सय वर्षभन्दा अगाडिको कुरा।
वैज्ञानिक अल्बर्ट आइन्सटाइनले आफ्नो कापीमा अनेकौं सूत्र लेखे। चित्रहरू कोरे। ती सबैलाई यताउता घुमाएर एउटा निष्कर्षमा पुगे।
उनको निष्कर्ष थियो- हाम्रो ब्रह्माण्डमा पृथ्वीजत्रै वा योभन्दा ठूलो यस्तो ठाउँ छ जसले सबै कुरा आफूतिर खिच्छ। प्रकाशलाई पनि आफूमै समाहित गर्छ। त्यसलाई हामी देख्न सक्दैनौं। त्यो भागभन्दा बाहिर घेरिएको प्रकाश मात्र देखिन्छ। यो त्यसको गुरूत्वाकर्षणले भएको हो।
आइन्सटाइनको यो भनाइ बल्ल आज आएर प्रमाणित भएको छ।
हामी कुरा गर्दैछौं 'ब्ल्याक होल' को। त्यही ब्ल्याक होल, जसको पहिलो तस्बिर केही दिनअघि हामीले देख्यौं। (हेर्नुहोस् माथिको तस्बिर)
अन्तरिक्ष वैज्ञानिकहरूले पहिलोपटक ब्ल्याक होलको तस्बिर लिन सफल भएका हुन्। पृथ्वीभन्दा ३० लाख गुना ठूलो र ४० अर्ब किलोमिटरमा फैलिएको यो ब्ल्याक होललाई वैज्ञानिकहरूले ‘मोन्स्टर (राक्षस)’ को संज्ञा दिएका छन्।
यो ठाउँलाई किन 'राक्षस' भनिन्छ?
अनि यो तस्बिरले वैज्ञानिकहरूलाई के सहयोग गर्छ?
हामीले यिनै प्रश्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा. सुरेशकुमार ढुंगेलसँग सोध्यौं। नास्टका प्रवक्तासमेत रहेका डुंगेल भौतिकशास्त्रका वैज्ञानिक हुन्।
सबभन्दा पहिले ब्ल्याक होल के हो भन्ने बुझौं।
'ब्ल्याक होल भनेको अन्तरिक्षमा रहेको यस्तो भाग हो जहाँबाट कुनै पनि चिज फुत्कन सक्दैन,' ढुंगेलले भने, 'यो जुनसुकै आकारको हुनसक्छ। पृथ्वीजत्रै वा त्योभन्दा सानो वा ठूलो। त्यो भाग देख्न सकिँदैन। प्रकाश बाहिर आउन नसक्ने भएकाले त्यसको रङ पनि थाहा हुँदैन। वरिपरि प्रकाशले घेरिएको र बीचमा कालो देखिने भएकाले ब्ल्याक होल भनिएको हो।'
आइन्सटाइनले कुनै पनि वस्तुको पिण्ड (तौल) ले त्यसको गुरूत्वाकर्षण शक्ति निर्धारण गर्छ भनेका थिए। अर्थात्, कुनै वस्तुले अर्को वस्तु आफूतिर खिच्ने शक्ति त्यसको तौलमा भर पर्छ। धेरै तौल भए गुरूत्वाकर्षण धेरै, थोरैको थोरै।
त्यस्तै कुनै ठूलो पिण्ड सानो ठाउँमा खुम्चेर बस्यो भने त्यसको गुरूत्वाकर्षण एकदमै धेरै र ठूलो हुन्छ भनेर आइन्सटाइनले भनेका थिए।
'ब्ल्याक होलमा यही लागू हुन्छ। यो सानो ठाउँमा खुम्चेर बसेको ठूलो पिण्ड हो, जसको आफूतिर अरू वस्तु तान्ने शक्ति एकदमै धेरै हुन्छ,' ढुंगेलले भने, 'त्यसैले ब्ल्याक होलबाट केही कुरा फुत्किन सक्दैन। प्रकाशसमेत त्यसमै घुलिने शक्ति हुन्छ। यही कारण यसलाई राक्षस भनिएको हो।'
सिद्धान्तत: कुनै पनि वस्तुलाई निचोरेर एकदमै सानो बनायो भने त्यो ब्ल्याक होल बन्छ। हाम्रो पृथ्वीलाई निचोरेर एउटा केराउको दानाजत्रो पारियो भने पृथ्वी पनि ब्ल्याक होल बन्न सक्छ।
ब्ल्याक होल ब्रह्माण्ड स्थापना हुँदा नै बनेका हुन्। साना–ठूला दुवै खाले। ठूला ब्ल्याक होललाई ‘सुपरम्यासिभ’ नाम दिइएको छ। यस्ता ब्ल्याक होलमा दस लाख सूर्य अटाउने क्षमता हुन्छ। साना ब्ल्याक होलमा पनि दुई दर्जन सूर्य सहजै अटाउँछन्।
'अहिले जुन ब्ल्याक होलको तस्बिर खिचियो त्यसको घनत्व सूर्यको भन्दा साढे ६ अर्ब गुना धेरै छ,' ढुंगेलले भने, 'यो ठूलोमध्येको ब्ल्याक होल हो।'
आइन्सटाइनको यो भनाइ अहिले प्रमाणित भए पनि यसलाई स्थापित गराउने काम बेलायती वैज्ञानिक अर्थर स्टान्ली एडिङटनले गरेको ढुंगेलले जानकारी दिए।
उनका अनुसार एडिङटनले सन् १९१९ मे २९ को पूर्ण सूर्यग्रहणका दिन अफ्रिकाको पश्चिमी तटस्थित प्रिन्सेप टापुबाट हेर्दा सूर्यबाट आएको प्रकाश बांगिएको देखेका थिए। प्रकाशको बाटो सिधा हो। तर कुनै एक ठाउँमा बांगिएपछि त्यहाँ ब्ल्याक होल छ भन्ने स्थापित भयो।
'धेरै गुरूत्वाकर्षणसहित अधिक पिण्ड भएको ठाउँमा मात्र प्रकाश त्यसरी बांगिन सक्थ्यो,' ढुंगेलले प्रस्ट्याउँदै भने, 'एडिङटनले त्यो देखेपछि आइन्सटाइनको सिद्धान्त स्थापित भएको थियो। अहिले तस्बिरले प्रमाणित गर्यो।'
ढुंगेलका अनुसार अहिले जारी भएको तस्बिरमा देखिएको ब्ल्याक होल साढे पाँच करोड प्रकाश वर्ष टाढा छ।
'यो तस्बिरमा देखिएका प्रकाश यति परको हो जुन हेरेर आज त्यो ब्ल्याक होल कुन अवस्थामा छ भन्ने संकेतसम्म मिल्दैन,' ढुंगेलले भने, 'खासमा त्यो प्रकाश पनि होइन। रेडियो टेलिस्कोपले खिचेको रेडियो वेभ्स हो जसलाई आँखाले देख्न सकिँदैन। एकदमै मसिनो किरण हो, जुन उपकरणले मात्र खिच्न सक्छ। त्यसैले यो तस्बिर ब्ल्याक होलकै तस्बिर होइन, त्यसको छाया हो।'
यो संसारका आठ ठाउँमा राखिएका 'इभेन्ट होराइजन (इएचटी)' नामको टेलिस्कोपले खिचेको तस्बिर हो। यी टेलिस्कोप अमेरिकाका दुई ठाउँ, चिलीमा दुई ठाउँ, स्पेन, मेक्सिको, र दक्षिणी ध्रुव (अन्टार्कटिका) मा राखिएका छन्।
'आठ टेलिस्कोपको सञ्जाल यसरी मिलाएर राखिएको छ, पृथ्वी नै एक टेलिस्कोप भन्नेजस्तो छ,' ढुंगेलले भने, 'धेरै उचाइमा, खुला आकाश भएको र मौसम खराब नहुने र आठैवटाले एकैपटक सिग्नल पक्रिने ठाउँमा मिलाइएको छ। यसरी टेलिस्कोपको सञ्जालले एकैपटक पाएका सिग्नल संकलन गरेर त्यो तस्बिर भेटिएको हो।'
ती टेलिस्कोपले खिचेका हजारौं तस्बिरलाई 'पजल गेम' मा टुक्रा मिलाएर आकृति बनाएजस्तै त्यो तस्बिर बनाइएको हो। यो काममा २० देशका ६० संस्थामार्फत् दुई सय जना वैज्ञानिक खटिएका थिए।
'ती टेलिस्कोपले रेकर्ड गरेको तथ्यांक यति धेरै थिए, तिनलाई मिलाएर हामीले देखेको तस्बिर बनाउनु निकै मुश्किल काम हो,' ढुंगेलले जानकारी दिए, 'यो काम सक्न वैज्ञानिकहरूलाई दुई वर्ष लाग्यो।'
वैज्ञानिकहरूले जारी गरेको तस्बिरमा ब्ल्याक होल एक 'डोनट' जस्तो देखिन्छ। बीचमा कालो र वरिपरि प्रकाशले घेरिएको छ।
'अब यही समूहले हाम्रै ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होल पनि खोज्दैछ। त्यसमा अहिले नै नतिजा आउने सम्भावना छैन भन्छन्,' ढुंगेलले भने, 'हाम्रो ग्यालेक्सीमा भेटिने ब्ल्याक होल अहिलेको देखिएको भन्दा एकदमै सानो हुन्छ।'
ब्ल्याक होलहरू ब्रह्माण्डमा छरपस्ट रहेको वैज्ञानिकहरूको विश्वास छ। ब्रह्माण्डमा यति धेरै ब्ल्याक होल छन्, तिनलाई गन्न असम्भव छ।
के महत्व छ यो तस्बिरको?
'विज्ञान दुई प्रयोजनको निम्ति हुन्छ। एउटा मान्छेको दैनिक जीवनसँग जोडिएको र उनीहरूको समस्या सल्टाउने प्रविधि। अर्को नवीनतम खोज। यो तस्बिरले दोस्रो प्रयोजन पूरा गर्छ,' उनले भने, 'जस्तै आकाशको अध्ययन। त्यो नगरेको भए स्याटेलाइट हुन्थेन। टिभी हुन्थेन।'
उनका अनुसार यसले ब्रह्रमाण्ड उत्पत्तिबारे थप कुरा बुझ्न मद्दत गर्छ। अहिले वैज्ञानिकहरू अर्को ग्रहमा पनि खोज गर्दैछन्। यी सबै अध्ययन निम्ति यो तस्बिर उपयोगी हुने उनले बताए।
'भोलि कुनै ठूलो पिण्ड आएर पृथ्वी ध्वस्त पारिदिने खतरा भयो भने हामी कुनै अन्य ग्रहमा गएर बस्न सक्छौं कि भन्ने खोजमा अहिलेको उपलब्धिले सघाउँछ,' उनले भने, 'हाम्रै ग्यालेक्सीमा ब्ल्याक होल छ कि भन्ने खोज्न मद्दत गर्छ। ब्ल्याक होलमा के तत्व छन् बुझ्न सहयोग गर्छ।'
अर्को, पृथ्वी आकारको टेलिस्कोपले अब अन्तरिक्ष मै पनि टेलिस्कोप सञ्जाल बनाएर अझै नजिकबाट फोटा खिच्ने बाटो कोरेको छ।
'मुख्य कुरा, गुरुत्वाकर्षणको उत्पत्ति के हो भन्ने सिद्धान्त स्थापित मात्र थियो,' उनले भने, 'अब प्रमाणित भयो, गुरूत्वाकर्षणको स्रोत पिण्ड नै हो। यसले नयाँ ज्ञानको ढोका खोलिदिएको छ। सय वर्षअघि आइन्सटाइनले भनेको कुरा पुष्टि भएको छ। उनी जिउँदै भएको भए नोबेल पुरस्कार पाउँथे।'