रुपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा माध्यमिक विद्यालयको जग्गा स्थानीय एक व्यवसायीले कब्जा गरेका छन्।
गाउँपालिकाको वडा नं ७ मा रहेको उक्त विद्यालयको जग्गा स्थानीय राजुकुमार चौधरीले कब्जा गरी भवन निर्माण गरेका हुन्।
रामापुर लुम्बिनी सडक खण्डमा अभिषेक आयल सप्लायर्स सञ्चालन गर्दै आएका चौधरीले सडकसँगै जोडिएको विद्यालयको जग्गा कब्जा गरेर भवनसँगै पर्खाल लगाएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले विद्यालयको करिब डेढ कट्ठा जग्गा मिचेर संरचना निर्माण गरेको बताए।
अध्यक्ष केवटले विद्यालयको जग्गा मिचेको पाइएपछि पटक/पटक भत्काउन आग्रह गरे पनि चौधरीले अटेर गर्दै आएको बताए।
‘विद्यालयको जग्गा मिचेर भवन निर्माण गर्न थालेपछि भत्काउन पटक/पटक आग्रह गर्यौं, ईलाका प्रहरी कार्यालयमा समेत उजुरी दियौं तर चौधरीले अटेर गर्दै आएका छन्,’ अध्यक्ष केवटले भने ।
प्रहरी कार्यालयमा विद्यालयको जग्गामा निर्माण गरेको संरचना भत्काउने र अब निर्माण नगर्ने सहमति भए पनि भत्काउनुको सट्टा चौधरीले पुनः भवन निर्माण गर्न थालेपछि प्रहरीले निर्माण मजदूरलाई पक्राउ गरेको थियो ।
मजदूरलाई पक्राउ गरिएपछि चौधरीले संरचना भत्काउने सहमति गरे पनि अहिलेसम्म नभत्काएको अध्यक्ष केवटले बताए। उक्त स्थानमा विद्यालयको तिन विगाह जग्गा रहेको छ ।
घोलाको रूपमा रहेको उक्त जग्गा स्थानीयले ठेक्कामा लिई हिउँदयाममा खेती गर्दै आएका छन् भने वर्षायाममा माछापालन गर्दै आएका छन्।
सार्वजनिक क्षेत्र तथा सामुदायिक विद्यालयका जग्गाहरू स्थानीय संधियारबाटै मिचिँदै गएकोमा स्थानीय तहमा जनप्रतिनिधि आएसँगै खोजी गर्न थालिएको छ।
गाउँपालिका अध्यक्ष केवटले गाउँपालिकाका सबै वडामा सामुदायिक विद्यालय, मठमन्दिर, गुठी तथा सार्वजनिक जग्गाहरूको लगत संकलन गरी संरक्षण गर्न थालिएको बताए ।