भक्तपुरको मध्यपुर थिमीमा एउटा ठाउँ छ– निगु पुखु। अर्थात्, दुइटा पोखरी।
करिब तीन सय वर्षअघि यहाँ दुईवटा पोखरी सँगसँगै निर्माण गरिएकाले यो ठाउँको नाउँ नै दुई पोखरी (निगु पुखु) रहन गएको हो।
ऐतिहासिक महत्व बोकेका यी दुई पोखरी करिब दुई दशकदेखि चउरमा परिणत भएका थिए, जसमध्ये एउटाको पुनर्निर्माण सुरु गरिएको छ।
निगु पुखु सुधार समितिका सल्लाहकार बुद्धिकृष्ण श्रेष्ठका अनुसार मध्यपुर नगरपालिकाको सहयोगमा करिब ५० लाख रूपैयाँ लागतमा पोखरी पुनर्निर्माण गरिएको हो।
एक सातादेखि नजिकैको नेपाल कोरियन हस्पिटलबाट मेसिन लगाएर पानी हालिएको उनले जानकारी दिए।
तीन महिनाअघि सुरु भएको यो पोखरी पुनर्निर्माण परम्परागत शैलीमै गरिएको छ। सुरुमा केही तह माटो खनेर फ्यालियो। त्यसपछि साँखुदेखि ल्याइएको करिब ४ सय खेप कालो माटो हालियो। त्यसमाथि पांगो (धुलो माटो) हालेर इँटाको सोलिङ गरेपछि पानी जम्मा गर्न थालिएको हो।
‘पोखरीमा पानी अडिएला कि नअडिएला हेर्न बाँकी छ,’ श्रेष्ठले भने, ‘पानीको तह कति घट्छ, कतै लिक भएको छ कि छैन हेर्दैछौं। मौसमका कारण सुके अर्कै कुरा, नत्र अर्को उपाय सोच्नुपर्छ।’
पुनर्निर्माण क्रममा पोखरी वरिपरि ढुंगाको पर्खाल लगाइएको छ भने छेउमा तेल इँटा बिच्छ्याइएका छन्। यो पोखरी करिब ७०/९० वर्गफिट छ। त्यसैको छेउमा रहेको अर्को पोखरी भने अझै सुख्खा चउर छ। १००/१२० वर्गफिटको दोस्रो पोखरी दोस्रो चरणमा पुनर्निर्माण गरिने श्रेष्ठले बताए।
दोस्रो पोखरीमा वरिपरि केही खुला ठाउँ पनि छन्। त्यहाँ आठवटा पाटी पनि निर्माण गरिने श्रेष्ठले बताए। दुवै पोखरी निर्माणका लागि नगरपालिकाले करिब १५ करोड बजेट छुट्याएको छ।
तीन सय वर्ष पुराना यी पोखरी लायकुकी गंगा महारानीको अनुरोधमा निर्माण भएको जनविश्वास छ। बस्ती बीचमा रहेको यो पोखरीको पानी सिँचाइ, आगलागी लगायत विभिन्न प्रयोजनमा प्रयोग हुन्थ्यो।
दुवै पोखरीको पानीको मुख्य स्रोत आकाशे पानी हो। आकाशे पानी खोल्सा हुँदै पोखरीमा जम्मा हुन्थे। बढ्दो आधुनिकीकरण र सिमेन्टका घर तथा बाटोहरू निर्माणपछि भने पानी सुक्दै गएको श्रेष्ठले बताए।
‘आकाशे पानी जम्मा नहुने भएपछि पोखरी चउरमा परिणत भएको हो,’ उनले भने।
यति मात्र होइन, २०१५ सालमा तत्कालीन राजा महेन्द्र भक्तपुर आउँदा दुवै पोखरीको पानी हटाएर मैदान बनाइएको स्थानीय सम्झन्छन्।
श्रेष्ठका अनुसार दुई पोखरीमध्ये निर्माण हुने क्रममा रहेको अर्को पोखरीलाई २०५१ सालतिर पुनर्निर्माण गर्न लागिएको थियो। त्यस क्रममा केही कुलोका परम्परागत पाइप फेला परेको उनले जानकारी दिए।
दुवै पोखरी करिब २ वर्षमा तयार भइसक्ने श्रेष्ठको अनुमान छ। पोखरीको पानी व्यवस्थापन गर्न कोरियन हस्पिटलबाहेक लायकु र दिगु टोलमा भिरालो बाटो बनाएर आकाशे पानीलाई पोखरीसम्म ल्याउने योजना छ।
नजिकै बाटोमा पनि कालोपत्रे नगरी ढुंगा छाप्ने तयारी भएको श्रेष्ठले जानकारी दिए।
‘निगु पुखु मध्यपुरको केन्द्रमै छ। यो पोखरी निर्माण हुनु भनेको मध्यपुरकै शोभा बढ्नु हो,’ उनले भने, ‘यसले ऐतिहासिक एवं सांस्कृतिक नगरी मध्यपुरलाई अझै सुन्दर बनाउनेमा विश्वस्त छौं।’