‘ग्रीन तिलोत्तमा, क्लीन तिलोत्तमा’ भन्ने नारासहित हरियाली र सरसफाई अभियान शुरू गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि गौतम बुद्ध मूर्ति स्थापना गर्न शुरू गरेको छ ।
प्रदेश ५ सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेसँगै तिलोत्तमा नगरपालिकाले त्यसको प्रचारप्रसार अभियानलाई सघाउ पुर्याउने उद्देश्यले ६ लेन सडकखण्डमा बुद्धमूर्ति राख्न शूरु गरेको हो ।
यस वर्षको बुद्ध पूर्णिमादेखि आगामी वर्षको बुद्ध पूर्णिमासम्मलाई प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ ।
जसअन्तर्गत नयाँ वर्ष २०७६ को पहिलो दिन आईतबार बेलहिया-बुटवल ६ लेन सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सीमा क्षेत्र योगिकुटीमा लिटिल बुद्ध मूर्ति स्थापना गरी अनावरण गरिएको छ।
बुद्धमूर्तिको अनावरण गर्दै प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले योगिकुटीमा निर्माण गरिएको बुद्धमूर्तीले तिलोत्तमाहुँदै बुटवल आउने जो कोही पर्यटकलाई पनि बुद्धभूमीमा प्रवेश गरेको अनुभूति दिलाउने बताए ।
मन्त्री गिरीले तिलोत्तमा नगरपालिकाले प्रदेश सरकारको लुम्विनी भ्रमण वर्ष मनाउने अभियानलाई सहयोग पुग्ने गरी तयारी गरेकोमा खुसी ब्यक्त गरे।
गिरीले गौतम बुद्ध मूर्ति पूजाको विरोधि भए पनि बुद्धको मूर्ती निर्माणलाई अन्यथा लिन नहुने उल्लेख गर्दै बुद्धको मूर्ति राखिएको स्थानले बुद्धको दर्शनको स्मरण र लुम्विनीको सन्देश प्रवाह गर्न सहयोग पुर्याउने बताए ।
उनले शान्ति र भाईचाराका लागि बुद्धले दिएका सन्देशलाई सबैले अनुसरण गर्नुपर्ने बताउँदै शान्ति र एकताबाट मुलुक समृद्धीको दिशामा अघि बढ्न सक्ने धारणा ब्यक्त गरे।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टि (नेकपा) तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले लुम्विनी नै नेपाललाई विश्वभर पहिचान दिनसक्ने स्थान भएकोले लुम्विनीको महत्वलाई भुल्न नहुने बताए।
नेपाली कांग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले तिलोत्तमा नगरपालिका विकास निर्माणको काममा अग्रपंक्तिमा रहेको भन्दै खुसी ब्यक्त गरे। उनले नगरपालिकाले सबै दल, बर्ग र समुदायलाई समेटेर अगाडि बढेका कारण सफल भएको भन्दै आगामी दिनमा निरन्तर सहकार्यको अपेक्षा रहेको बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षलाई सघाउन नयाँ वर्षको पहिलो दिनबाटै नगरपालिकाले प्रचार अभियान थालनी गरेको बताए।
उनले नगरपालिकाले यस वर्षको बुद्व पूर्णिमासम्म योगिकुटीदेखि मंगलापुरसम्मको करिब ७ किलोमिटरको दूरीमा २० वटा बुद्ध जिवनीसँग सम्बन्धित विभिन्न मूर्तिहरु निर्माण गरी राखिसक्ने जानकारी दिए।
६ लेन सडकको सबैभन्दा धेरै क्षेत्र ओगटेको तिलोत्तमा नगरपालिकाले सडकको मध्यभागको डिभाईडरमा दुई तीन सय मिटर दुरीको फरकमा बुद्धका विभिन्न उमेरका मूर्ति, मायाँदेवी, यशोधरा, राजा शुद्धोधन लगायतका बुद्धका मूर्तिहरु स्थापना गर्ने उनले बताए।
नगरपालिकाले यस वर्षको बजेटबाट मूर्तीहरु निर्माण गरी सडकको मध्यभागमा राख्ने कार्यका लागि ५० लाख रुपैया बिनियोजन गरेको जनाएको छ।
बेलहिया-बुटवल ब्यापारीक मार्ग अन्तरर्गत बुटवलतर्फ योगीकुटी र सिद्धार्थनगरतर्फ कोटिहवासम्म तिलोत्तमा नगरपालिका सीमा क्षेत्रमा पर्छ।
यो क्षेत्रमा गौतमबुद्धका मूर्तिसँगै बिचको भागमा बेगनबेली फूल रोपी ६ लेन सडकलाई हरियाली र रंगीचंगी फूल सहितको आकर्षक बनाउने योजना रहेको प्रमुख सुवेदीले बताए।
तिलोत्तमा नगरपालिकाले बेगनवेली फूललाई नगर फूलको रुपमा घोषणा गर्दै नगरपालिका भित्र निर्माण भएका प्रत्येक घरमा एउटा बेगनवेली फूल लगाउन अनिवार्य समेत गरिसकेको छ।
त्यस्तै नगरपालिकाले अबको तीन वर्ष भित्रमा नगरका सबै घरहरुमा एउटै रङ लगाउने गरी कलर कोड गरेको छ भने सबै सामुदायिक विद्यालयहरुमा एउटै रङ लगाउने निर्णयको कार्यान्वयन गत वर्षदेखि नै भईसकेको छ।