ऐतिहासिक गोरखा दरबार पुनर्निर्माण सुरू भएको २ वर्षसम्म जगकै निर्माणमा बितेको छ। पुरातत्त्व विभागको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण दरबार पुनर्निर्माणको काममा ढिलाइ भएको हो।
पुनर्निर्माणका लागि २०७४ कात्तिक २९ मा पचली सिवाको जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। सोही वर्षको पुस २ गतेबाबाट काम सुरू गरेको कम्पनीले २०७६ मंसिरसम्ममा पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर बितेका २ वर्षको प्रगति हेर्दा लक्ष्य भेट्न मुश्किल पर्ने देखिएको छ।
हालसम्म दरबार पुनर्निर्माणको २० देखि ३० प्रतिशत प्रगति भएको पुरातत्त्व विभागका प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए।
दरबारको जगमा भ्वाङ परेकाले यसलाई मिलाउनै यतिका समय खर्च भएको कुँवरको दाबी छ।
बीचबीचमा निर्माण सामग्री र कामदारको अभावले समेत दरबारको प्रगति सोचेअनुसार नभएको उनको जिकिर छ।
शाहवंशीय राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मले राज्य गरेको समयको ऐतिहासिक दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माणका लागि ४ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो।
दरबार पुनर्निर्माणको क्रममा यसअघिका काष्ठकलाका सामग्री र इँट्टा पुनर्निर्माणका क्रममा प्रयोग गर्न सुरक्षित स्थानमा राखिएको बताए। तर केही बहुमूल्य र पुराना सरसामानहरू दरबारको भग्नावशेषसँगै यत्रतत्र छरिएका देखिन्छन्।
बाटोभरि निर्माण सामग्री राखिएकाले हिँड्ने ठाउँसमेत छैन।
समुन्द्र सतहदेखि ११३५ मिटरको उचाइमा रहेको गोरखा दरबारसँगै रहेको गोरखकाली मन्दिर भने सकुशल छ।
काठमाडौंको दसैं घरमा यहीबाट फूलपाती लैजाने परम्परा छ।
राम शाहको पालामा वि.सं १६८६ मा निर्माण भएको गोरखा दरबार २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो।
१९९० सालको भूकम्पमा समेत केही नभएको दरबार २०७२ सालको भूकम्पबाट चर्किएको थियो। दरबारलाई अहिले रडले घेरेर राखिएको छ।
हेर्नुहोस् तस्बिरमा