दुई साताअघि बारा र पर्सामा बबन्डर मच्चाएको विध्वंशकारी भूमरी ‘टोर्नाडो’ भएको विज्ञहरूको अध्ययनले देखाएको छ।
चैत १७ गते २८ जनाको ज्यान लिएको र सयौंलाई घाइते बनाएको उक्त भूमरीको स्वरूप अध्ययन गर्न पुगेको मौसमविद्को टोलीले स्याटेलाइटद्वारा खिचिएका तस्बिर, स्थानीय अनुभव र क्षतिको विवरणका आधारमा यस्तो निष्कर्ष निकालेको हो।
हुन्डरीको आकार, चौडाइ, वेग र तीव्रता विश्लेषणबाट यो टोर्नाडो नै भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा 'टोर्नाडो' रेकर्ड गरिएको यो पहिलोपटक हो।
अध्ययन टोलीमा विभागका अधिकारी, 'द स्मल अर्थ' नामको गैरसरकारी संस्था र इसिमोडका सदस्य तथा केही मौसमविद्हरू थिए।
'अहिलेसम्मको अध्ययनले उक्त भूमरी 'टोर्नाडो' नै भएको देखाएको छ,' अध्ययन टोलीमा संलग्न विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले सेतोपाटीसँग भने, 'बारा र पर्सामा भएको क्षति हेर्दा नै त्यो टोर्नाडो भएको अनुमान लगाउन सकिन्थ्यो। स्याटेलाइट तस्बिरबाट भूमरीको ट्रयाक र स्वरूप हेर्दा पनि त्यही देखियो।'
उक्त भूमरीमा परेर बारा र पर्साका दुई हजारभन्दा बढी घरमा क्षति पुगेको थियो, पाँच सयभन्दा बढी घाइते थिए।
केही समय आएको हुन्डरीले यति ठूलो क्षति पुर्याएपछि र घटनास्थलको तस्बिर हेर्दा पुराना रूख र ट्युबवेलसमेत उखेलिएको देखेपछि नै विज्ञहरूले यो 'साधारण हावाहुरी मात्र होइन' भन्ने लख काटेका थिए। त्यसपछि उनीहरू स्थलगत रूपमै हेर्न गए।
टोलीले स्थानीयसँग सोधपुछ गरेर हुन्डरीको प्रकृति र अनुभव सोध्नुका साथै त्यसले कहाँ-कहाँ प्रभाव पार्यो भन्ने विवरण निकाल्यो। क्षतिको यकिन विवरण हेर्न इसिमोडको सहयोगमा 'ड्रोन' उडाएर प्रभावित क्षेत्र निरीक्षण गरियो।
'यी सबै अध्ययनले टोर्नाडो नै भएको संकेत गर्दै थियो,' श्रेष्ठले भने, 'जब स्याटेलाइटबाट खिचिएका केही तस्बिर हेर्यौं, तब हामी आफ्नो अनुमानमा धेरै हदसम्म विश्वस्त भयौं।'
के थिए ती तस्बिरमा, जसले नेपालको पहिलो 'टोर्नाडो' पुष्टि गर्यो?
टोलीले आफ्नो अध्ययन क्रममा पृथ्वी फन्को मार्दै सूचना र तथ्यांक पठाउने युरोपियन स्याटेलाइट 'सेन्टिनेल' ले खिचेका तस्बिर हेरेको थियो। ती तस्बिर निःशुल्क पाइने भएकाले अध्ययन गर्न कठिन भएन।
संयोगले उक्त स्याटेलाइट भूमरी आउनुअघि र पछिको समय नेपाली आकाशमाथि नै रहेछ। त्यसले भूमरी आउनुअघि र पछि दुवै समयको तस्बिर रेकर्ड गरेको थियो। यस आधारमा मौसम वैज्ञानिकहरूले विपतअघि र पछि मध्य नेपाल क्षेत्रको आकाशमा विकसित बादलको गतिविधि र हावाको अवस्था तुलना गरेर हेरे।
'सुरूमा हामीले बारा र पर्साको आकाशमा मात्र केन्द्रित भएर अध्ययन गरेका थियौं। तस्बिरहरू हेर्दै जाँदा त्यो हावाहुरीले लामो क्षेत्र ओगट्दै आफ्नो बाटो बनाएको देखियो,' श्रेष्ठले भने, 'त्यो चितवन राष्ट्रिय निकुञ्जबाट सुरू भएर बारा र पर्सातिर अघि बढेको हामीले देख्यौं।'
टोर्नाडोले ल्याएको विनाश पनि चितवनबाट सुरू भएर बाराको अन्तिम विन्दुसम्म फैलिएको देखिन्छ।
यसले चितवन निकुञ्जका भित्री क्षेत्रमा रूखहरू ढाल्नुका साथै घाँस सोहोरिएको हुनसक्ने अनुमान छ। तत्काल त्यहाँ पुगेर हेर्न नसकेकाले यति नै विनाश भएको छ भनी यकिन गर्ने अवस्था नभएको उनले बताए।
तस्बिरमा देखिएको बाटोअनुसार यो टोर्नाडोले करिब ९० किलोमिटर यात्रा गरेको हुनसक्ने अनुमान छ। यसबारे थप अध्ययन गर्न अरू स्याटेलाइटले खिचेका तस्बिर हेर्नुपर्नेछ।
मौसम विभागले थप अध्ययन गरी प्रतिवेदन तयार पार्न एउटा समिति गठन गरेको छ, जसमा 'द स्मल अर्थ' र इसिमोडको पनि सहकार्य छ। यसले टोर्नाडो आएको समयमा चितवनदेखि बारासम्मको आकाशमा भएका गतिविधिका विस्तृत तस्बिर किनेर अध्ययन गर्ने श्रेष्ठले बताए।
उनका अनुसार संसारभर टोर्नाडो मापन गर्न प्रायः 'फुजिटा स्केल' भन्ने तालिका अध्ययन गरिन्छ। यो तालिकामा क्षतिको प्रकार र हावाको गति उल्लेख हुन्छ। क्षतिको प्रकार हेरेर हावाको वेग अनुमान गरिन्छ।
'हावाको वेग नाप्ने यन्त्र त हुन्छ, तर त्यत्रो हुन्डरीमा यन्त्र कसरी टिकोस्! हामीकहाँ फेरि त्यस्तो प्रविधि छैन,' उनले भने, 'प्रायः सबैतिर क्षतिको प्रकार हेर्छन् र हावाको गति अनुमान गर्छन्। टोर्नाडो हुन यति नै वेग हुनुपर्छ भन्ने संख्या छैन। कुन कति जोखिमपूर्ण भन्ने मात्र बुझाउने हो।'
उदाहरणका लागि, रूख ढल्न हावाको गति कति हुनुपर्छ? वा, भित्ता फुटाउन कति? वा, ढलान नै उक्काउन कति? तालिकामा यी सबै विवरण उल्लेख हुन्छन्।
जस्तै, ६४ देखि ११६ किलोमिटर प्रतिघन्टाको हुरीले रूखका हाँगा भाँच्न र बोर्डहरू उक्काउन सक्छ। ११७ देखि १८० किलोमिटर प्रतिघन्टाको हुरीले खर र जस्ताका छाना र टहरामा क्षति पुर्याउन सक्छ।
त्यस्तै, १८१ देखि २५३ सम्मकोले घरका भित्ता र ढलान भत्काउनुका साथै गाडी पल्टाउने र रूख जरैदेखि उखेल्न सक्छ।
संसारभर मान्य यो तालिकाका आधारमा बारा-पर्साको टोर्नाडो २०० किलोमिटर प्रतिघन्टाभन्दा बढी रफ्तारको भएको अनुमान छ।
'बारामा हामीले देख्दा रूखहरू उखेलिएका थिए। गाडी पल्टेका थिए। ढलान छाना र भित्ता भत्किएका थिए। बाँसहरू लडेका मात्र होइन, पूरै निमोठिएजस्ता देखिन्थे,' उनले भने, 'क्षतिको प्रकृति र स्वरूप अध्ययन गर्दा हुरीको वेग धेरै थियो भन्न सकिन्छ। त्यति धेरै वेगको हुरी टोर्नाडो नै हुन्छ।'
हुरीको स्वरूप पनि टोर्नाडोसँग मिल्दो छ।
टोर्नाडो सोली आकारको बादलको भुमरी हो। यसले गतिअनुसार बाटोमा पर्ने सबै वस्तु सोहोर्दै लैजान्छ। स्थानीयहरूले त्यो हुरीको स्वरूप यस्तै भएको बताएका थिए।
श्रेष्ठका अनुसार अहिले गठन हुने अध्ययन समितिले भारतसँग थप स्रोतसामग्रीका निम्ति सहयोग माग्ने योजना बनाएको छ। भारतीय सीमाक्षेत्रमा पर्ने भएकाले बारा-पर्साको हुरी कुनै भारतीय राडारले रेकर्ड गरेको हुनसक्ने अनुमान छ।
नेपालमा रेकर्ड गरिएको यो पहिलो टोर्नाडो भए पनि यहाँको हावापानीमा टोर्नाडो विकसित हुने प्रशस्त आधार रहेको मौसमविद्हरू बताउँछन्।
मौसम विभागका पूर्व महानिर्देशकसमेत रहेका श्रेष्ठका अनुसार संसारमा सबभन्दा बढी टोर्नाडो अमेरिकामा आउँछ। त्यहाँ वर्षमा एक हजारभन्दा बढी टोर्नाडो आउँछन्। दक्षिण एसियामा बंगलादेशमा सबभन्दा धेरै आउँछ। भारतका समुद्री तटमा पनि आइरहेका हुन्छन्।
'नेपालमा आउँदैन भन्ने आधार छैन,' उनले भने, 'विपतले ठाउँ तोक्दैन, अनुकूल वातावरण भए आउने हो।'
उनका अनुसार वायुमण्डल अस्थिर भएपछि टोर्नाडो बन्ने अवस्था सिर्जना हुन्छ। यस्तो अवस्था सामान्यतया तातो मौसममा हुन्छ।
चैत, वैशाखमा जमिन तातो हुन्छ। दिउँसो तातेको जमिनबाट तातो हावा आकाशमा जान्छ। आकाशमा पुगेर चिस्सिएपछि बादल बन्छ। बादल बनेपछि पानी पर्छ। त्यही बेला वायुमण्डल अस्थिर भए मेघ गर्जंदै बिजुली चम्किन्छ। यसले टोर्नाडो ल्याउने बादल बन्छ, जसलाई अंग्रेजीमा 'किमोलोनिम्बस' भनिन्छ।
यसरी बन्ने बादल सोली आकारको हुन्छ। जमिन छोयो भने त्यसले टोर्नाडो ल्याउँछ, नछोए 'फनेल क्लाउड' भनिन्छ।
'टोर्नाडो आउँदा बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ। जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ। बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन्,' उनले भने, 'बाराको हुन्डरी यही प्रकृतिको देखिएकाले हामीले टोर्नाडो भनेका हौं।'
के यस्ता टोर्नाडो पूर्वानुमान गर्न सकिन्छ?
'सकिन्छ, तर यसमा धेरै अध्ययन अनुसन्धान हुनुपर्छ। अत्याधुनिक उपकरणहरू राख्नुपर्छ। यसबारे अहिलेसम्म संस्थागत रूपमा कुनै अनुसन्धान भएको छैन,' श्रेष्ठले भने, 'सबै कुरा मिले हामीले केही हदसम्म अनुमान गर्न सक्छौं।'
यसपालिको अनुभवले टोर्नाडोमा केन्द्रित भएर अनुसन्धान अघि बढाउनुपर्ने आवश्यकता महशुस भएको उनले बताए।