'बुद्ध वाज बर्न इन नेपाल' भनेर संसार थर्काउनेहरूले बुद्ध जन्मस्थल लुम्बिनीको हावापानी भने पटक्कै ख्याल गरेका छैनन्।
लुम्बिनीमा गरिएको पछिल्लो वैज्ञानिक अनुसन्धानबाट त्यहाँको हावामा मानव स्वास्थ्यलाई झेल्न मुश्किल पर्ने विषाक्त पदार्थहरू भेटिएका छन्।
काठमाडौंको धूलोधुँवाबारे दिनरात चर्चा हुन्छ, भलै समस्या सुल्झाउन चालचुल केही नहोस्। लुम्बिनीको बढ्दो प्रदूषणबारे भने साइँसुइँ सुनिन्न। वातावरण विभागले गरेको उक्त अनुसन्धानले भने लुम्बिनीको प्रदूषण काठमाडौंभन्दा डेढ गुना बढी देखाएको छ।
'हामीले आठ महिना लगाएर काठमाडौं र लुम्बिनीसहित देशका विभिन्न ठाउँको प्रदूषण अध्ययन र परीक्षण गरेका थियौं,' विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलले सेतोपाटीसँग भने, 'तीन-चार वर्षयता लुम्बिनीको प्रदूषण देशभरमै धेरै देखिएको छ।'
विश्वसम्पदा सूचीकृत लुम्बिनीको हावामा काठमाडौंभन्दा धूलोधुँवा कम देखिए पनि यहाँ आँखाले नदेखिने विषाक्त पदार्थको मात्रा काठमाडौंभन्दा बढी पाइएको विभागका सूचना अधिकारीसमेत रहेका पौडेलले जानकारी दिए।
विभागले वायु प्रदूषण जाँच्न काठमाडौं उपत्यकामा रत्नपार्क, पुल्चोक, शंखपार्क, भैंसेपाटी, वीरेन्द्र स्कुल (भक्तपुर), महाराजगन्ज र जमलमा स्टेसन बनाएको छ। त्यस्तै, धुलिखेल, सौराहा, पोखरा, झुम्का (सुनसरी), दाङ, सिमरा, नेपालगन्ज र लुम्बिनीमा पनि छन्। यी स्टेसनले हरेक घन्टाको प्रदूषण अवस्था देखाउँछन्।
यही स्टेसनबाट रेकर्ड गरिएको तथ्यांकमा लुम्बिनीको प्रदूषण भयावह हुँदै गएको पाइएपछि विभागले स्थलगत अध्ययन गरेको हो।
'शान्त र पवित्र क्षेत्र' भनिने लुम्बिनी प्रदूषणका हिसाबले 'भयावह' बन्दै जानुमा उक्त अध्ययनले तीन प्रमुख कारण औंल्याएको छ- यस क्षेत्रमा व्यापक रूपले खुलेका सिमेन्ट लगायत अन्य उद्योगहरू, घरघरमा बालिने दाउरा-गुइँठा र सवारीसाधनबाट निस्कने धुँवा।
लुम्बिनी क्षेत्र आसपास थुप्रै उद्योग छन्। भैरहवा–लुम्बिनी करिडोरमा मात्र १२ वटा सिमेन्ट उद्योग छन्। देशकै ४० प्रतिशत सिमेन्ट उत्पादन यही क्षेत्रमा हुन्छ। यसबाहेक कागज, छड, इँटा, स्टिल, खानेकुरा, छाला लगायत ५० भन्दा बढी साना-ठूला उद्योग सञ्चालनमा छन्।
लुम्बिनीको बढ्दो प्रदूषणमा यी उद्योगबाट निस्कने धूलोधुँवाको हिस्सा ४८ प्रतिशत देखिएको त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक रामप्रसाद रेग्मी बताउँछन्।
वातावरण विभागले भौतिकशास्त्र विभागअन्तर्गतको नेशनल एट्मोस्फेरिक रिसोर्स एन्ड इन्भाइरोमेन्टल रिसर्च ल्याबोरेटोरी (नारेल) को सहकार्यमा लुम्बिनीको वातावरणीय अध्ययन गरेको थियो। प्राध्यापक रेग्मीले उक्त अध्ययन टोलीको नेतृत्व गरेका थिए।
'लुम्बिनीमा कसरी प्रदूषण बढिरहेको छ भन्ने बुझ्न यहाँको समग्र क्षेत्रमा लामो अध्ययन गरेका थियौं,' रेग्मीले भने, 'यसमा मुख्य कारक उद्योग नै देखिए।'
उद्योगबाट निस्कने धूलोधुँवा के-कसरी वायुमण्डलमा फैलिरहेको छ, त्यो प्रदूषण कुन-कुन क्षेत्रमा गएर थुप्रिन्छ र कुन-कुन क्षेत्रका बासिन्दामा असर परिरहेको छ भन्ने परीक्षण गरेको उनले जानकारी दिए।
उनका अनुसार लुम्बिनी क्षेत्रको हावा विशेषगरी साँझ-बिहान धेरै प्रदूषित हुन्छ। त्यो धूलोधुँवा साँझदेखि बिहान अबेरसम्म लुम्बिनी, बुटवल, भैरहवा लगायत ठूलो क्षेत्रमा रुमल्लिएर बस्छ। राति तापक्रम कम हुनाले धूलोका कण फैलिन सक्दैनन्। प्रदूषित हावा छेउछाउका अग्ला पहाड उक्लेर छरिन नसक्ने हुँदा रातभरि धुम्म जमेर बसिरहन्छ।
दिउँसो तापक्रम बढ्दै गएपछि बल्ल उत्तर र पूर्वतिर फैलिएर जान्छ। यसरी फैलिने हावा तानसेन हुँदै गुल्मी, अर्घाखाँचीसम्मै पुग्छ। तर, त्यहाँ पुग्दासम्म हावामा विषाक्त पदार्थको मात्रा कम भइसक्छ।
यो प्रदूषणले मानव स्वास्थ्यदेखि अन्नबाली, तरकारी, फलफूल, माछामासु, जडीबुटी र वन पैदावारमा असर पारेको रेग्मी बताउँछन्। पर्यावरणका साथै पुरातात्विक सम्पदामा पनि असर देखिन थालेको छ। सम्पदाहरू खिइन र मक्किन थालेका छन्।
तीन-चार वर्षअघि युनेस्कोले गरेको अध्ययनमा लुम्बिनीको अशोक स्तम्भमा सिमेन्टका कण टाँसिएको फेला परेको थियो। त्यसले स्तम्भ सफाइ गर्दा हानी पुग्ने देखियो। लुम्बिनीलाई बुद्ध जन्मस्थल प्रमाणित गर्ने ऐतिहासिक तथा पुरातात्विक स्मारक अशोक स्तम्भ लगायत सबैजसो प्राचीन सम्पदामा प्रदूषणको असर बढ्दो छ।
'लुम्बिनी क्षेत्रमा जुन हिसाबले प्रदूषण बढेको छ, त्यसले भविष्यमा नराम्रो परिणाम ल्याउँछ,' रेग्मीले भने, 'बेलैमा ध्यान दिएर काम गर्न नसके पछुताउनु सिवाय केही उपाय रहन्न।'
रेग्मीको टोलीले विभिन्न ठाउँमा रहेका सिमेन्ट उद्योगबाट निस्कने प्रदूषणमा पनि अध्ययन गरेको थियो। त्यो धूलोधुँवाको मुस्लोले राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, कृषि उत्पादन, डाँडापाखा र आसपासका बस्तीमा असर पुर्याएको अध्ययनले देखाएको छ।
'हामीले उद्योगभित्रै गएर त्यहाँका उपकरण र स्थिति हेरेर त अध्ययन गर्न पाएनौं,' उनले अध्ययन विधि बुझाउँदै भने, 'तर तिनको क्षमता आकलन गरेर त्यहीअनुसार कृत्रिम प्रदूषण छाडेर हेर्यौं। नतिजा भयावह देखियो।'
कृत्रिम प्रदूषण छाडेर गरिने अध्ययन कम्प्युटर प्रविधिबाट गरिन्छ। जुन क्षेत्रको अध्ययन गरिने हो, त्यहाँ के-कस्ता रसायन उत्पादन भइरहेको छ भन्ने बुझेर कम्प्युटरमा रहेको नमूना नक्सामा तिनै किसिमका रसायन छाडिन्छ।
त्यो ठाउँको अवस्थिति, तापक्रम, हावाको अवस्था लगायत सबै भौगोलिक विशेषता मिलाइन्छ। सबै मिलेपछि छाडिएको रसायन कहाँ, कुन समय र दिशामा, कति मात्रामा कसरी फैलिन्छ भन्ने उक्त प्रविधिले देखाउँछ। यसखाले परीक्षण निम्ति संसारभर यस्तै विधि प्रयोग हुने प्राध्यापक रेग्मीले बताए।
लुम्बिनी क्षेत्र प्रदूषणको दोस्रो मुख्य कारण हो, घरायसी प्रयोजननिम्ति बालिने दाउरा, गुइँठा। प्रदूषणमा यसको हिस्सा ३८ प्रतिशत छ।
'त्यहाँ अहिले पनि अधिकांश घरमा दाउरा-गुइँठा बालिन्छ। ग्यास बाल्ने चलन बढे पनि गाईवस्तुको आहारा पकाउन दाउरा-गुइँठै प्रयोग हुन्छ,' उनले भने, 'फेरि त्यहाँ कम खर्चमै दाउरा-गुइँठा उपलब्ध हुँदा महँगो ग्यास वा बिजुलीमा गाईवस्तुको आहारा पकाउनेबारे मान्छेले सोच्दैन।'
लुम्बिनीमा सवारी साधनको संख्या र आउजाउ दिनकै बढ्दो छ। मालवाहक गाडीको ओहोरदोहोर उत्तिकै। मुख्यतया डिजेलबाट चल्ने ठूला ट्रक र लरीले धेरै धुँवा फ्याँक्छन्।
'औद्योगिक र भारतीय सीमावर्ती क्षेत्र भएकाले साना-ठूला सवारीको चहलपहलले पनि लुम्बिनीको प्रदूषण बढाएको छ,' रेग्मीले भने।
भारततिरबाट पनि धेरै प्रदूषण आउँछ नि हैन?
'आउँछ। तर हामीले अध्ययन गर्दा भारतबाट आउने प्रदूषणलाई शून्य राखेर गरेका हौं। अर्थात्, उताको प्रदूषण यहाँ जोडेका छैनौं,' रेग्मीले जानकारी दिँदै भने, 'हाम्रो अध्ययनले देखाएको सबै प्रदूषण हाम्रै हो। अवस्था जोखिम बनाउन यो नै काफी छ।'
वातावरण विभागको अध्ययनअनुसार यहाँ कात्तिकदेखि फागुनसम्म अधिक प्रदूषण हुन्छ। यो समय लुम्बिनी प्रदूषणको 'सिजन' मानिन्छ। अरू बेला पनि मापदण्डभन्दा बढी नै देखिएको छ।
सिजनमा लुम्बिनीको प्रदूषण 'पिएम' (पार्टिकुलेट म्याटर) २.५ मा नाप्दा झन्डै २०० हाराहारी पुगेको तथ्यांक छ। मापदण्डअनुसार ३५ देखि ४० हुनुपर्छ।
'पिएम' भनेको धूलोका मसिना कण हुन् जुन आँखाले देख्न सकिँदैन। जुन मात्रामा लुम्बिनीमा धूलोका कण बढेको छ, त्यो हाम्रो नाकमुख हुँदै फोक्सो र रक्तनलीसम्म पुग्न सक्ने अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनहरूले पुष्टि गरिसकेका छन्।
'लुम्बिनी प्रदूषणबाट आक्रान्त भइसकेको छ। यसको दीगो समाधान खोज्न नीतिमै सुधार हुनुपर्छ,' वातावरण विभागका पौडेलले भने, 'यसअघि केही उपाय र विकल्पसहित सुधार्दै लैजान सकिन्छ।'
लुम्बिनीका अधिकांश उद्योगले वातावरण प्रदूषण नियन्त्रण निर्देशिका मापदण्ड पूरा गरेका छैनन्। तिनलाई मापदण्डमा ल्याउनुपर्ने उनको सुझाव छ। ती उद्योगमा अनिवार्य रूपमा धूलोधुँवा नियन्त्रण गर्ने उपकरण राखिनुपर्ने उनी बताउँछन्।
'उद्योगबाट निस्कने धूलोधुँवा बाहिर जान नदिने र हानिकारक रसायन छान्ने प्रविधि हुन्छ,' उनले भने, 'त्यो प्रविधि हरेक उद्योगमा अनिवार्य गरिनुपर्छ।'
साना उद्योगले प्रविधि जडान खर्च गर्न नसक्ने भए 'जोनिङ' गरेर एकैठाउँ राख्ने र सबैका लागि एउटै उपकरण व्यवस्था गर्न सकिने उनले सुझाए।
प्राध्यापक तथा अनुसन्धाता रेग्मी उद्योग स्थापनाअघि नै अध्ययन गरिनुपर्ने बताउँछन्।
'उद्योग नै स्थापना नगर्ने भन्ने हुँदैन। तर त्यसबाट निस्कने प्रदूषण कहाँसम्म पुगेर कति असर गर्छ भन्ने अध्ययन र परीक्षण हुन जरूरी छ,' रेग्मीले भने, 'अलिकति सजग भए हाम्रो स्वास्थ्यमा जोखिम हुँदैन। उद्योग खोल्नुअघि नै त्यसको सबै पाटोबारे वैज्ञानिक अध्ययन र परीक्षण गर्ने नीति बसाल्नु जरूरी छ।'
घरायसी समस्यामा भने मुख्य रूपमा चेतनाकै खाँचो रहेको पौडेल बताउँछन्।
दाउरा र गुइँठाबाट आफ्नो स्वास्थ्यमा पर्ने असरबारे पनि धेरै सचेत छैनन्। उनीहरूलाई विस्तारै ग्यास र बिजुली प्रयोग गर्न सुझाउनुपर्ने उनको भनाइ छ।
'जो दाउरा-गुइँठा बाल्छन् उनीहरूलाई सबभन्दा पहिले त्यसको असरबारे बुझाउँदै जानुपर्छ,' उनले भने, 'ग्यास र बिजुली प्रयोग सस्तो बनाइनुपर्छ। हामीकहाँ बिजुली राम्रै उत्पादन हुँदैछ। यसलाई दीगो र सस्तो बनाउन सकियो भने आँखा पोलाउँदै धुँवामा बस्ने रहर कसैलाई हुँदैन।'
सवारी साधनबाटबाट हुने प्रदूषण कम गर्न धेरै बिजुली गाडी चलाउन सकिने उनको सुझाव छ। तत्काललाई सार्वजनिक सवारी मात्रै बिजुलीबाट चल्ने भए धेरै सहज हुने पौडेलको भनाइ छ।
लुम्बिनी संसारभरका बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल हो। घुम्न रूचाउनेका लागि शान्त र सुन्दर थलो। तर, 'बुद्ध वाज बर्न इन नेपाल' नारा लगाउँदैमा बुद्ध जन्मस्थल घुम्न कोही आउँदैनन्।
सास फेर्नै हावा नै दूषित भएपछि आउन चाहनेहरू पनि कसरी आऊन्?
त्यसैले, २५ सय वर्षअघि गौतम बुद्ध जन्मेका थिए भन्दै दंग परेर बस्ने कि लुम्बिनीको वातावरण सास फेर्न योग्य बनाउने?