रिय थिए। सरस्वती भने बैंकमा काम गर्न थालिन्। दुई वर्षपछि ललितपुरको एउटा स्कुलमा निर्देशक भइन्। कामको तौरतरिका नमिलेपछि त्यसबाट अलग्गिइन्।
सन् २०१० मा उनीहरूले चपलीमा एउटा सानो निजी स्कुल किने। प्रमोद त्यहाँ प्रिन्सिपल थिए भने सरस्वतीले प्रशासन र व्यवस्थापन सम्हालिन्।
उनीहरूले फ्रान्सेली लेखक भिक्टर ह्युगो र नेपाली ऐतिहासिक पात्र मञ्जुश्रीलाई जोडेर स्कुल नामाकरण गरे। फ्रान्सेली शिक्षा प्रणाली देखेर आएका सरस्वती-प्रमोदको जोडीले यो स्कुलमा त्यही प्रणाली पछ्याउने प्रयास गर्यो।
यसको सुरूआत स्कुलको भौतिक आवरणबाट भयो। उनीहरूले कक्षाकोठाका रङ फेरेर केटाकेटी रमाउने रंगीचंगी उज्यालो बनाए। चर्पी थपे। साना विद्यार्थीले समेत हात धुन मिल्ने धारा बनाए। खेल्ने ठाउँ बनाए र हिलाम्मे आँगनमा ब्लक छापे।
निजी स्कुल भए पनि अधिकांश कमजोर आर्थिक अवस्थाका विद्यार्थी पढ्ने सरस्वतीले बताइन्। उनका अनुसार धेरैजसो ज्याला-मजदुरी गर्ने र विदेसिएका आमाबाका सन्तान छन्। दुई सय हाराहारी विद्यार्थीमध्ये ८० प्रतिशत निःशुल्क पढ्छन्। बाँकी २० प्रतिशतसँग पनि न्यूनतम शुल्क मात्र लिइन्छ।
स्कुल सञ्चालन निम्ति फ्रान्सेली साथीभाइसँग सहयोग लिँदै आएको सरस्वतीले बताइन्।
'हामीले यसरी स्कुल चलाएका छौं भन्ने थाहा पाएपछि उताका साथी र विभिन्न संस्थाहरू सहयोग गर्न तयार भए,' उनले भनिन्, 'विदेशी साथीहरू स्वयंसेवा गर्न पनि आउन थाले। उनीहरू आफूसँगै नयाँ नयाँ आइडिया ल्याउँथे।'
यही क्रममा गत नोभेम्बरमा फ्रान्सका विभिन्न कलेजका तीन जना विद्यार्थी आएका थिए। उनीहरूले पुराना जिन्सका झोला बनाउने आइडिया ल्याए। चपली चोकबाट पुराना जिन्स र ट्यूब खोजखाज पारे। स्थानीय सिलाइ पसलमा दिएर त्यसबाट झोला बनाए।
पहिलो प्रयास सोचेजस्तो राम्रो भएन।
'त्यसमा हामीलाई चाहिने फिनिसिङ थिएन। सिलाइ पनि बलियो भएन। पछि यहीँ चिनेको एक जना दिदीले बनाइदिनुभयो। राम्रो भयो तर उहाँको मेसिन र एक्लै काम गर्दा एकदमै ढिला बन्ने भयो,' सरस्वतीले सुरूआती दिन सम्झिँदै भनिन्।
पछि उनीहरूले दाताकै सहयोगमा जिन्स सिलाउने मेसिन किने। डकर्मी काम गर्दै आएका सुन्दरलाई भेटे। उनीसँग सिलाइकटाइ सीप थियो। उनका सन्तान यही स्कुलमा पढ्छन्।
'अहिले झोला सिलाउने सुन्दर नै हुन्। पहिले एक जना दाइ पनि हुनुहुन्थ्यो, अहिले सुन्दरले नै सम्हाल्छन्। मैले त व्यवस्थापन हेर्ने मात्र हो,' सरस्वतीले भनिन्।
हामी पुग्दा सुन्दरले भर्खरै एउटा झोला सिलाएका थिए। उनले चल्तीको भन्दा बेग्लै डिजाइनको बनाएको सरस्वतीले सुनाइन्।
झोला सुन्दरले सिलाएजस्तै पुराना जिन्स ल्याउने काम साजन र अजयले गर्छन्। उनीहरू फोहोर संकलन केन्द्र जान्छन्। संकलकसँग 'डिल' गर्छन्।
फोहोरको डंगुरबाट छानेर ल्याएका जिन्स धोइपखाली, काटकुट पारेर सिलाइन्छ। एउटा ठूलो आकारको झोला बनाउन तीनवटासम्म जिन्स लाग्ने अजयले जानकारी दिए।
अजय र साजन दुवै यही स्कुलबाट एसइई पास गरेका विद्यार्थी हुन्। अहिले नजिकैको गणेश माविमा प्लस टु पढ्दैछन्। खाली समय स्कुलमा काम गर्छन्।
'हामी यहीँ पढेका हौं, यहीँ काम गर्न पाएका छौं। मेरो त आमा पनि यहीँ काम गर्नुहुन्छ। कति काम जानिसक्नुभयो,' अजयले भने, 'हामीले यहाँ झोला बनाउन मात्र होइन, पुराना सामान कसरी खेर जान नदिने भन्ने पनि सिकेका छौं।'
अनि यी झोला कसले बोक्छ त?
सरस्वतीका अनुसार यी झोला दाताको सहयोगमा विद्यार्थीसम्म पुग्छ। विदेशी दाताले उनीहरूसँग झोला किन्छन् र आवश्यक स्कुलमा उपलब्ध गराउँछन्। निःशुल्क दिन आफ्नो आर्थिक स्रोतले नभ्याउने सरस्वती बताउँछिन्।
'कहाँका बच्चालाई कति झोला चाहिएको छ भन्ने जानकारी पाएपछि हामी आफैं दाता खोज्छौं,' उनले भनिन्, 'उनीहरूले सहयोग गरिदिन्छन्। हामी सम्बन्धित ठाउँमा पुर्याइदिन्छौं।'
पछिल्लो तीन-चार महिनामा उनीहरूले धादिङ, बल्थली र दहचोकका स्कुलमा गरी ८० वटा झोला पठाइसकेका छन्। प्राथमिक तहका विद्यार्थीले बोक्ने सानो झोलाको मूल्य एक हजार र बाँकी दुई आकारको पन्ध्र सय रूपैयाँ पर्छ।
'धेरै मान्छेले पुराना जिन्सको झोला पनि किन यति महँगो भन्नुहुन्छ। यसमा लाग्ने अरू सामान र मिहिनेत हेर्दा सस्तो नै हो। फेरि यो बलियो पनि हुन्छ। बारम्बार किन्ने झमेला हुँदैन। यो कुरा बुझाउन हामीलाई गाह्रो परेको छ,' उनले भनिन्, 'पुरानो भन्दैमा हामी च्यातिएका र कामै नलाग्ने जिन्स प्रयोग गर्दैनौं। तयार भएको झोला झट्ट हेर्दा पुरानो नदेखिने गरी बनाउने प्रयास गर्छौं।'
फोहोरमा फ्याँकिएका सामान पुनः प्रयोग गर्न सके वातावरणमा पनि सकारात्मक परिवर्तन आउने सरस्वती बताउँछिन्।
भन्छिन्, 'विदेशीहरू बोराका झोला बोकेर हिँड्छन्। हामी भने पुराना सामानलाई नयाँ रूपमा प्रयोग गर्न हिच्किचाउँछौं। गाउँघरमा अझै पनि विद्यार्थीहरू झोला बोक्दैनन्। कापीकिताब हातमै च्यापेर हिँड्छन्। जीउलाई दुःख त छँदैछ, भुइँमा खसेर, पानीले भिजेर बिग्रिने डर हुन्छ। यस्तोमा हामीले बनाएजस्ता बलिया झोला दिन सकियो भने उनीहरूलाई धेरै राहत हुन्छ।'
भिक्टर ह्युगो मञ्जुश्री विद्यापीठले यी झोला प्रवर्द्धन गर्न 'नेपाल ब्याग्स अफ चेन्ज' नामको फेसबुक पेज बनाएको छ। यसमार्फत् आफूहरूसँग सम्पर्क गर्न सकिने सरस्वतीले बताइन्।
तपाईं पनि दिने हैन त आफूलाई काम नलागेका जिन्स?
सबै तस्बिर: चेतना गुरागाईं/सेतोपाटी