राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण पूरा भएको छ।
निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थलको रनवे निर्माणका काम सकिएको छ भने विमानस्थलका ३५ प्रतिशत काम सकिएको छ।
अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भईरहेको विमानस्थलका बरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले बताए। ‘रनवेको काम सकिसेको छ,’ उनले सेतोपाटीसँग भने, ‘आवश्यकता परे जहाज ल्याण्ड गर्न सकिन्छ।’
उनले रनवे पिच नभई ढलान भएको बताए। अहिले सम्म महत्वपूर्ण ३५ प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेको बताए।
सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढि काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको पौडेलले बताए। अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा काम गरिरहेको पनि उनले जानकारी दिए।
पौडेलका अनुसार चैत महिनासम्ममा रन वे सम्पन्न भईसक्ने छ। अहिले रनवेको ७० प्रतिशत काम सकिएको र धेरै समय लाग्ने मुख्य काम सकिसकेकोले चैत महिना भित्र रनवेको सबै काम सकिने उनको भनाई छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सिमेण्ट, बालुवा प्रयोग गरि विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्नेछ । टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुनेछ । सन् २०२१ को जुलाईसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सकेर सञ्चालनमा ल्याउने गरि निर्माण तालिका बनाएर काम अघि बढेको उनको भनाई छ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ। विमानस्थल निर्माणका लागि सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।
झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ ।